ad ad

कारोबार


नीति पारित तर हरित हाइड्रोजन उत्पादन परियोजना अलपत्र

नीति पारित तर हरित हाइड्रोजन उत्पादन परियोजना अलपत्र

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:३१, काठमाडौँ

सरकारले हरित हाइड्रोजन नीति पारित गरेसँगै नेपालमा यसको सम्भावनाको ढोका खुले पनि हरित हाइड्रोजन उत्पादन गर्न भारतीय कम्पनी ग्रिनजो इनर्जी प्राइभेट लिमिटेडसँग भएको एक सम्झौता भने अलपत्र बनेको छ। 

२०७९ साउन १ गते भारतीय कम्पनीसँग अपी पावर कम्पनी लिमिटेडले गरेको सम्झौता (एमओयू) अलपत्र भएको हो।  

यो कम्पनीले हरित हाइड्रोजन उत्पादन गर्नकै लागि सेयर निष्काशन गरेर नागरिकबाट रकम उठाएको पनि थियो। तर, सरकारले नीतिसमेत पारित गरिसक्दा अपी पावर हाइड्रोजन उत्पादनका लागि तदारुकता देखाएको छैन।  

अपि पावर कम्पनी लिमिटेड र हरित हाइड्रोजनमा काम गर्दै आएको भारतको ग्रिनजो इनर्जी मिलेर नेपालमा ५० मेगावाटको आयोजनामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने सम्झौता भएको थियो। जसमा १००० करोड लगानी रहने उल्लेख छ।

सुरुमा १ मेगावाटको पाइलट आयोजनाबाट काम सुरु गर्ने र पछि ५० मेगावाटको सोलारबाट हरित हाइड्रोजन तथा अमोनिया उत्पादनको प्रक्रिया अगाडि बढाइएको अपि पावरले दाबी गरेको थियो। तर  नीति नहुँदा कठिनाइ भएको भन्दै अपी पावर उदासीन बन्दै आएको थियो।

ग्रिनजो इनर्जी इण्डियाले गुजरातको सानन्दमा हाइड्रोजन प्लान्ट स्थापना गरेर काम नै सुरु गरिसकेको छ। नेपालमा नीति पारित भएपछि उसले सम्झौताअनुसार अपीसँग नेपालमा पनि उत्पादनका लागि काम थाल्ने प्रयास अघि बढाएको छ।

ग्रिनजोका प्रबन्ध निर्देशक सन्दीप अग्रवालका अनुसार अपीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपाने पनि नेपालमा हाइड्रोजन नीति आएकोमा खुसी छन्। तर आयोजनाको काम कहिलेबाट सुरु गर्ने उनले केही भनेका छैनन्। अपि पावर नेपालको हाइड्रो पब्लिक कम्पनी हो र सम्झौताअनुसार काम गरे अपि नै नेपालको पहिलो हाइड्रोजन उत्पादक कम्पनी बन्ने छ।

अपि पावरले २०७९ साउन १ गते ग्रिनजो इनर्जीसँग सम्झौता गर्दा दार्चुलामा निर्माण भएको ८.५ मेगावाटको नौगाड गड जलविद्युत आयोजनालाई आधार मानी १ मेगावाट विद्युत भण्डारण गर्न सक्ने हाइड्रोजन प्लान्ट विकास गर्ने उल्लेख थियो।

त्यसबाहेक अमोनिया समेत उत्पादन गर्ने गरी ५० मेगावाटको सोलार प्लान्ट छनोट भएको पनि दाबी गरिएको थियो। ग्रिनजो इनर्जी जोडिएपछि नेपालमा हरित हाइड्रोजनको लगानी बढाउन सकिने प्रबन्ध निर्देशक अग्रवालले बताएका थिए।

ग्रिनजोकै अग्रसरतामा अपि पावरले चन्द्रनिगाहपुरमा निर्मित ४ मेगावाट र १ मेगावाटको सिमरा सोलारको आयोजनामा हाइड्रोजनको प्लान्टका लागि प्रारम्भिक अध्ययन गर्ने दाबी गरेको थियो।

युरोपमा विकसित प्रविधिलाई भारतले व्यावसायिकरूपमा विस्तार गर्न लागेको हुँदा यसलाई सजिलै नेपालमा स्थानान्तरण गर्न सकिने गरी ग्रिनजोले काम गर्ने योजना बनाएको थियो। तर, अपी पावर नीति बनेपछि पनि चुप लागेर बसेको छ। 

अपि पावर र ग्रिनजो मिलेर नेपालमा ५० मेगावाटको हरित हाइड्रोजन, अमोनिया देखि युरिया सम्म उत्पादन गरि परियोजना विकास गर्ने योजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .