माघे संक्रान्तिको अवसरमा आज नुवाकोट, रसुवा र धादिङका विभिन्न स्थानमा गोरु जुधाइ मेला आयोजना गरिएको छ। नुवाकोटको तारुकामा भएको गोरु जुधाइ हेर्न नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, नेकपाका सांसद नारायण खतिवडालगायतका नेताहरु समेत पुगेका थिए।
आज तारुकामा २१ हल गोरु जुधाउने कार्यक्रम भए पनि नभ्याए भोलिसमेत जुधाइनेछ। राससका अनुसार नुवाकोट र धादिङमा मात्र ६५ हल गोरु जुधाइएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, वेत्रावती, पञ्चकन्या गापा, पिपलडाँडा, लिखु, तादी, शिवपुरी शेराबगरलगायतका स्थानमा गोरु जुधाइएको हो।
तारुकाको चन्दनीमा गोरु जुधाइ हेर्न महामन्त्री कोइराला नुवाकोट पुगेका हुन्। साथसाथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।
विसं २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाइएको हो।
प्रतिक्रिया