ad ad

कारोबार


महिलालाई वित्तीय साक्षरता सिकाउँदै माछापुच्छ्रे  बैंक

महिलालाई वित्तीय साक्षरता सिकाउँदै माछापुच्छ्रे  बैंक

नेपालखबर
साउन १४, २०८० आइतबार २०:४२, पोखरा

नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार ५७‍.५९ प्रतिशत नेपाली वित्तीय रुपले साक्षर छन्।

वित्तीय ज्ञान, व्यवहार र मनोवृत्तिलाई आधार मानेर गरिएको सर्वेक्षण अनुसार पुरुषमा भन्दा महिलामा वित्तीय साक्षरता कम भएको र अनौपचारिक क्षेत्रको भन्दा औपचारिक क्षेत्रमा काम गर्नेहरु बढी साक्षर पाइएको छ।

पछिल्लो सामाजिक सञ्जालको प्रयोग बढ्दो छ। सामाजिक सञ्जालसँगको पहुँच र वित्तीय साक्षरता कम हुँदा  महिलाहरुको आर्थिक कारोबार जोखिमपूर्ण बन्दै गइरहेको छ। ठगहरुले महिलाहरुसँग साथी बन्ने र उनीहरुको वित्तीय कारोबारसम्बन्धी गोप्य सूचनाहरु हत्याएर खाताबाटै रकम झिक्ने काम पनि भइरहेका छन्।

यस्ता कुकृत्यबाट महिलाहरुलाई बचाउन तथा उनीहरुलाई वित्तीय रुपले साक्षर बनाउन माछापुच्छ्रे बैंकको सहयोगमा पोखरा उद्योग वाणिज्य संघअनतर्गतको महिला उद्यमी उपसमितिले महिला उद्यमी/व्यवसायी लक्षित वित्तीय साक्षरता अभियान संचालन गरेको छ।

आइतबार आयोजित महिलालाई सीप र बैंकिङ साक्षरता कार्यक्रममा माछापुच्छ्रे बैंकसँग आवद्ध बैकर्सहरुले वित्तीय साक्षरता महिलाको लागि झन आवश्यक भएको बताए। 

‘अहिले सामाजिक सञ्जाल प्रयोग गर्दै तपाईं/हाम्रो खाता रित्याउने गिरोह सक्रिय छ, त्यस्ता व्यक्तिले हामीलाई पनि झुक्याउन खोज्छन्,’माछापुच्छ्रे बैंककी माछापुच्छ्रे बैंककै अनुगमन इकाइ उपप्रमुख प्रतिभा पाण्डेले भनिन्,‘ तपाईंकै काजजात मागेर खाताबाट पैसा निकालिएको पनि हुनसक्छ, सचेत रहनुपर्छ।’ उनी त्यतिमै रोकिइनन्।

उनले सामाजिक सञ्जाल प्रयोग गरेर व्यवसाय प्रवर्द्धन गर्न पनि महिलाहरुलाई सुझाइन्। 

‘तपाईं फेसबुक, टिकटक, इन्स्टामा आफ्ना उत्पादनबारे जानकारी राख्न सक्नुहुन्छ, त्यहाँबाट पनि प्रवद्र्धनमा ठूलो सहयोग पुग्छ,’ उनले भनिन्। 

 सीप भएर पनि महिलाहरु उद्यमशीलतामा जोडिन नसकेको तथा व्यवसाय बिस्तारमा पनि पछि परेको उनको विचार थियो। उनले जुन प्रयोजनको लागि लिइएको कर्जा हो, त्यही प्रयोजनमा लगाउन आग्रह गरिन्।

वित्तीय साक्षरताको अभावमा धेरै महिलाहरु सूचना प्रविधिको उपयोगबाट पर रहेको बताउँदै उनले वित्तीय साक्षरता नहुँदा ठगिने जोखिम पनि उत्तिकै रहेको औंल्याइन्। आफ्ना गोप्य सूचनाहरु कसैलाई नदिन उनको आग्रह थियो। 

वित्तीय साक्षरता भनेको सामान्य भाषामा पैसाको बचत र परिचालन दुवै भएको उनको भनाइ थियो। 

सोही बैंककी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले  उद्यम गर्नको लागि  बैंक तथा वित्तीय संस्थाबाट कर्जा महिलाहरुलाई आह्वान गरिन्। 

उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी मितिप्रति सचेत रहन पनि आग्रह गरिन्।

‘केही गरौँ भन्ने भावना छ भने ऋण लिन हिच्किचाउनु हुँदैन बरु लिएको ऋणको किस्ता र ब्याज तिर्न निश्चित रकम छुट्टयाउँदै जानुपर्छ,’ उनले भनिन्,सरकारले महिलालाई सहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदान पनि दिएको छ, त्यसको पनि उपयोग गर्नुपर्छ।’ 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले वित्तीय साक्षरता पुरुष र महिला दुबैलाई आवश्यक भएको बताए। वित्तीय साक्षरताबाट महिला अझ आत्मविश्वासी बन्ने उनको भनाइ थियो। 

रााष्ट्रिय जनगणना २०७८ अनुसार  ७६.२ प्रतिशत नागरिक साक्षर हुँदा महिला साक्षरता दर ६९.४ रहेको छ । राष्ट्रिय जनगणना २३.५ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा दुबै रहेको छ भने ११.८ प्रतिशत महिलासँग घर र जग्गा दुबै छ।

६ लाख २७ हजार ८८७ घर परिवारले कृषिबाहेकको साना र घरेलु उद्योग संचालन गरिरहँदा  ४५ प्रतिशत महिला छन्। आर्थिक रुपले कुनै न कुनै काम गरिरहेको कुल १ करोड ४९ लाख ८३ हजार ३१० जनामध्ये ४७.४ प्रतिशत महिला छन्। 

माछापुच्छ्रे बैंककी आन्तरिक सेवा– सम्बन्ध प्रबन्धक बबिता भट्टले व्यवसाय गरेपछि विभिन्न प्रकारका कर र शुल्कहरु तिर्नुपर्नेबारे  सचेत रहन महिलाहरुसँग आग्रह गरिन्। 

पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी उपसमिति संयोजक तथा माछापुच्छ्रे बैंककी संचालक बन्दना कार्की केसीले महिला आत्मनिर्भर हुनु भनेको समाज र राष्ट्र समुन्नत बन्नु भएको बताइन्।

उनले पोखरा उद्योग वाणिज्य संघले वित्तीय साक्षरता र महिला उद्यमशीलता विकासमा थप कार्यक्रम आयोजना गर्ने घोषणा पनि गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .