कारोबार


उखु किसानको ११ करोड नतिर्ने गोयललाई बालुवाटार जग्गा प्रकरणमा साढे ५ करोडको मुद्दा

उखु किसानको ११ करोड नतिर्ने गोयललाई बालुवाटार जग्गा प्रकरणमा साढे ५ करोडको मुद्दा

नेपालखबर
माघ २२, २०७६ बुधबार १५:२३,

बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोयल ग्रुपका प्रमुख कैलाशचन्द्र गोयलविरुद्ध पनि मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालतमा दायर गरिएको मुद्दामा उनीविरुद्ध ५ करोड ४४ लाख रुपैंया बिगो दावी गरिएको छ।

गोयलले सरकारी कर्मचारीलाई प्रभावमा पारी ललिता निवास क्याम्पभित्रको सार्वजनिक जग्गा गैरकानुनी रुपमा आफू समेतको नाममा सट्टा भर्ना गराई लाभ लिएको आरोप अख्तियारले लगाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी बिगो समेत असुल उपर तथा जफत गर्न आयोगले माग गरेको छ।

गोयल ग्रुप नेपालका अध्यक्ष कैलाशचन्द्र गोयल झापा निवासी हुन। मारवाडी सेवा समाजमा अध्यक्ष तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका वरिष्ठ उपाध्यक्ष रहेका गोयल नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य हुन्। उनी राष्ट्रिय मानवअधिकार फाउन्डेसनका सल्लाहकार समेत रहेका छन्।

सनराइज बैंक, फुड कम्पनी, लुम्बिनी चिनी मिल, माउण्टेन हाइड्रो कम्पनी लगायतमा गोयल ग्रुपको लगानी रहेको छ। त्यस्तै अटो रिक्सा, हेवी इक्युपमेन्टको समेत आधिकारिक बिक्रेता कम्पनी रहँदै आएको यो ग्रुपले धागो तथा कपडा उद्योगमा समेत लगानी गर्दै आएको छ। लुम्बिनी चिनी मिलमा यो ग्रुप सहायक लगानीकर्ता हो।

लुम्बिनी चिनी मिलले किसानको १० करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। किसानहरुले आन्दोलन गरेपछि सरकारले उद्योगहरुलाई सम्पर्कमा आउन आग्रह गर्दा पनि यो चिनी मिल आएको थिएन।

माघ दोस्रो साता यिनै गोयल सरकारको सम्पर्कमा आएका थिए। तर अहिलेसम्म पनि सो मिलले किसानको भुक्तानी भने दिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .