कारोबार


गुट्खाको अवैध व्यापारः भन्सार राजश्व प्रभावित

गुट्खाको अवैध व्यापारः भन्सार राजश्व प्रभावित

वीरेन्द्र कर्ण
असार १२, २०७६ बिहिबार १४:५२,

गुट्खाको अवैध व्यपारका कारण सरकारले वार्षिक करोडौं रुपैयाँको राजस्व गुमाउँदै आएको छ।

प्रहरीले वीरगञ्जको माईस्थानस्थित गौतम चौरसियाको घरमा छापामारी रु तीन लाख मूल्य बराबरको गुट्खा बरामद गरेपछि यसको अवैध व्यापार हुने गरेको रहस्य सार्वजनिक भएको हो।

भन्सारबाट राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको बारे वीरगञ्ज भन्सार कार्यालयमा कुनै अभिलेख छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारतमा निर्मित विभिन्न प्रकारका गुट्खा खुलेआम बिक्री वितरण भइरहेको छ। ती गुट्खा भारतबाट अवैधरुपमा तस्करी भई नेपाली बजारमा आउने गरेका छन्।

नेपाली बजारभन्दा भारतीय बजारमा रजनिगन्धा, तुलसी, राजनिवास, राजश्रीजस्ता गुट्खा सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी भई वीरगञ्ज बजारमा भित्रिने गरेको छ। सीमावर्ती भारतको रक्सौल बजारबाट रातको समयमा तस्करले त्यस्ता महँगो गुट्खा भन्सार नाका छपकैया तथा ग्रामीण क्षेत्रका नाकाबाट दैनिक रुपमा करीब रु २० देखि २५ लाख मूल्य बराबरको गुट्खा भित्र्याउने गरेको छ।

सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिम्मेवार व्यक्तिलाई आफ्नो पक्षमा पारेर महीनावारी रकम दिने गरेको र रातको समयमा व्यापक मात्रामा रजनिगन्धा, तुलसी, राजनिवास, राजश्रीलगायतका गुट्खा भित्र्याउने गरेको यस कार्यमा संलग्न एक तस्करले नाम उल्लेख नगरी दिने सर्तमा राससलाई बताएका छन्।

घुमन्ते प्रहरीको रुपमा रहेको घुमुवा प्रहरीलाई समेत प्रतिमहीना रु पाँच हजारदेखि १० हजारसम्म नजरना दिने गरेको आरोपको तस्करको छ। तर पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता अन्नतराम शर्माले यो आरोप झूठो रहेको बताए। ‘मलाई विश्वास लाग्दैन कि प्रहरीले पैसा खान्छ। भारतबाट रजनिगन्धालगायतका गुट्खा आउन त आउँछन् तर कुन बाटोबाट आउँछन् आफूलाई थाहा हुँदैन। फेला परेपछि हामीले समातेका नै छौँ र यस्ता अवैध कारोवारलाई रोक्ने काम भइरहेको छ’, उनले भने।

आर्थिक अध्यादेश २०७६ ले पानपसला, गुट्खा, खैनी, सुर्ती तथा सुर्तीजन्य पदार्थमा ४० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ। सोही अध्यादेशले किलोको हिसाबमा सुर्तीजन्य पदार्थमा प्रतिकिलो रु ६१० भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ। चोरी पैठारी भई बढी मात्रामा यस्ता गुट्खा आउने गरेकाले भन्सार राजश्व प्रभावित भएको भन्दै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिसकुमार महतोले अनुगमन गर्ने निकायको उदासीनताका कारण सरकारले वर्षेनी करोडौं रुपैयाँ राजश्व गुमाउँदै आएको बताए।

अहिले बजारमा रजनिगन्धा तुलसी प्रति एक सेट रु ४५ सम्ममा नेपाली बजारमा पाउने गरिन्छ तर भन्सार शुल्क तिरेर भित्रियाइयो भने त्यसको मूल्य दोब्बर पर्न जाने बताउँदै माईस्थानका एक थोक व्यापारीले भने, ‘त्यस कारण हामीले तस्करी गर्ने कुरियरमार्फत ती समान मगाउने गरेका छौँ।’ यस्ता समान बिक्री गर्न वीरगञ्ज क्षेत्रमा करीब १०० भन्दा बढी पसल रहेका छन्। वार्षिक रु ५० करोडभन्दा बढीको अवैध व्यापार हुने यस्ता सुर्तीजन्य पदार्थ खास गरी इनर्वा, छपकैया, सिर्सिया, अलौँ नाकाको बाटो तथा ग्रामीण नाकाको बाटो गरी आउने गरेका छन्।

भारतीय बजारबाट चोरी पैठारी गरी विशेषतः थोक व्यापारी भएको वीरगञ्जको पानमण्डी, माईस्थान, घोडाबजार, पुरानो पानमण्डीलगायतका ठाउँमा कुरियरवालाले भारतको रक्सौलबाट ल्याई पु¥याउने गर्दछ। पानमसलासँग विभिन्न किसिमका आर्कषक प्याकिङ भएका विभिन्न नामका गुट्खा तस्करीको बाटो भई अवैधरुपमा भित्रिने र यसको सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको चिकित्सकहरु बताउँछन्।

यस्ता गुट्खा वीरगञ्जबाट बाहिर जाने रात्रिबस तथा विभिन्न सवारी साधनमा लुकाइछिपाइ विभिन्न शहर बजारमा तस्करले पठाउने गरेको देखिन्छ। अत्यधिक गुट्खा र सुर्तीजन्य पदार्थको सेवनले शारीरिक तौल कम हुने, पेट, फोक्सो, घाँटी र मुखमा प्रत्यक्ष असर पर्ने कुरा विभिन्न परीक्षणबाट समेत प्रमाणित भइसकेकाले यसबाट टाढा नै बस्नु उपयुक्त हुने नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका चिकित्सकहरुले भने, ‘यस्ता सुर्तीजन्य पदार्थको सेवनले मुखमा क्यान्सर, मुख बन्द हुने, दाँत गिजामा रोग लाग्ने भएकाले यसलाई सेवन नगर्नु नै राम्रो हो।’

अहिले स्थानीय बजारमा रजनिगन्धा, तुलसी, राजनिवास, भोला, राजश्री, शिखर, पराग, मधुलगायतका विभिन्न नाम गरेका गुट्खा प्रयोगमा छन्। सुर्तीजन्य पदार्थ र जर्दाको मिश्रण गरी बनाइने हुँदा यसका सेवनकर्तालाई क्यान्सर हुने बढी सम्भावना रहन्छ भने यसमा अति सुगन्धित र विषादी तत्व हाइड्रोकार्बन, नाइट्रोजेमिन र विभिन्न किसिमका नासालु रासायनिक पदार्थको सम्मिश्रण गरीे उपभोक्तासम्म पु¥याउने गरेको पाईन्छ।

कुरियरवाला, ह्विलचेयरमा आउने अपाङ्गता भएका व्यक्ति भारतबाट यस्ता गुट्खा ल्याउने गरेको र यहाँबाट सो गुट्खा सरकारी नम्बर प्लेटको गाडीमा तथा अन्य माध्यमबाट तस्करी भई काठमाडौँसम्म जाने गरेको एक व्यापारीले भने। तस्करी भई आउने यस्ता गुट्खा बेच्ने व्यापारी कहाँ आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसधान विभाग तथा सम्बन्धित निकायले छापा नमार्दा तस्कर र व्यापारीको मनोबल बढन गएको छ भने अर्कोतिर यस्ता हानिकारक तत्व प्रयोग नगर्नेबारे स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुन नसकेको देखिएको छ। यसरी स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गुट्खाको बिक्री वितरणमा समेत प्रतिबन्ध लगाउनुपर्ने माग वीरगञ्जवासीको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad