डेढ वर्षदेखि ठप्प जस्तै रहेको अटोबजार चलायमान हुने देखिएको छ। हायर पर्चेज कर्जामा पुनरावलोकन गर्ने नेपाल राष्ट्र बैंकको घोषणापछि अटो व्यवसायीहरु उत्साहित भएका हुन्।
अटो व्यवसाय क्षेत्रमा प्रवाह हुने ऋणलाई कडाइ गर्न जोखिम भार बढाइएको थियो। जोखिम भारलाई ७५ बाट सिधै १५० प्रतिशत बनाउँदा बैंकहरुले अटो क्षेत्रमा कर्जा प्रवाह कम प्रवाह गरेका थिए।
अटो व्यवसायीले १ वर्षदेखि उक्त व्यवस्था संशोधनको माग गर्दै आएपछि राष्ट्र बैंकले लचकता अपनाउने नीति लिएको हो।
‘शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ राष्ट्र बैंकले आइतबार ल्याएको आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा उल्लेख रहेको छ।
अटो मोबाइल व्यवसायीको छाता संगठन नाडा अटो मोबाइल एशोसिएसनले पनि राष्ट्र बैंकले नयाँ नीतिमार्फत केही लचकता देखाएको जनाएको छ।
‘अहिले अटो व्यापार ठप्प हुनुमा जोखिम भार सत प्रतिशतले वृद्धिले हो,’ नाडाका अध्यक्ष ध्रुव थापाले भने, ‘उक्त व्यस्था संशोधन गर्न राष्ट्र बैंक तयार भएको छ। अहिले पूर्ण रुपमा नआए पनि जोखिम भार घट्ने विश्वासमा छौँ।’
उनले जोखिम भारलाई १०० प्रतिशतमा झार्दा बैंकहरुले कर्जा प्रवाह गर्न सक्ने बताए।
राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह बढी भएको बताउँदै जोखिम भार ७५ प्रतिशतबाट १५० पुर्याएको थियो।
अटो क्षेत्रको जोखिमभार घटाउन व्यवसायीमा माग गर्दा वैदेशिक मुद्रा सञ्चितीमा चाँप परेको लगायतका कारण केन्द्रीय बैंकले देखाउँदै आएको थियो।
अहिले वैदेशिक मुद्रा सञ्चिती बढेसँगै राष्ट्र बैंक केही खुकुलो नीति बनाउन तयार भएको हो।
नबिवल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले केही समययता तरलतामा सहजता रहेकाले राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको बताउँछन्।
‘समस्या पहिचान भइसकेको छ। तर नियामकीय व्यवस्थामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था भए केही पछि गर्ने गरी पुनरावलोकनमा जाने भन्ने वाक्यांशसहित ढाडस दिन खोजेको देखिन्छ,’ ज्ञवालीले बताए।
केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारीले जोखिम भारको विषयमा छिट्टै सर्कुलर जारी गर्ने बताएका छन्।
उनले जोखिभ भार घटाउने विषयमा सञ्चालन समितिको बैंठकमा पर्याप्त छलफल भएको बताउँदै पोलिसीमा पुनरावलोकन शब्द मात्रै राखिएको जानकारी दिए।
‘अटोलोनमा थ्रेसहोल्ड कायम गर्न खोजिएको छ,’ गभर्नर अधिकारीले भने,‘साना खालका अटोलोन र कमर्सियल गाडीमा १५० बाट घटाउन खोजेका हौँ।’
उनले २५ लाख रुपैयाँसम्मका लोन कमर्सियल गाडी र व्यक्तिगत गाडीमा परिवर्तन गर्न खोजिएको बताए। जोखिम भारमा धेरै ठूलो परिवर्तन नहुने पनि उनले बताए।
‘यसमा ठूलो परिवर्तन हुँदैन, थोरै थोरै हुन्छ,’ गभर्नर अधिकारीले भने।
त्यसबाहेक मौद्रिक नीतिमा व्यवसाय सहज बढाउन बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने उल्लेख छ। मार्गदर्शनले पनि अटो व्यवसायलाई सहज बनाउने व्यवसायीको विश्वास छ।
नाडा अटो मोबाइल्सका महासचिव सुरेन्द्र कुमार उप्रेतीले चालु पूँजी कर्जा मार्गनिर्देशिकमा पुनरावलोकन हुँदा समग्र व्यापारमा सहयोग पुग्ने बताए।
‘केही समयअघि चालु पूँजी कर्जा मार्गनिर्देशिका संशोधन भएको थियो। तर सहज हुने गरी भएको थिएन,’ उप्रेतीले भने, ‘पुनरावलोकन कसरी हुन्छ हेर्नुपर्छ। तर अब व्यवसायमा सहज हुने देखिन्छ।’
राष्ट्र बैंकले व्यवहारगत समस्या देखिएकोमा समाधान गर्ने पनि जनाएको छ।
‘कात्तिक १ गतेसम्म चालु पूँजी कर्जा निर्देशिका लागु रहेको छ,’ गभर्नर अधिकारीले भने, ‘अहिलेसम्म भेरिएसन लगायत व्यवहारगत समस्या देखिएका छन्। यसलाई पुनरावलोकन गर्छौं।’
अटो व्यवसायीले लोन रेसियोमा परिवर्तन माग गरे पनि राष्ट्रबैंक लचक हुन सकेको छैन।
हाल डिजेल–पेट्रोलका गाडीमा मूल्यको ५० प्रतिशत मात्रै रेसियो छ। व्यवसायीहरुले ७० प्रतिशतसम्म मागेका थिए। तर केन्द्रीय बैंकले यसमा पुनरावलोकन गरेको छैन।
Shares
प्रतिक्रिया