ad ad

कारोबार


२१ वाणिज्य बैंक : प्राथमिकताका क्षेत्रमा साढे २९ प्रतिशत मात्रै लगानी

२१ वाणिज्य बैंक : प्राथमिकताका क्षेत्रमा साढे २९ प्रतिशत मात्रै लगानी

२०७९ चैत मसान्तसम्म २१ वटा वाणिज्य बैंकको यस्तो प्राथमिकता प्राप्त क्षेत्रको लगानी जम्मा २९.५१ प्रतिशत मात्र पुगेको छ


केशर बोगटी
जेठ १९, २०८० शुक्रबार १९:२५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनअनुसार २०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तीमा ४० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने थियो।

किटान गरिएको कृषि, ऊर्जा तथा जलस्रोत र साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकले कूल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी गर्नुपर्छ। तर, २०७९ चैत मसान्तसम्म २१ वटा वाणिज्य बैंकको यस्तो प्राथमिकता प्राप्त क्षेत्रको लगानी जम्मा २९.५१ प्रतिशत मात्र पुगेको छ।

नेपाल राष्ट्र बैंकले अडिट गरेको ९ महिनाको रिपोर्ट अनुसार २१ वटा वाणिज्य बैंहरुकले कूल ४३ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपैयाँ कर्जा लगानी गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा १२ खर्ब ७२ अर्ब ४१ लाख रुपैयाँ बराबरको मात्रै भएको हो। 

यस्तो लगानी कृषि क्षेत्रमा अधिकतम १३.०९ प्रतिशतले भएको छ भने ऊर्जा तथा जलस्रोलको क्षेत्रमा ६.५७ प्रतिशत र साना तथा मझौला उद्यम व्यवसायको क्षेत्रमा सरदर ९.८५ प्रतिशत लगानी भएको छ। 

केन्द्रीय बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले २०८० असार मसान्तसम्ममा कूल प्रवाहित कर्जाको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। 

यसैगरी, ऊर्जा क्षेत्रमा सन् २०८१ सम्ममा न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्नेछ भने लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १५ प्रतिशत (९१ करोड रुपैयाँभन्दा कम रकमका कर्जा) प्रवाह गर्नुपर्ने व्यवस्था छ। 

तोकिएको क्षेत्रमा कुनको कति लगानी?
राष्ट्र बैंकले अडिटपछि सार्वजनिक गरेको तथ्याकंअनुसार ७ वटा वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा प्रभावित कर्जाको हिस्सा ३० प्रतिशतमाथि गरेको देखिन्छ। 

सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले कूल कर्जा लगानीको क्रमशः ३८.१४ प्रतिशत, ६२.०९ प्रतिशत र ३८.७१ प्रतिशत कर्जा तोकिएको क्षेत्रमा गरेका छन्। 

चैत मसान्तसम्म यी बैंकले क्रमशः कूल १ खर्ब ८१ अर्ब ७६ करोड १ लाख, १ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ र २ खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। 

जसमध्ये कृषि क्षेत्रमा कृषि विकास बैंकले सबैभन्दा बढी ३०.८७ प्रतिशत लगानी गरेको छ। 

यस्तै, प्राथमिकता प्राप्त क्षेत्रमा कूल लगानीको ३३.३२ प्रतिशत लगानी गरेको एसबीआई बैंकले कृषि क्षेत्रमा १९.४४ प्रतिशत, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा ६.९३ प्रतिशत र साना तथा मझौला व्यवसायको क्षेत्रमा ६.९५ प्रतिशत कर्जा लगानी गरेको छ। 

३१.२९ प्रतिशत तोकिएको क्षेत्रमा कर्जा प्रवाह गरेको कुमारी बैंकले कृषिमा १२.०३ प्रतिशत, उर्जा तथा जलस्रोतको क्षेत्रमा ७.९६ प्रतिशत र साना तथा मझौला व्यवसायका क्षेत्रमा ११.३० प्रतिशत कर्जा लगानी गरेको छ। 

यस्तै, सिटिजन्स बैंकले कूल कर्जाको १२.०५ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेकोमा ७.१७ प्रतिशत उर्जाको क्षेत्रमा र ११ प्रतिशत साना तथा मझौला व्यवसायको क्षेत्रमा लगानी गरेको छ। 

सनराइज बैंक र एनएमबी बैंकले क्रमशः ३३.०९ प्रतिशत र ३१.९९ प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेकोमा कृषितर्फ १३.२८ प्रतिशत र ११.५० प्रतिशत, उर्जाको क्षेत्रमा ८.६७ प्रतिशत र ९.४७ प्रतिशत, साना तथा मझौला व्यवसायको क्षेत्रमा ११.१४ प्रतिशत र ११.०२ प्रतिशत कर्जा लगानी गरेका छन्। 

अन्य १४ वटा वाणिज्य बैंकहरूले भने यस्तो प्राथमिकता प्राप्त (तोकिएको क्षेत्रमा) ३० प्रतिशत तल कर्जा लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .