कारोबार


असहायको सेवा र करोडौँको व्यापार सँगसँगै गरिरहेकी विमला

असहायको सेवा र करोडौँको व्यापार सँगसँगै गरिरहेकी विमला

उद्यमसँगै सामाजिक काममा पनि सक्रिय विमला श्रेष्ठ। तस्बिर : सरोज नेपाल


सम्झना घिमिरे
साउन ८, २०८० सोमबार ७:३६, काठमाडौँ

चिल्लो सडकवरिपरि भव्य घरहरु। बाटैसम्म सुनिने गरी बजिरहेका अंग्रेजी, हिन्दी गीत। हरेक दिन झम्सिखेलका सडकहरु यसैगरी गुञ्जिरहेका हुन्छन्।

सुग्घर यी सडकमा केहीबेर हिँडेपछि कालो रङ पोतिएको एउटा भवनमा पुगिन्छ। जहाँबाट फरक आवाज आइरहेको छ। कोही हाँसिरहेको, छिन्छिन् चुरा बजिरहेको अनि कोही खटखट किबोर्ड थिचिरहेको।

बाहिर लेखिएको छ- हाइअर ग्राउन्ड बेकरी। भित्र पस्दै गर्दा केकमा नाम लेखिरहेकी भेटिन्छिन् ओखलढुंगाकी रिता राई। 

उनलाई ठ्याक्कै के लेखिरहेकी छु भन्ने थाहा छैन। अंग्रेजी को एबीसी पनि नजान्ने उनी अक्षर भने सुन्दर तरिकाले लेखिरहेकी छन्। अझ भित्र पस्दा १८/१९ वर्षका जस्ता देखिने दुई किशोरी बिस्कुट सजाइरहेका भेटिन्छन्। त्यहाँबाट पनि भित्र चारपाँच जनाको झुण्ड छ। उनीहरुमध्ये कोही मेसिन चलाइरहेका छन् त कोही सियोधागो।

यहीँ मेन्टल हेल्थ क्याफे सञ्चालन गर्ने मनोचिकित्सक निकिस थापा न्यौपाने क्याफेका कुजिनहरु बनाउन व्यस्त देखिन्छिन्। उनका कुजिनमा बिस्कुट, केक वा अरु केही खानेकुरा छैनन्। उनी त कसरी हसाउँने, कसरी मनका कुरा क्राफ्टमा सजाउने भन्ने कुराको खोजीमा हुन्छिन्। 

निकिस थापा न्यौपाने

कफीसप, रेस्क्युहोम, क्राफ्ट निर्माण गर्ने कारखाना र बेकरी यी सबैको संयोजन हो हाइअर ग्राउन्ड। 

‘विभिन्न समस्यामा रहेका व्यक्तिहरुलाई उद्यमी बनाउछौँ, उद्धारसँगै उद्यमी हाम्रो व्यवसायको मूलमन्त्र नै हो,’ १६ वर्षदेखि हाइअर ग्राउन्ड सञ्चालन गरिरहेकी सञ्चालक विमला श्रेष्ठ प्रष्ट्याउँछिन्, ‘यसलाई सामाजिक उद्यम भनिन्छ। जहाँ तपाईं बस्ने घरदेखि भविष्यका लागि सीपसम्म एकै छतमा भेट्नुहुन्छ। नाफाघाटा र सेवाको सम्मिश्रण नै हाइअर ग्राउन्ड हो।’ 

नेपालमा समाजिक उद्यमशीलताको प्रयोग फाट्टफुट्ट मात्रै भइरहँदा विमला गएको डेढ दशकदेखि यसको सफल प्रयोग गरिरहेकी छिन्। 

मानव बेचबिखनमा परेकादेखि गृहस्थी सम्हाल्दासम्हाल्दै मानसिक समस्यामा परेका व्यक्तिहरुलाई विमला उनीहरुको चाहनाअनुसार क्राफ्ट, सिलाइकटाइ, बरिस्टा लगायतका तालिम दिन्छिन्।

झण्डै डेढ दशकमा विमलाले हाइअर ग्राउन्ड मार्फत १ सय ५० जनाभन्दा बढी महिलालालाई तालिम दिइसकेकी छिन्। सेवासँगै व्यवसाय गर्नुपर्ने अडान राख्ने विमला पैसा दिएर वा क्षणिक समस्या समाधान गरिदिएर समाजको समृद्धि नहुने धारणा राख्छिन्। 

‘हामीले पैसा दिएर क्षणिक समस्या समाधान गर्न सके पनि उनीहरुको उत्थान गर्न सकिँदैन भनेरै सीप र व्यवसाय गर्ने तरिका पनि सिकाइरहेका छौँ।’  

हाइअर ग्राउन्डले प्रशासनिक कामसँगै सीपमूलक कामहरुको पनि प्रशिक्षण दिँदै आएको छ। रिता पनि हाइअर ग्राउन्डकै उपलब्धि हुन्। उनीजस्तै विभिन्न खालका यातनाबाट प्रताडित व्यक्तिहरुले नै हाइअर ग्राउन्डका उत्पादन बजारीकरण र प्रशासनिक काम सम्हाल्दै आएका छन्। 

पूर्ण रुपमा उद्धारकर्ता नभएको कारण आफूहरु पीडित, असहाय व्यक्तिहरुको उत्थानको ट्रान्जिट प्वाइन्ट मात्रै भएको विमलाको भनाइ छ। विमलाले उद्धार गरिएका वा असहाय अवस्थामा भेटिएका व्यक्तिहरुलाई भने हाइअर ग्राउन्डकै जडिबुटीमा रहेको घरमा राखेर सीपमूलक तालिम दिँदै आएकी छिन्। 

सेवा र व्यवसायको फ्युजनले विमलालाई वार्षिक डेढ करोडको नाफा गराउँदै आएको छ। 

‘हामीकहाँ व्यवसायी हुन टन्नै पैसा हुनैपर्छ, पढेको हुनुपर्छ भन्ने गलत भाष्य सिर्जना भइरहेको छ। थोरै लगानीमा सामाजसेवासँगै व्यवसाय पनि गर्न सकिन्छ भन्ने उदाहरण बन्ने कोसिस गरिरहेकी छु,’ उनी भन्छिन्। 

त्यसो त उद्धार गरिएका र थप अन्य गरी ३० जना कर्मचारीबाट विमलाले तीन वटा घरमा उद्योग सञ्चालन गरिरहेकी छिन्। कर्मचारीले तलबसँगै आवास पनि पाउँछन्। 

आवश्यक व्यक्तिहरुलाई सक्षम नहुुन्जेलसम्मका लागि खानेबस्ने समेतको व्यवस्था छ। 

केन्याको यात्राले फेरिदियो जीवन
डाक्टरी पढ्न १९९५ सालमा अमेरिका हानिएकी विमलासँग फर्किंदा डाक्टरको उपाधि थिएन। उनी त सियोधागो चलाएर उद्यमी बन्ने बलियो अठोट लिएर फर्किइन्। 

‘डाक्टरी मेरो पहिलो रोजाइ थियो, सेवा गर्न पनि पाइने, पैसा पनि कमाइने,’ उनी सुनाउँछिन्।

तर पढाइको सिलसिलामा केन्या पुगेकी उनले डाक्टर बन्ने सपना त्यहीँ छाडिदिइन्।

‘सेवा गर्न डाक्टर नै पढ्नुपर्छ भन्ने गलत रहेछ, लोकल प्रडक्ट उत्पादन र बजारीकरण गरेर पनि व्यवसाय र सेवा दुवै गर्न सकिने रहेछ,’ उनी भन्छिन्।

सन १९९७ विमला केन्या पुग्दा त्यहाँ भोकमरी थियो, अभावका बीच पनि उनीहरु नाचिरहेका, हाँसिरहेका देखिन्थे। उनी अचम्मित हुन्थिन्, पढाइ छैन, जागिर छैन, त्यही पनि किन यति खुसी मानिसहरु? 

‘मलाई उनीहरुले बुनिरहेको बास्केट जस्ता सामानहरु त्यति महत्वका लागेका थिएनन्। पछि थाह पाएँ, उनीहरुको त आय आर्जनको बलियो स्रोत त्यही बास्केटहरु नै रहेछ,’ उनले सुनाइन्, ‘शिक्षा र लगानी दुवै नहुँदा पनि कमाउन सकिने रैछ।’

केन्याले उनलाई व्यवसायको बाटो देखायो। तर, डाक्टर बन्न गएकी छोरी सियोधागो चलाउन नेपाल फर्किने कुरा न परिवारलाई पाच्य थियो, न त उनलाई पढाउने प्रोफेसरलाई नै। 

पढाइ सकिन २ वर्ष बाँकी भए पनि विमलामा पर्खिने धैर्य थिएन। उनी सन् २००४ मा केन्याले सिकाएका सामाजिक उद्यमशीलताको ज्ञान र सीप बोकेर नेपाल फर्किइन्। 

समृद्धिको बाधक नगद
नेपाल फर्किएपछि स्थानीय दुई महिलालाई आफैँले सिकाएर सुरु गरेको उनको हाइअर ग्राउन्ड क्याफेले डेढ दशक बिताइसकेको छ। दुई जनाबाट अहिले कर्मचारी संख्या ३० पुर्‍याइसकेकी छन् भने कारोबार कारोडमाथि पुर्याइसकेकी छिन्। 

सामाजिक उद्यम नेपाली समाजलाई समृद्धि तर्फ डोर्याउने माध्यम भएको उनको भनाइ छ। उनी त नगदलाई समृद्धिको बाधक मान्छिन्। 

‘कसैको समृद्धिको चाहनुहुन्छ भने उसलाई नगद नदिनुस्,’ उनी भन्छिन्, ‘नगदले क्षणिक समस्या समाधान गरे पनि समृद्ध बनाउन सक्दैन रहेछ। सीप दिनुपर्ने रहेछ।’ 

तस्बिरहरु : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .