ad ad

कारोबार


साउन महिनामा घट्यो घरजग्गा र गाडीमा जाने कर्जा

नाडा अटो शो र जग्गाको कित्ताकाटले कारोबार बढ्ने विश्वास
साउन महिनामा घट्यो घरजग्गा र गाडीमा जाने कर्जा

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८० सोमबार १७:९, काठमाडौँ

चालु आर्थिक वर्षमा हायर प्रचेज र रियल स्टेट कर्जामा कमी आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार महिनाको तुलनामा साउनमा दुवै प्रकारको कर्जा घटेको हो। 

हायर प्रचेजमा व्यक्तिगत कर्जाको तुलनामा व्यवसायिक कामका लागि लिने कर्जा बढी घटेको छ। घरजग्गामा भने २ करोडसम्मको व्यक्तिगत कर्जा बढे पनि व्यवसायिक रियल स्टेट कर्जा घटेका छन्। 

गाडी खरिद एकदमै न्यून रहेकाले साउनमा कर्जा प्रवाह नै नभएको अटो व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार नाडा अटो शोसम्म बजार शून्य जस्तै थियो। नाडामा करिब २ हजार गाडी बुकिङ भएकाले अब कर्जा प्रवाह बढ्ने व्यवसायीले बताएका छन्। 

साउनबाट राष्ट्र बैंकले घरजग्गा र गाडी खरिदमा जाने कर्जामा जोखिमभार केही खुकुलो बनाएकाले अब कर्जा बढ्दै जाने व्यवसायीको विश्वास छ। 

घरजग्गा व्यवसायीले साउन महिनामा अफ सिजन भएकले कारोबार कम हुँदा कर्जा प्रवाह घटेको हुन सक्ने बताएका छन्। 

‘घरजग्गा कारोबारका लागि साउन अफ सिजन हो,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले भने, ‘साउनपछि रियल स्टेटको जोखिम भार खुकुलो भएको र कित्ताकाट पनि खुलेकाले अब बढ्दै जाने देखिन्छ।’

हायर प्रचेज लोन १६.८ प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको पहिलो महिना हायर प्रचेज लोन १६.८ प्रतिशतले घटेको छ। असारमा १ खर्ब ५९ अर्ब रुपैयाँ हायर प्रचेज लोन प्रवाह भएकोमा साउनमा १ खर्ब ३२ अर्ब रुपैयाँमा सीमित भएको हो। 

राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमै २६ अर्ब ७६ करोड रुपैयाँले कम भएको छ। जबकि अघिल्लो वर्ष सरकारले असारको तुलनामा साउनमा १.२ प्रतिशतले बढेको थियो।

गाडी आयातमा प्रतिबन्ध लगाउँदा पनि १ अर्ब ८८ करोड रुपैयाँले हायर प्रचेज कर्जा वृद्धि भएको थियो।

चालु आर्थिक वर्षमा हायर प्रचेज घट्नुमा व्यवसायिक प्रयोजनको ऋण धेरै रहेको छ। असारमा १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९६ अर्बमा सीमित भएको छ। व्यवसायिक हायर प्रचेज २१.५ प्रतिशतले घटेको छ। 

असारमा व्यक्तिगत कर्जा ३६ अर्ब ७१ करोड रुपैयाँ थियो। साउनमा ३६ अर्ब ३१ करोड रुपैयाँ प्रवाह भएको छ। व्यक्तिगत गाडीमा ४० करोड रुपैयाँले कमी आएको छ। 

गत वर्ष यही अवधिमा व्यक्तिगत कर्जा घटे पनि व्यवसायिक प्रयोजनका लागि लिएको हायर प्रचेज कर्जा २.८ प्रतिशतले बढेको बढेको थियो। 
रियल स्टेट कर्जा ३.७ प्रतिशतले घट्यो
साउन महिनामा रियल इस्टेट कर्जा ९ अर्ब ३२ करोड रुपैयाँले घटेको छ। असार मसान्तसम्म २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउनमा २ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ। 

असारमा डेढ करोडमाथिको आवासीय कर्जा ६५ अर्ब ५१ करोड रुपैयाँ प्रवाह भएको थियो। साउनमा ५५ अर्ब १८ करोड रुपैयाँ छ। यस अवधिमा १० अर्ब ३२ करोड रुपैयाँ कम कर्जा प्रवाह भएको छ। 

व्यवसायिक भवन र अपार्टमेन्टका लागि कर्जा प्रवाह बढेको छ। असारसम्म ३१ अर्ब २ करोड रुपैयाँ रहेकामा साउनमा ३२ अर्ब २९ करोड पुगेको छ। 

जग्गा खरिद र प्लटिङको कर्जा पनि १.३ प्रतिशतले बढेको छ। असारसम्म ४५ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा साउनमा ४५ अर्ब ९० करोड पुगेको छ। 

२ करोड रुपैयाँसम्मको व्यत्तिगत घर कर्जा ३.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा यस पटक दोब्बरले वृद्धि भएको छ। 

अघिल्लो वर्ष साउनमा ४ अर्ब १६ करोड रुपैयाँ आम्दानी भएको थियो। तर अहिले ११ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

असारको तुलनामा साउनमा घरजग्गा कारोबार समेत घटेको थियो। साउनमा सरकारले २ अर्ब ९१ करोड रुपैयाँ मात्रै संकलन गर्न सक्यो।

असारमा भने ४ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरिएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। 

साउनमा ३९ हजार २६९ वटा लिखत पारित भएका छन्। असारमा ४४ हजार ४८५ वटा लिखित पारित भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .