बैंकहरुले भदौको लागि निक्षेपको ब्याजदर बढाएसँगै प्रणालीमा निक्षेप थपिन थालेको छ।
पछिल्लो एक सातामा प्रणालीमा ३० अर्ब निक्षेप थपिएको हो। साउन ३१ गतेसम्म प्रणालीमा ५५ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप थियो।
भदौमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएसँगै निक्षेप बढ्न थालेको हो।
साउन एक महिनामा मात्रै प्रणालीबाट १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो।
साउनको सुरुमै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाइने व्यवस्थाले १ खर्ब निक्षेप घटेको थियो। साथै बैंकहरुले साउनमा निक्षेपको ब्याजदर घटाउँदा अन्य ७० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
साउन यता राष्ट्र बैंकले विकास ऋणपत्र, ट्रेजरी बिल्स जारी गर्दा केही निक्षेप घट्ने गरेको राष्ट्र बैंकका अधिकारी बताउँछन्।
उनीहरुका अनुसार आयल निगमको भुक्तानीका कारण साउनमा निक्षेप घटेको हो।
साथै, बैंकहरुले साउनमा ब्याजदर घटाउँदा केही निक्षेप घटेको हुनसक्ने उनीहरु बुझाइ छ।
भदौका लागि बैंकहरुले ब्याजदर बढाएसँगै पुनः निक्षेप बढ्न थालेको देखिएको छ। पछिल्लो ७ दिनमै ३० अर्ब रुपैयाँ रुपैयाँ निक्षेप थपिएसँगै प्रणालीमा ५६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
भदौ ५ गतेसम्म आइपुग्दा प्रणालीमा ५६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।
साउनमा निक्षेपसँगै कर्जा लगानी समेत घटेको थियो। साउन एक महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २३ अर्बले घटेको देखिन्छ।
भदौ पहिलो एक सातामा प्रणालीमा ३० अर्ब रुपैयाँ निक्षेप बढेसँगै कर्जा प्रवाह समेत बढेको छ।
भदौको पहिलो सातामा बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। साथै, बैंकहरुले समेत नयाँ स्किम ल्याएर कर्जा प्रवाह गर्न थालेका छन।
साउनमा कर्जाको माग न्यून हुने हुँदा कर्जा प्रवाह घटेको बैंकर्सहरु भनाइ छ। साउनमा कर्जाको माग नै न्यून हुने र भदौ लागेसँगै बल्ल कर्जाको माग बढ्ने उनीहरु बताउँछन्।
केही बैंकको पुँजी कोषमा दबाब छ। त्यसमाथि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाइने र यो वर्ष काउन्टर साइक्लिकल बफरले सहजै कर्जा जाने अवस्था नदेखिएको हो।
ब्याजदर घट्दा निक्षेप घट्ने देखिएपछि भदौमा ब्याजदर बढाउनु परेको उनीहरु बताउँछन्।
बैंकहरुका लगानी योग्य रकम छ, अब विस्तारै निक्षेप थपिन क्रम देखिएका कारण कर्जा लगानी बढ्ने देखिएको छ। साथै, चाडपर्व नजिकन थालेसँगै कर्जाको माग बढ्नेछ। भदौपछि कर्जाको माग बढ्ने प्रणालीमा अधिक तरलता हुँदा कर्जा प्रवाह हुने उनीहरुको भनाइ छ।
पछिल्लो समय प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले खिच्दै थालेको छ। बैंकहरुको कर्जा लगानी खुम्चिँदा राष्ट्र बैंकले तरलता खिच्न थालेको हो।
Shares

प्रतिक्रिया