कारोबार


सेयरबजार बुलिस ट्रेन्डमा, विश्लेषक भन्छन्ः आत्तिनुपर्दैन

सेयरबजार बुलिस ट्रेन्डमा, विश्लेषक भन्छन्ः आत्तिनुपर्दैन

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:५०,

मंगलबार सेयर बजारमा नेप्से परिसूचक बढे पनि सेन्सेटिभ परिसूचक घटेको छ। कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ। बजारमा लगानीकर्ताको मनोबल परिवर्तन भइरहँदा परिसूचकमा उतारचढाव देखिएको छ। तर बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाइ छ।

मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ। यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुको भन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो। लगानीकर्ताको आकर्षण कम मूल्य भएका सेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाइ छ। त्यस्तै अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठूलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ। त्यस्तै बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पु¥याएको छ। त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाइ गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ।

तर सेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरेपनि लगानीकर्ताले दिर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताए। उनले अर्थतन्त्रका सूचकहरुहरु सकारात्मक हुँदै गएकाले बजारमा सकारात्मक असर परेको दाबी गरे। त्यस्तै सरकारका नीतिहरु पनि आइसकेको र अबको एक वर्ष पछिको अर्थतन्त्रको अवस्थालाई हेरेर लगानीकर्ताले कारोबार गरिरहेकाले नेप्से बढेको र केही वर्ष बढ्दो अवस्थामा नै नेप्से रहने उनको भनाइ छ।

सेयर विश्लेषक बस्यालले सेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था रहेको देखिएको बताए। बजारको इतिहास दोहोरिन्छ भन्ने मान्यता अनुसार यसपटक करिब ४१ महिनाको घट्दो बजारको ट्रेण्ड पुरा गरी बजारले बढ्दो ट्रेण्ड समाएको स्पस्ट भइसकेको विश्लेषक बस्यालले बताए। उनले अबको ५० महिनाको अवधि बढ्दो ट्रेण्डमा हुने प्राविधिक विश्लेषण गर्न सकिने अवस्था रहेको समेत दाबी गरे। त्यसका लागि अर्थतन्त्रका सूचकहरुले समेत साथ दिएको उनले बताए।

बजार बढ्दो ट्रेण्डमा देखिए पनि लगानीकर्ताहरु भने अझै ढुक्क हुन सकेका छैनन्। यसको असर नेप्से परिसूचकमा देखिएको छ। त्यसैले मंगलबार नेप्से उतारचढावका बीच ५ दशमलव ५२ अंकले बढेको छ । नेप्सेमा उतारचढाव देखिए पनि नकारात्मक भने देखिएन्। सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ४८ अंकले घटेको छ। परिसूचकहरुमा उतारचढाव देखिएपनि कारोबार रकम १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको भएको छ । कारोबारमा आएका समुह मध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समूहका सूचकहरु घटेका छन् ।

ग्लोबल आइएमई बैंकको सेयरमा लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिको छ । यो बैंकको ९ करोड ९५ लाख ८५ हजार ३ सय ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। तर सबैभन्दा बढी शिखर इन्स्योरेन्सका सेयरधनीले ८ प्रतिशतले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले भने सबैभन्दा बढी ४ दशमलव ३५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad