कारोबार


१५ किसान संगठनले गरे आन्दोलन घोषणा

१५ किसान संगठनले गरे आन्दोलन घोषणा

फाइल फोटो : दूध पोखेर विरोध गर्दै चितवनका किसान


नेपालखबर
फागुन १०, २०८० बिहिबार १६:११, काठमाडौँ

दुध उत्पादक किसानहरूको माग सरकारले सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरूले आन्दोलनको घाषणा गरेका छन्।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गदै सरकारले पछिल्लो समय दुग्ध उत्पादक किसानहरूको माग सम्बोधनमा गम्भिर नभएको भन्दै नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ,राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन,केन्द्रीय दुग्ध सहकारी संघ,नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनहरूले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन्।

उनीहरूले किसानहरूले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको बताएका छन्। किसान संगठनहरूले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति अवलम्बन गरी कार्यान्वयन गर्न तत्परता नदेखाएको दाबी उनीहरूको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरेले सरकारलाई बारम्बार दुग्ध उत्पादक किसानहरूले भोग्नुपरेका समस्या बाधा व्यवधानका बारेमा ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नहुँदा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको बताए।

उनले विगत केही समयदेखि किसानहरूले उत्पादित दुग्धमध्ये ५ देखि ६ लाख लिटर दुग्ध बिक्री वितरण हुन नसकेको बताए। उनले भारतबाट अबैध रुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भएको कारण नेपाली किसानले उत्पादन गरेको दुग्ध बिक्री नभएको बताए।

घिमिरेले पछिल्लो एक वर्षमा लम्पी स्किन रोगका कारण पशुपालन किसानहरू ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएको अवस्थामा दुग्धको करिव ६ अर्ब बराबरको वक्यौता रकम सरकारले भुक्तानी नदिँदा किसान थप समस्यामा परेको बताए।

१५ संगठनले संयुक्त रुपमा फागुन १० देखि २१ गतेसम्म लगातार आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए। उनले फागुन १३ गते राजनीतिक दलका शिर्ष नेताहरू र प्रमुख सचेतकहरूलाई मागपत्र बुझाउने,१४ र १५ गते ७७ जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको बताए।

फागुन १७ गते मुख्य राजमार्गहरूमा शान्तिपूर्ण रुपमा चक्काचाम गर्ने र २१ गते काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गर्ने घिमिरेले जानकारी दिए।

किसान संगठनहरूले संयुक्त रुपमा १६ माग समेत राखेका छन्। उनीहरूले दुधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न,किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

त्यस्तै,भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन्। दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन्।

संगठनहरूले बिक्री नभएको दुधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट सरकारले रोक्न आवश्यक रहेको पनि बताएका छन्। नेपाली किसानले उत्पादन गरेको दुध नेपाली सेना,नेपाल प्रहरी लगायतका निकायहरूले अनिवार्य खरिद गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .