कारोबार


निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन् : बद्रि केसी

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन् : बद्रि केसी

नेपालखबर
माघ ६, २०८० शनिबार १८:१०, काठमाडौँ

गैर आवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाएका छन्।

शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलृ निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको बताए।

उनले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पारे। उनले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरूले गरेको दाबी गरे। 

‘अहिले निर्वाचित समिति एउटा मात्रै छ। देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ। गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो। जात र धर्म, भाषा भन्दा माथिको अभियान हो। हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ,’ केसीले भने, ‘जितेर आएको समितिलाई सरकारले सहयोग गरोस्। पराजित साथीहरुले सरकारलाई अन्योलमा पारिदिनुभयो। पराजित साथीहरू सरकारका नजिकका व्यक्तिहरू हुनुहुन्थ्यो। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका नजिकका व्यक्तिहरू हुनुहुन्थ्यो र उहाँहरूले भ्रम फैल्याएर गलत कुरा मन्त्रीहरुलाई दिनुभयो। सरकारले आफ्नो ठोस निर्णइ अझैसम्म ल्याएको छैन।’

उनले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराएपनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको पनि बताए। 
अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको केसीले दाबी गरे।

‘मलाई लाग्छ एनआरएनएको इतिहासमा २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल भनेर, सबैभन्दा बढी सचेतना अपनाएर, सबैभन्दा बढी वैधानिक कागजपत्र उपलब्ध गराएर इलेक्शन गरेको छ। किनभने यो भन्दाअघि हामीलाई यस पाठ सिकएको थियो। इलेक्शन कमिटीले चुनाव हुनुभन्दाअघि तीन जना नै अध्यक्षको उम्मेदवारहरू र हरेक अध्यक्षको उम्मेदवारको दुई दुई जना प्रतिनिधिहरूले सही गरेर चुनाव सुरु गरिएको छ,’ उनले भने।

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको एनआरएनएले जनाएको छ। गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुनेगरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ। 

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको बताएको छ। गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेस प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad