ad ad

कारोबार


सांसदको प्रश्न : अर्थतन्त्रबारे प्रधानमन्त्री र अर्थमन्त्रीका दुईथरी कुरा, कसलाई पत्याउनु?

सांसदको प्रश्न : अर्थतन्त्रबारे प्रधानमन्त्री र अर्थमन्त्रीका दुईथरी कुरा, कसलाई पत्याउनु?

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १९:५५, काठमाडौँ

सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन्। सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतिलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए। उनीहरुले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको बताए।

सांसदहरुले सरकारले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मकदेखि पनि अर्थतन्त्रमा संकट रहेको बताएका छन्। त्यस्तै सांसदहरुले सरकारमा बस्ने प्रधानमन्त्री र अर्थमन्त्री बीचमा नै अर्थतन्त्रका विषयमा एक रुपता नदेखिएको बताए। उनीहरुले सरकारले निर्माण व्यवसायीहरुलाई गर्नु पर्ने भुक्तानी समेत दिन नसक्नु अर्थतन्त्र मन्दीमा गएको संकेत रहेको उल्लेख गरे।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभावी बोल्दा मनोबल कमजोर हुन्छ भने पनि अहिले मन्तव्य सुधार गर्ने भन्दा पनि अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए। उनले मन्त्रीहरूको मन्तव्य सकारात्मक भए पनि मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताए।

उनले अर्थतन्त्रका बारेमा सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने बताए। उनले अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक–फरक कुरा आउने गरेका बताए। उनले प्रधानमन्त्री नेपालमा अर्थतन्त्र समस्या छ भन्ने तर त्यही सकारका विभागयि अर्थमन्त्री बेलायत पुगेर राम्रो छ भन्ने कुरामा कसको कुरा पत्याउनु? भन्दै प्रश्न गरे।

पूर्वअर्थमन्त्री पौडलले प्रधानमन्त्री समस्याग्रस्त भएको अर्थतन्त्र सुधार गर्न तिहारपछि गोलमेच सम्मेलन गर्छु भन्नु अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको जस्तो लागेको उल्लेख गरे। उनले अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको हो भने मन्त्री र प्रधानमन्त्री भेट्न अर्थ समितिले सिफारिस गरेर पठाउने भन्दै  व्यंग्य गरे।

उनले प्रधानमन्त्री गोलमेच सम्मेलन गर्छु भन्दै हिँड्ने गरेको र अर्थमन्त्री लगानी सम्मेलन गर्ने सरकारका फरक–फरक कार्यक्रम गर्न लागेको देखिएको बताए। उनले विद्युतीय सवारीका कारण राजस्व घट्यो भनेर सरकारले पार नपाउने भन्दै आगामी दिनमा विद्युतीय गाडीको आयात बढाउने नीति लिन सुझाव दिए।

बैठकमा बोल्दै कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए। उनले अर्थतन्त्रमा देखिका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताउनु भयो।

उनले पछिल्लो समय नेपालको कमजोर आर्थिक वृद्धिदर,बढ्दो मूल्य वृद्धि रहेको बताए। उनले मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुनुपर्छ भने पनि आत्मनिर्भर अर्थतन्त्रमा जान नसकेको बताए। पूर्वअर्थमन्त्री कार्कीले देश विकासमा सबैको ध्यान जानुपर्ने समय भएपनि त्यस्तो नभएको गुनासो गरे।

उनले अहिले ऋण बढ्दै गएको तर त्यसले उत्पादन दिन्छ कि दिँदैन भन्नेमा ध्यान नदिइएको बताए। उनले साना तथा मझौला उद्योगमा विश्वासको अभाव रहेको बताए। उनले नेपाल आउने पर्यटकबाट उठ्ने पैसाभन्दा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा लाग्ने खर्च बढेको भन्दै सरकार यसतर्फ सचेत रहनुपर्ने बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता लिए अर्थनीति सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भएपनि विगतका मन्त्रीको जस्तै अवस्था देखिएको बताए।

उनले अर्थतन्त्रका बारेमा जानेको अर्थमन्त्रीले ल्याएका बजेटमा दिएको केही उधारो समर्थन फिर्ता गर्नुपर्ने अवस्था देखिएका बताए। उनले भूकम्पले पारेको क्षेतीलाई हलुका रुपमा हेर्नु नहुने बताए। उनले नियमनकारी निकायहरु बीमा प्राधिकरण र धितोपत्र बोर्डले डरलाग्दो सेटिङमा देश गाँजिएको खबर बाहिर आएको बताए।

सांसदहरुले अहिले जिल्ला–जिल्लाका निर्माण व्यवसायीले पैसा पाउन नसकेको भन्दै सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सझाव दिएका छन्। उनीहरुले आयोजना सकिए पनि पैसा नपाउँदा निर्माण व्यवसायीदेखि श्रमिकसम्म समस्यामा परेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .