कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि लागिपरेको बताएका छन्।
संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको र सोहीअनुसारको लगानीसमेत भएको बताउँदै अब परम्परागत कृषि प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे। रुपन्देहीको सियारीमा बुधबारबाट सुरु भएको मत्स्य, कृषि तथा माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले सो कुरा बताएका हुन्।
‘कृषि क्षेत्रमा समस्यै समस्या छन्। वितेका २० वर्षमा धेरै काम भए। अब बाँकी अधुरा कामलाई निर्मूल पारी कृषिको आधुनिक तरिकाले विकास गर्न जरुरी छ। यसतर्फ प्रदेश र स्थानीय तहसँग समन्वय गरी मन्त्रालयले काम अघि बढाउँछ’, उनले भने। कृषिको विकास गर्न भन्दै अहिलेसम्म कानुनमा धेरै कुरा परिवर्तन गरिए पनि व्यवहारिक रुपमा भने ठोस काम गर्न बाँकी रहेको उनको भनाई छ।
परम्परागत कृषि प्रणालीबाट किसानलाई माथि उठाई आधुनिक कृषि प्रणालीमा जोडेर व्यवसायिक बनाउन सकेमात्रै कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिने मन्त्री भुसालले बताए। मन्त्रालयले त्यसतर्फ विशेष योजना बनाएर काम गर्ने उनले बताए। मन्त्री भुसालले अब मुलुकको कार्यभार भनेकै आर्थिक विकास रहको बताए।
आर्थिक रुपमा क्रान्ती गर्न बाँकी रहेको भन्दै उनले आर्थिक विकासको विकल्प नभएको जनाए। ‘अबको अभियान नै आर्थिक विकासको अभियान हो। जनतामा तीव्र विकासको अपेक्षा छ। सोहीअनुसार हामी अघि बढ्नुपर्छ। छोटो समयमा नै धेरै काम गर्न सक्नुपर्छ। त्यो अहिलेको आवश्यकता हो’, उनले भने।
उनले संविधान निर्माण भइसकेकाले अब जनताका मौलिक हकहरुलाई कार्यान्वयन गर्दै समृद्धितर्फ उन्मुख हुनु नै मुख्य विकल्प भएको जनाए। मन्त्री भुसालले राजा र जनताका वीचमा रहेको लामो समयदेखिको अन्तरसंघर्ष अन्त्य भएको भन्दै राजनीतिक अस्थिरता सकिएको बताए। उनले अब मुलुक हरेक दृष्टिकोणबाट आर्थिक विकासका लागि तयार भएको बताउँदै यसमा सबैको साथ, सहयोग आवश्यक रहेको जनाए। उनले विगतमा एकआपसमा भाइभाइ तोड्न, फुटाउनका लागि विभिन्न जाती जनजातीका वीचमा अनेक प्रयत्न भएको भन्दै अब यसो कहिल्यै नहुने जिकिर गरे।
मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले कृषि क्षेत्रको विकास, प्रबद्र्धन र बजारी करणका लागि महोत्सवको आयोजना गरिएको जनाए। उनले सियारी मुलुककै मत्स्य हब भएको बताउँदै यहाँको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताए।
पाँच दिनसम्म चल्ने मत्स्य महोत्सवमा कृषि उत्पादन र प्रबिधि सम्बन्धी प्रदर्शनी, स्थानीय खानाका परिकार, माछाका परिकार, कृषि यन्त्रहरु, साना पोखरी, माछा, माछाका दाना लगायतका ४५ ओट स्टल छन्। महोत्सवले नेपाली बजारमा यहाँका माछाको बजारीकरण थप टेवा पुग्ने विश्वास लिइएको छ। यहाँको दुई सय २५ हेक्टर क्षेत्रफलको एक हजार पाँच सय पोखरीमा माछा पालन हुँदै आएको छ। करिब ६ सय किसान व्यवसाययिक माछापालनमा लागेका छन्।
Shares
प्रतिक्रिया