कारोबार


महासंघ र अन्तराष्ट्रिय वित्त निगमबीच आर्थिक मुद्दामा सहकार्य हुने

महासंघ र अन्तराष्ट्रिय वित्त निगमबीच आर्थिक मुद्दामा सहकार्य हुने

नेपालखबर
साउन १६, २०८० मंगलबार १६:२२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ।  

उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतको प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।  

कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको बताउँदै उनले निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको ढकालले बताए। 

निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि ओरालो लागेको उनले बताए।

नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासंघसंग सहकार्य गर्न आफू तयार रहेको बताइन्। 

पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो। 

महासंघले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सिप बिकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो। 

लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवर्द्धन लगायतका विषयको नेतृत्व गर्छिन्।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा सञ्चालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए। 

महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवर्द्धन आवश्यक रहेको बताए। 

महासंघ लगानी तथा अन्तराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारबारे नीतिगत सुधार आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad