कारोबार


मुख्य तरकारी बजारमा आलु प्याजको व्यापार ठप्प, श्रमिक मारमा

कालीमाटीमा छैन आलुप्याज, विभाग भन्छ– भ्याटमा जाँदा व्यवसायीलाई असर गर्दैन

सरोज नेपाल
मंसिर २० , काठमाडौँ

सरकारले कृषि उत्पादनहरुको वस्तुको समेत ५० लाखभन्दा माथिको कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने निर्णय गरेपछि आलू प्याज व्यवसायीले त्यसको विरोध गरिरहेका छन्। मंगलबारदेखि त व्यापारीहरुले बिक्री वितरण नै बन्द गरिदिएका छन्। 

चालू आर्थिक वर्षदेखि सरकारले आन्तरिक उत्पादनसहितका खाद्य उत्पादनतर्फ ५० लाखभन्दा बढीको कारोबार भ्याटमा दर्ता हुनुपर्ने र सोहीअनुसार भ्याट लाग्ने व्यवस्था गरिदिएको छ। 

त्यसको विरोध गर्दै आएका आलु प्याज व्यवसायीले व्यापार नै ठप्प पारेका हुन्। 

व्यवसायी आन्दोलित भएसँगै भारी बोकेर दैनिक गुजारा चलाउने श्रमिकहरुमा भने यसको नराम्रो असर गरेको छ। 

अहिले कालीमाटी, बल्खुलगायतका मुख्य तरकारी बजारमा आलु र प्याजको बिक्री ठप्प भएकाले श्रमिकहरु प्रभावित भएका हुन्। 

बल्खुमा मजदुरी गर्ने नारायण श्रेष्ठ भन्छन्, ‘कहिले आन्दोलन सकिएला भनेर कुरिरहेका छौँ, पाँच दिन भयो काम केही भएको छैन।’

उनले घर परिवार चलाउन गाह्रो भएको बताए। 

यता कालीमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा अहिले प्याज र आलु नै छैन।  

‘प्याज र आलु रहने स्टल तथा गोदामहरु पूरै खाली छन्। आलु प्याज नै नभएपछि मंगलबार अर्थात् हिजोदेखि मूल्यसूची पनि समितिले राखेको छैन।’ 

हरेक दिन खुद्रा र थोक मूल्य समितिले राख्ने गरेको थियो। तर दुई दिनयता मूल्य राखिएको छैन। सोमबारको मूल्यसूचीअनुसार भने रातो आलु ४७ रुपैयाँ ५० पैसा, रातो आलु भारतीय ३९ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ प्रतिकेजी कायम थियो। 

त्यस्तै सुकेको प्याज प्रतिकेजी ९७ रुपैयाँ प्रतिकेजी कायम रहेको थियो। 

नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार आलु प्याज २०८०÷०८१ का लागि पेश गरेको वार्षिक बजेटमा कृषिजन्य वस्तुमा यसअघि कायम रहिआएका करका अतिरिक्त १३ प्रतिशत कर समेत थप गरी प्रस्तुत गरिएको थियो। त्यसले व्यवसायमा धेरै ठूलो असर गरिरहेको उनले बताए। 

त्यसको विरोधमा हामीले बिक्रीवितरण बन्द गरेको हो। बन्द गर्न व्यवसायीलाई संघले समर्थन समेत गरेको उनको भनाइ छ। 

उनले थपे, ‘आलु प्याज व्यवसायमा परम्परागत रुपमा व्यक्तिगत लेखा नम्बरमा आधारित भएर कारोबार गरिरहेकामा एकाएक आएको भ्याटको प्रावधानले व्यवसाय गर्न नसकिने र उपभोक्ताले समेत खरिद गर्न नसक्ने स्थिति सिर्जना भएको छ।’ 

प्रत्येक नेपाली नागरिकको भान्सामा दैनिक रूपमा उपभोग गरिने र खाद्य अधिकारसम्बन्धी मौलिक हक पोषणसम्बन्धी विषयसँग प्रत्यक्ष सम्बन्धित आलु, प्याज तथा फलफूलजस्ता खाद्यसामग्रीउपर लगाइरहेको १३ प्रतिशत अतिरिक्त करका कारण भारतीय बोर्डरमा कायम मूल्य र नेपाली बजार मूल्यबीच असन्तुलित बजार भाउ हुन जाँदा व्यवसायीलाई दोहोरो मार पर्नुका साथै उपभोक्ता समेतलाई समस्या परेको संघले जनाएको छ। 

के छ यो वर्षको कर संशोधनमा?
चालू आर्थिक वर्षको आर्थिक ऐनमा कृषिजन्य वस्तुको कारोबार गर्नेको समेत ५० लाखभन्दा बढी कारोबार गर्नेको हकमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। 

यसअनुसार भ्याट ऐन परिमार्जित भएको छ भने दर्ता हुनुपर्ने व्यवसायलाई विभिन्न भागमा विभाजन गरिएको छ। नेपालमा भ्याटमा दर्ता हुनुपर्ने र नहुनुपर्ने गरी विभाजन गरिएको छ। ती व्यवसायमा दैनिक आवश्यक उपभाग्य वस्तुलाई छुट दिइएको छ। 

तर कृषि वस्तुमा आधारित केही संशोधन गरिएको छ। योसँगै आलु प्याज व्यवसायीले बजेट भाषणदेखि नै विरोध गर्दै आएका छन्। अहिले भने उनीहरुले बिक्रीवितरण नै ठप्प पारेका हुन्।

यसबारे सोध्दा आफूलाई धेरै थाहा नभएको आन्तरिक राजस्व विभागका सूचना अधिकारी यम कार्कीले बताए। विभागका अर्का निर्देशक भने भ्याट लागेर व्यापारीलाई नै भने ठूलो असर नगर्ने बताउँछन्। 

‘भ्याट भनेको उपभोगमा आधारित लाग्ने कर हो। यसले अन्तिम भार उपभोक्तामाथि पार्छ। व्यापारीलाई प्रत्यक्ष असर गर्दैन’, उनले भने।  

फोटो/भिडिओ : विशाल कार्की

मंसिर २०, २०८० बुधबार १५:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .