कारोबार


पाँच वर्षदेखि रोकिएको ४० मेगावाटको राहुघाट आयोजना सञ्चालनमा

पाँच वर्षदेखि रोकिएको ४० मेगावाटको राहुघाट आयोजना  सञ्चालनमा

नेपालखबर
असार १३, २०७६ शुक्रबार ७:११,

 ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ।

नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आर्इभीआरसीएल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो। पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम यसै हप्तादेखि सञ्चालन भएको जानकारी दिए।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा सकिनुपर्ने थियो । विसं २०७२ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलबाट आयोजनालाई अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ।

ठेकेदार कम्पनीले सबै तयारी सकेर सुरुङ निर्माण शुरु गरेको जानकारी दिँदै प्रबन्ध सञ्चालक केसीले कार्यतालीका बनाएर कामलाई तीव्रता दिने बताए। विसं २०७४ मङ्सिर ५ मा रु ६ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सले २०७५ जेठ १० गते कार्यादेश पाएको थियो।

कम्पनीका सहायक निर्देशक गोपाल पाठकले पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्तीलगायतका पूर्व तयारी गरेको बताए। घुमाउने तालदेखि झिँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगेको जानकारी दिए।

बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको छ। निर्माण सामग्रीको आपूर्तिका लागि चमेरेमा क्रसर र पिप्लेमा बेचिङ प्लान्ट बनाएको छ।

विद्युत् गृह निर्माण हुने तिल्नेनीको अडिट नं ४ बाट पनि छिट्टै सुरुङ खन्ने तयारी भएको ठेकेदार कम्पनीका इञ्जिनियर आरके श्रीवास्तवले बताए। भौगोलिक विकटता, मौसमी प्रतिकूलता र पहिरोको समस्याले अँधेरीखोलाको २ नम्बर र बाँधको १ नम्बर अडिटको सुरुङ खन्ने काम भने बर्खापछि शुरु गरिने उनले बताए।

आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ। पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको आयोजनाले वनसम्बन्धी सबै प्रक्रिया पूरा गरेको छ।

इलेक्ट्री मेकानिकल ठेक्काका लागि परेका तीन प्रस्तावको प्राविधिक मूल्यांकन गरी स्वीकृतिका लागि ऋण लगानीकर्ता एक्जिम बैंकलाई पठाइएको छ। वित्तीय प्रस्ताव खोलेर मूल्यांकनको क्रममा रहेको उपनिर्देशक पवन बस्नेतले बताए।

इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा निर्माण हुन लागेको आयोजनाले गत चैत १८ गते प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको थियो। भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु आठ अर्ब ५९ करोड अनुमान गरिएको छ।

अर्ध जलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। रघुगंगालगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् प्राधिकरणले खुर्कोट दाना प्रसारण लाइनका साथै राहुघाटमा सवस्टेशन बनाउन जग्गा अधिग्रहण गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad