ad ad

कारोबार


भ्रमण वर्षलाई कोरोना भाइरसको धक्का, व्यवसायी भन्छन् : घट्न थाले चिनियाँ पर्यटक

भ्रमण वर्षलाई कोरोना भाइरसको धक्का, व्यवसायी भन्छन् : घट्न थाले चिनियाँ पर्यटक

बसन्त अर्याल
माघ १३, २०७६ सोमबार १२:२,

चीनमा फैलिएको कोरोना भाइसरकाे असर नेपालको भ्रमण वर्षलाई पर्ने भएको छ। भ्रमण वर्ष २०२० मा चीनबाट मात्रै ५ लाख पर्यटक ल्याउने योजनामा असर पर्ने भएको हो। सरकारले सन् २०२० भरिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

चीन सरकारले कोरोना भाइरसको कारण वुहान सहरका लाखौं बासिन्दालाई जरुरी काम नभई सहर नछोड्न निर्देशन दिएको छ। चीनले वुहानबाट बाहिर जाने सबै हवाइ तथा सडक यातायात अनिश्चितकालीन बन्द गरेको छ।

यसको असर नेपालमा देखिनथालेकाे पर्यटन व्यवसायीहरूले जनाएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका अध्यक्ष अच्युत शर्मा गुरागाईंले कोरोना भाइरसको कारण चिनियाँ पर्यटक आगमनमा भारी गिरावट आएको बताए।

‘हामीले तथ्याङ्क त केलाइसकेका छैनौँ तर चीनबाट आउने दैनिक पर्यटकमा भारी गिरावट आएको छ,’ उनले भने, ‘नर्थ चाइनाबाट आउने उडानहरु नखुलेसम्म नेपालमा चिनियाँ पर्यटकको संख्यामा ठूलो प्रभाव पर्नेछ।’

अध्यक्ष गुरागाईका अनुसार चिनियाँ पर्यटकले नेपाल आउने योजना रद्द गर्दा भ्रमण वर्ष २०२० मा प्रत्यक्ष असर पर्नेछ।

होटल एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले विनायक शाहले भने, ‘चीनमा नयाँ वर्षको विदा छ। चाइनिजहरु बाहिर घुम्न जाने बेला हो। चीन सरकारले नै उडान रद्द गरेको छ, त्यसको असर नेपालको पर्यटन क्षेत्रमा पनि परिहाल्छ नि!’

शाहले यसलाई बढी ‘सेन्सेस्नल’ गर्दा नेपालको पर्यटनमा झनै असर पर्ने बताए। ‘अलि अलि भ्रमण रद्द त भइहाल्छ, ठूलो कुरा होइन। हामीले बढी सेन्सेस्नल गर्यो भने चीनका मात्रै होइन, अरु देशका पनि पर्यटक नेपाल आउँदैनन्’, उनले भने।

तर नेपाल आउने चिनियाँ विमानहरु भने पूर्ववत् आइरहेका छन्। वुहानबाट नेपाल सिधा उडान छैन। त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले कुनै पनि चिनियाँ विमानले हालसम्म नेपाल उडान रद्द नगरेको बताए।

सतर्कता अपनाउन सरकारको आग्रह
यता सरकारले सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउनुपर्ने बताएका छन्।

मन्त्री भट्टराईले सोमबार पर्यटन व्यवसायीहरुसँग छलफलमा प्रकोपलाई फैलिन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिए। उनले स्वास्थ्य मन्त्रालयको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा सङ्क्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको दाबी गरे।

‘हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ’, उनले भने।

चीनबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको भन्दै मन्त्री भट्टराईले लुम्बिनी, पशुपति, ठमेल, सौराहालगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अङ्ग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न आग्रह गरे। यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायलाई समन्वय गर्ने निर्देशन दिएका छन् । ‘भ्रमण वर्षमा आएका पाहुनामा कोरोनासम्बन्धी लक्षण देखियो भने विभाग र बोर्डका अधिकारीले सम्बन्धित क्षेत्रसँग समन्वय गर्नुहोला’, मन्त्री भट्टराईले भने, ‘समन्वय गरेर काम गर्नू, सरोकारवालासँग सूचना आदानप्रदान गर्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .