ad ad

कारोबार


गैँडाकोटको विकू बचत तथा ऋण सहकारी संस्थाले भित्र्यायो पीओएस मेसिन

गैँडाकोटको विकू बचत तथा ऋण सहकारी संस्थाले भित्र्यायो पीओएस मेसिन

नेपालखबर
भदौ ५, २०८० मंगलबार १९:३१, काठमाडौँ

नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पीओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ।

उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन्। जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए। ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पीओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो।
    
सो पीओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको उनले जानकारी दिए। यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उनको भनाइ छ। ३३औँ वार्षिकोत्सवका अवसरमा विकूले आज अमरापुरीमा कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रमसँगै पीओएस मेसिन शुभारम्भ र २४ वटै सेवा केन्द्रमा दीप प्रज्वलन गरेको छ।

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीले आफू विकूको सदस्य रहेका कारण संस्थाबारे जानकार पनि रहेको र यो उत्कृष्ट सहकारीका रूपमा रहेको बताएका थिए। सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले यो खालको उपलब्धि हासिल गर्न सकेको उनको भनाइ थियो। उनले सहकारीका क्षेत्रमा देखिएका समस्यालाई हल गर्दै जाने र सहकारी नियमन एवं नीति निर्माणमा मन्त्रालयको तर्फबाट काम भइरहेको बताए।

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको व्यावसायिक योजनाअनुसार सामाजिक रूपान्तरणका क्षेत्रमा अब विकूले काम गर्ने बताए। यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरे। कार्यक्रममा विकूका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटा, पूर्वअध्यक्ष इन्द्रराज ज्योति पौडेल, नारायण सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, विजय परिवारका सदस्य संस्थाका प्रतिनिधि, विकूका संस्थापकहरू, पूर्वसञ्चालक समिति, उपसमितिका पदाधिकारी, सेयर सदस्यलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी सिन्धु सुवेदी, प्रिया सिं ठकुरी, अर्जुन कँडेल, लक्ष्मी थापा राना, ओमबहादुर थनेत, उत्कृष्ट इन्चार्ज सुरजबहादुर लौडारी, उत्कृष्ट विभागीय प्रमुख मदन सापकोटा, उत्कृष्ट सेवा केन्द्र नवजागरण सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उपसमिति नवजागरण सेवा केन्द्र र उत्कृष्ट सिक्स एस मूल्याङ्कनमा पूजा सेवा केन्द्रलाई सम्मान एवं पुरस्कृत गरिएको थियो। वार्षिकोत्सवअन्तर्गत विकूले यसअघि हाजिरीजवाफ प्रतियोगिता, पूर्ण विकू सदस्य वडा घोषणा, रक्तदान कार्यक्रम गरेको थियो।

विसं २०४८ मा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब एक लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .