ad ad

कारोबार


उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी, यस वर्ष पनि ठगिँदै किसान

उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी, यस वर्ष पनि ठगिँदै किसान

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा ढुंगा पूजा हुँदै।


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १०:३७, काठमाडौँ

उखुको मूल्य निर्धारण नहुँदै सर्लाही र महोत्तरीमा रहेका ठूला चिनी उद्योगले सञ्चालनको तयारी सुरु गरेका छन्।

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले सञ्चालनको तयारीस्वरुप बिहीबार डुंगा पूजा गरेको छ। 

महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज पनि यही सातादेखि सञ्चालमा आउने गरी तयारी अघि बढाइएको उद्योग प्रशासनले जनाएको छ। 

‘हाम्रो उद्योग मंसिरको २५ या २६ गतेदेखि सञ्चालन हुन्छ,’ इन्दु शंकर चिनी उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपालले नेपालखबरसँग भने, ‘बिहीबार डुंगा पूजा भएपछि हामीले उखु काट्नको लागि किसानलाई चलान बाँड्न सुरु गरिसकेका छौँ।’

सर्लाहीको बगदहमा रहेको महालक्ष्मी सुगर मिल एकसाता अघिदेखि नै चलिसकेको छ। रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीज दुई साताअघि देखि नै सञ्चालनमा आइसकेको छ। दुबै उद्योगले पछि सरकारले निर्धारण गर्ने मूल्य दिनेगरी अहिले जिरो मूल्यमा किसानसँग उखु खरिद गरिहेका छन्। 

उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालन हुन थालेकाले यस वर्ष पनि किसान ठगिने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। 

‘मंसिर १७ गते कृषि मन्त्रालयमा उखुको मूल्य निर्धारणको लागि वार्ता भएको थियो,’ अध्यक्ष मैनालीले भने, ‘त्यो वार्तामा उद्योगी र सरकारले यस वर्ष उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल ११ रुपैयाँ बढाउन प्रस्ताव गरेका थिए, तर हामीले मानेनौँ। सहमति नभइ हामी वार्ताबाट उठेका थियौँ। यता उद्योग सञ्चालमा आउन थालेका छन्। सरकार र उद्योगी किसानका समस्याप्रति समवेदनशील भएनन्।’

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ कायम गरेको थियो। जसमा सरकारले किसानलाई अनुदान बापत दिने भनिएको प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको छ। 

तर, सरकारले दिने भनेको अनुदानको ७० रुपैयाँ देशका अधिकांश किसानले अझै पाएका छैनन्। किसानले गत वर्षकै मूल्य नपाउँदै यस वर्ष फेरि उद्योग सञ्चालनमा आएका हुन्।

यस वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारण गर्न माग गर्दै आएका छन्। मिलगेट उखु उत्पादक समिति सर्लाहीले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारणको लागि उद्योगी र किसानलाई ज्ञापन पत्र बुझाइएको छ।

तर, सरकार र उद्योगीको मिलेमतोमा यस वर्ष उखुको मूल्य ६२१ रुपैयाँ निर्धारण गर्ने षड्यन्त्र सुरु भएको गुनासो किसानहरुले गरेका छन्। 

‘गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६१० निर्धारण हुँदा चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ थियो,’ अध्यक्ष मैनालीले भने, ‘यस वर्ष चिनीको मूल्य प्रतिकिलो सय रुपैयाँ पुगेको छ। चिनीको बिक्री मूल्य र उखुको उत्पादन लागतको आधारमा उखुको मूल्य निर्धारण नभए हामीलाई मान्य हुँदैन।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .