कारोबार


राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छ : ऊर्जामन्त्री बस्नेत

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छ : ऊर्जामन्त्री बस्नेत

नेपालखबर
माघ ५, २०८० शुक्रबार १५:५२, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन्।

शुक्रवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए।

मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने कुनै मनशाय नरहेको बताए। विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टिकरण थियो।

उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए।

मन्त्री बस्नेतले भने, ‘दुई वर्ष पुगेका वा नपुगेर पनि हामी कहाँ सरुवा माग्न आईरहेका साथीहरुलाई पनि अरु ६ महिना बसेर काम गरिदिनुस्न हो भनेर हामीले अनुरोध नै गरिरहेका छौं। त्यसकारण अहिले हाम्रो स्प्रिरिट कम्तिमा २ वर्ष भन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरुलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन। र, विशेष परिस्थिति नभइकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन।’

बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराइन्।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे।

सांसद आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुमा बजेटको अभाव हुन नदिन पनि सरकारलाई सुझाव दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .