कारोबार


प्लास्टिक भनेर भन्सार यार्डमा काजु! निगरानीमा कार्यालय प्रमुख

प्लास्टिक भनेर भन्सार यार्डमा काजु! निगरानीमा कार्यालय प्रमुख

दीपक भट्ट
भदौ १२, २०८० मंगलबार २१:१६, काठमाडौँ

प्लास्टिक भनेको सामान भन्सार यार्डमा काजु भेटिएको छ।

भैरहवा भन्सारले कच्चा पदार्थ भनि अर्कै सामाग्री जाँचपास गर्न लागेपछि सामान पक्राउ गर्न भन्सार विभागले निर्देशन दिएको हो। यो घटना गत शुक्रबार भएको हो। यसअघि पनि एउटा ३ पटक र अर्को १५ पटक सामान पास गराएको भेटिएको थियो।

जसले गर्दा भैरहवा भन्सार प्रमुख मनिराम पौडेल निगरानीमा परेका छन्।

यसअघि नै पास भएको वस्तुहरुको विषयमा समेत छानबिन गर्न अर्थ मन्त्रालयले उनलाई निगरानीमा राखेको हो। पौडेल जनार्दन शर्मा अर्थमन्त्री रहँदा उक्त भन्सार प्रमुखको जिम्मेवारीमा गएका थिए। 

गत शुक्रबार भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक प्लास्टिक आयत भएको भनेर भन्सार पास गरायो। तर, त्यसमा प्लास्टिक थिएन। जसको सूचना मन्त्रालयसम्म आइपुग्यो।

भन्सार यार्डमा आएको सामान चेकजाँच बाँकि थियो। भन्सारको कर्मचारीबाट नै त्यो सामान प्लास्टिक भनेर पास गराउने तयारी भैरहेको सूचना अर्थमन्त्रालय आएको थियो।

तर, प्लास्टिक नभएको स्पष्ट सूचना अर्थ मन्त्रालयमा आएपछि मन्त्रालयले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्लास्टिक भनेर काजु किन भन्सार पास भैरहेको छ भनेर सोधेको थियो।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार त्यसपछि तत्काल रेकी गर्न भन्सार विभागका महानिर्देशकले भन्सार कार्यालयलाई निर्देशन दिए। लगत्तै ट्रक नियन्त्रणमा लिइएको थियो। 

ट्रकमा केही कपडा र काजु भेटिएको भन्सार विभागले जनाएको छ। विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार त्यो ट्रक भन्सार कार्यालयले नै समातेको हो।

उनी भन्छन्, ‘त्यसमा अब भनेको कानुनी कारबाही हुने छ।’ 

तर अहिले ट्रक कस्तो अवस्थामा छ भन्ने जानकारी आफूलाई नभएको उनले बताए।

ट्रकचालक र सहचालक भने भागिसकेका छन्। त्यो सामान कस्तो हो र किन यसरी आयो भन्नेबारे अनुसन्धान भैरहेको भन्सार विभागले जनाएको छ।

मन्त्रालयले मिलेमतोको आशंका गर्दै कार्यालय र भन्सार प्रमुखमाथि निगरानी सुरु गरेको हो।

भन्सारबाट वस्तु पास हुँदा न्यून बिजकीकरण र अधिक बिजकीकरण हुने गरेका छन्। जसमा भन्सार कार्यालयको पनि मिलेमतो हुने गर्दछ। तर बिलअनुसार कर तिरकोले कारबाहीमा अफ्ठेरो परेको भन्दै भन्सार प्रमुखहरु उम्किने गर्छन्।

तर पछिल्लो समय एउटा भनेर अर्को सामान ल्याउने, मिसावटको सामान ल्याउने गरेको घटनाहरु धेरै भेटिएका छन्। त्यसमा भन्सार कर्मचारीहरुको समेत मिलेमतो हुने गरेकोमा अर्थ मन्त्रालयले चासो दिएको हो।
 
त्यसैकारण भैरहवा भन्सार कार्यालका प्रमुख मणिराम पौडेललाई यसअघिका घटनाहरुमा समेत समेत निरानीमा राखिएको हो।

‘लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक जसले काजु भनेर जाँचपास गराए, तिनीहरुले यो भन्दाअघि ३ पटक सामान पास गरेको देखिएको छ। त्यसमा समेत मिलेमतो भएको हुनसक्ने आशंका छ,’ विभागका अर्का अधिकारीले भने, ‘सुन नेपाल छिराएको प्रकृतिमा नै मणिराम पौडेलले सामान छिराएको आशंका गरिएको  छ।’

साउन २ मा विमानस्थल भन्सारबाट एक क्विन्टल तस्करीको सुन पास भयो। हङकङबाट ब्रेक सुमा राखेर ल्याइएको सुन एक्स रे मेसिनमा समेत देखिएको थियो। तर, कर्मचारीको मिलेमतोमा सुन छिराएको आशंकाका साथ अहिले अध्ययन भैरहेको छ। 

गत साउन ४ गते भन्सार विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय आन्तरिक छानबिन समितिले प्रतिवदेनको मस्यौदा तयार गरेको छ। त्यसले समेत मानवीय त्रुटि नै कारक भएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .