ad ad

कारोबार


नेपाल कृषिप्रधान देश भएकैले ५ महिना नाकाबन्दी हुँदा पनि टिक्यो : ओली

नेपाल कृषिप्रधान देश भएकैले ५ महिना नाकाबन्दी हुँदा पनि टिक्यो : ओली

चितवनमा कार्यक्रमलाई सम्बोधन गर्दै ओली।


नेपालखबर
असार १५, २०८० शुक्रबार ९:४३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण पाँच÷पाँच महिना नाकाबन्दी लाग्दा पनि टिक्न सकेको बताएका छन्। 

२०औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार बिहान चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले खानपुग्ने अन्न देशमै उत्पादन हुने भएकाले नाकाबन्दीमा पनि हामी झुक्न नपरेको दाबी गरेका हुन्।   

‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो, पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ। हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ। सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध’, ओलीले भने, ‘त्यसो भएको हुनाले हामीलाई त्यस नाकाबन्दीले पनि गलाउन सकेन।’

२०७२ साल असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेलगत्तै भारतले असोज ६ गतेदेखि अघोषित नाकाबन्दी लगाएको थियो। जतिबेला ओली नै प्रधानमन्त्री थिए। 

कृषिबारे ओलीको पूरा भनाइ यस्तो छ
हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो, पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ। हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ। सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध। त्यसो भएको हुनाले हामीलाई त्यस नाकाबन्दीले पनि गलाउन सकेन। हामीले के बुझ्नुपर्छ भने हाम्रो देश कृषिमा आत्मनिर्भर भयो भने अरू क्षेत्रमा आत्मनिर्भरता बढ्छ। कृषिमा आत्मनिर्भर भयो भने आधुनिकीकरण भयो भने कृषि आधारित उद्योगहरू चल्छन्। प्याकेजिङका कुराहरू, बोटलिङका कुराहरू। अथवा यसलाई रूपान्तरण गरेर बिक्री गर्ने कुराहरू। कुनै पनि कुरा गल्लीमा फ्याँक्नुपर्ने हुँदैन। कहिले कहिले हामीले दूध फ्याँकेको देख्छौँ बिक्री भएन भनेर। त्यसलाई चिजमा परिणत गर्दिने हो भने ठूलो कुरै छैन त्यो, आज बिकेन भने दुईचार दिनमा बिक्छ। चिजमा परिणत गर्ने खालि प्रविधि हामीसँग हुनुपर्‍यो। वा आज हामीले हाम्रो उत्पादनलाई, हाम्रा कृषिलाई र अरू कुनै पनि उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी छ। र, उत्पादन र उत्पादकत्व वृद्धि र, उत्पादनको रूपान्तरण त्यसको स्थायित्व जस्ता कुराहरूमा ध्यान दिन जरुरी छ। यसले कृषितर्फको हाम्रो आकर्षण पनि बढाउँछ। कृषि उपजलाई जीविकामुखी मात्र होइन, आम्दानीमुखी बनाउँछ। आम्दानी त्यसबाट हुनसक्छ। यसर्थ कृषिको महत्त्वलाई आजको दिनमा हामीले सबैले बुझ्न जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .