लक्ष्मी बैंकले सात प्रदेशका लागि उपयुक्त भिसा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रक्रियाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ।
यो प्रतियोगिताको मूल उद्देश्य भनेकै सातै प्रदेशका मौलिक कला, संस्कृति र विशेषता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी भएको बैंकले जनाएको छ। प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स समेत प्रदान गराउने लक्ष्य राखेको जनाएको छ।
डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उल्लङ्घन नभएको हुनुपर्नेछ। प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानुनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन्। कार्ड डिजाइन गर्दा प्रदेशको मौलिक कला, संस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्नेछ। कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलस्ट्रेसनमार्फत पे गर्न सकिने बैंकले जनाएको छ।
प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कारस्वरुप ५० हजार नगद प्राप्त गर्नेछन् भने ७ प्रदेशको लागि कुल नगद पुरस्कार ३ लाख ५० हजार प्रदान गरिनेछ। विजेताको घोषणा गर्ने अन्तिम निर्णय बैंकले गर्ने र डिजाइनको सर्वाधिकार बैंकमै रहनेछ।
प्राप्त डिजाइनहरु बैंकले आफ्नो अवश्यकताबमोजिम कुनै पनि बेला प्रयोग गर्नसक्नेछ।
प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिखसम्ममा बैकंको वेबसाइटमार्फत बुझाइसक्नुपर्नेछ ।
Shares
प्रतिक्रिया