ad ad

कारोबार


पाँच सय रोपनीमा सामूहिक आलु खेती

पाँच सय रोपनीमा सामूहिक आलु खेती

नेपालखबर
फागुन ७, २०७६ बुधबार ८:५८,

स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन्। जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन्।

आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताए। आलुको पकेट क्षेत्र मानिएको जिमुहामा निर्माण भएको शीतभण्डारमा रहेको १३० टन आलुको बीउ र राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट २० टन गरी झण्डै १५० टन आलुको बीउ सामूहिकरुपमा लगाइएको सहकारीका अध्यक्ष कँडेलले बताए।

‘व्यक्तिगत रुपमा भन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको छ’, अध्यक्ष कँडेलले भने, ‘सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ।’ स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको सहकारीका अध्यक्ष कँडेलले बताए।

यहाँ विशेषगरी जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस ४२ लगायत आलु सामूहिक र व्यक्तिगतरुपमा लगाइएको अगुवा कृषक चन्द्रकान्त डुम्रेले बताए। सहकारीमार्फत सामूहिक आलुखेती गरेका यहाँका किसानले व्यक्तिगतरुपमा पनि छुट्टाछुट्टै ठूलो परिमाणमा आलुखेती गरेका अगुवा कृषक डुम्रेले बताए।

आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस ठाउँमा उत्पादन भएको आलु तथा बीउ आलु स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको अगुवा कृषक गीता कँडेलले बताइन्। ‘बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्नका लागि भैरहवास्थित शितभण्डारमा राख्ने गरेका थियौँ’, अगुवा कृषक गीता कँडेलले भनिन्, ‘गत वर्ष जिमुहामा शीतभण्डार निर्माण भएसँगै उत्पादित आलु तथा बीउ आलु यही सहुलियत दरमा राख्न सकिने भएकाले पनि सहजता भएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .