बजारमा अप्राप्य पुराना पुस्तकहरुका कारण साझा प्रकाशनको प्रदर्शनीमा पुस्तक किन्नेहरुको आकर्षण देखिएको छ। पठन संस्कृतिको विकास गर्ने उद्देश्य स्वरुप प्रकासनले गत आइतबारदेखि आफ्नो पुल्चोक (ललितपुर) स्थित केन्द्रीय कार्यालय लगायत प्रमुख शहरहरुमा रहेको बिक्री कक्षहरुमा प्रदर्शनी आयोजना गरेको हो।
प्रदर्शनीमा बजारमा अप्राप्य पुस्तकहरुका साथै महत्वपूर्ण पुराना पुस्तकहरु निकै सस्तो मूल्यमा बिक्रीमा राखिएका छन्। त्यसमध्ये टेकबहादुर खत्रीद्वारा लिखित ‘पञ्चायत आज’ को मूल्य ४ रुपियाँ २५ पैसा राखिएको छ। प्रदर्शनीमा भएकामध्ये सबैभन्दा सस्तो पुस्तक यही हो।
यसैगरी पण्डित ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’ को मूल्य ६ रुपियाँ ५० पैसा छ। सबैभन्दा बढी मूल्यको पुस्तक प्रा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ हो। यसको मूल्य २८ सय रुपियाँ छ।
जारी प्रदर्शनीमा साझा प्रकाशनबाट हालै प्रकाशित परमानन्दगीता, अणिमा, मनको बह, मनको बिम्बबाट, आसन ग्रहण, खोजी, मिसन यात्रा, धर्मदर्शन, जीवन दर्शन, नक्साको जून, कुमुदाग्नि, नेपाली उपन्यासमा आञ्चलिकः सिद्धान्त, परम्परा र प्रवृत्ति, परेवा र बाज, म गाउँ फर्कन्छु राखिएका छन्।
यसैगरी नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत ५ सय विभिन्न शीर्षकका कृति पनि प्रदर्शनीमा बिक्रीका लागि राखिएको छ।
सो विशेष पुस्तक प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार (७ असोज) मा उद्घाटन गरेका थिए। उनले १ सय ११ वर्षे साझा प्रकाशनसँग १ सय ५ वर्षको ललितपुर महानगरपालिकाले एमओयु गरेर सहकार्य गर्ने जानकारी सो अवसरमा दिएका थिए।
प्रदर्शनीमा साझा प्रकाशनमा लामो समय व्यतीत गरेका कभर डिजाइनर ९२ वर्षीय कलाकार टेकवीर मुखिया तथा नेपाली लोक नृत्यक्षेत्रमा विशिष्ट योगदान गर्नुभएका अग्रज स्रष्टा भैरवबहादुर थापाको समेत उपस्थिति थियो। मुखियाले साझा प्रकासनले प्रकासित गरेका अधिकांश पुस्तकको कभर डिजाइन गरेका थिए।
साझा प्रकासनको पुल्चोकस्थित केन्द्रीय कार्यालयका अलावा बिर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, भरतपुर, पोखरा, नुवाकोट, बुटवल, दाङ र प्रदर्शनी मार्गमा असोज २२ सम्म प्रदर्शनी चल्ने प्रकासनले बताएको छ।
Shares

प्रतिक्रिया