ad ad

कारोबार


एकै वर्ष १० अर्ब लागतका ४ केबलकार सञ्चालन हुँदै

चन्द्रागिरि र कालिन्चोकको नाफा देखेर हौसिए लगानीकर्ता
एकै वर्ष १० अर्ब लागतका ४ केबलकार सञ्चालन हुँदै

मौलकाली केबलकार


वसन्त अर्याल
जेठ १०, २०८० बुधबार १६:१७, काठमाडौँ

एकै वर्ष चार वटा केबलकार सञ्चालनमा आउने भएका छन्। २०८० मा करिब साढे १० अर्ब लगानीका रिसोर्ट सहितका केबलकार सञ्चालन हुँदैछन्। 

आईएमई ग्रुपका मात्रै दुई वटा केबलकार सञ्चालन हुँदैछन्। यो केबलकारमा सबैभन्दा बढी लगानी गर्ने ग्रुप हो। सात वटै प्रदेशका केवलबार सञ्चालन गर्ने लक्ष्य राखेको आईएमईले पूर्वमा अर्को केबलकार निर्माण गर्दै छ। 

आईएमई ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा.लि. जेठमै सञ्चालनमा ल्याउने तयारीमा छ। रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुरसम्म केबलकार निर्माण भएको छ। यसको प्राविधिक परीक्षण सुरु भइसकेको छ।

केबलकारको लम्बाइ २.६ किलोमिटर छ। जसमा २५ वटा गोन्डला छन्। प्रतिघण्टा ६०० जनाले यात्रा गर्न सक्नेछन्। ५ अर्ब लगानीमा केबलकार, क्यासिनो सहितको पाँचतारे होटल, कामख्यादेवीको मन्दिर, रेस्टुरेन्ट तथा बार र पार्क निर्माण हुने कम्पनीका व्यवस्थापक गोकुल साउदले बताए।  

आईएमई ग्रुपकै मुख्य लगानीमा मौलाकाली केबलकार प्रा.लि. वैशाख २८ गते सञ्चालनमा आएको छ। नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केबलकार प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले उद्घाटन गरे। 

गैंडाकोटबाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटरमा १२ वटा गोन्डला छन्। केबलकारको माथिल्लो स्टेसनमा ६० कोठा सहितको होटल, ब्यांक्वेट र रेस्टुरेन्ट खोलिएको छ। करिब २ अर्ब रुपैयाँ लगानी भएको कम्पनीले उल्लेख गरेको छ।
 
बुटवलमै सिद्धार्थ केबलकार निर्माण भइरहेको छ। करिब १ अर्ब लागतमा बनेको यो केबलकार बुटवल, देउराली डाँडा हुँदै पाल्पाको नुवाकोटमा पुग्ने छ।  नुवाकोट धार्मिक र ऐतिहासिक क्षेत्र हो। केबलकार करिब २ किलोमिटर लामो दुरीमा रहने छ। केबलकार निर्माण अन्तिम चरणमा पुगेको छ। मुख्यतः रुपन्देहीका व्यवसायीकै लगानी रहेको केबलकारका अध्यक्ष राजेन्द्रसिंह गुरुङ हुन्। 

पोखराको केबल कार

बन्दीपुरमा पाँचतारे होटल सहितको केबलकार 
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तनहुँको बन्दीपुरमा रिसोर्ट सहितको केबलकार निर्माण गरिरहेको छ।

यो कम्पनी २०७९ भदौ २७ मा उद्योग विभागका दर्ता भएको थियो। ८६ करोड कुल पुँजी भएको कम्पनीले ९७ बेडको होटल र २५० सिटको रेस्टुरेन्ट निर्माण गरिरहेको छ। कम्पनीले दुई चरणमा आयोजना निर्माण गरिरहेको छ। 

पहिलो चरणमा केबलकार निर्माण, रेस्टुरेन्ट, होटलको भवन तयार पारिने छ भने दोस्रो चरणमा केबलकारको टप स्टेसनमा पाँचतारे होटल निर्माण गर्ने योजना छ। केबलकार निर्माण अन्तिम चरणमा छ। दोस्रो चरणको निर्माण आगामी पुससम्म सक्ने योजना छ। 

सुरुमा कम्पनीको अनुमानित लागत १ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। बन्दीपुर केबलकारमा ५ वटा संस्थासँगै व्यक्तिको लगानी छ। बन्दीपुर गाउँपालिकाको समेत आयोजनामा लगानी छ। कम्पनीको अध्यक्ष रामचन्द्र शर्मा हुन्।

पर्यटक आकर्षण गर्ने लक्ष्य राखिएको केबलकारबाट माथि पुगेपछि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गणेश र लाङटाङ हिमालय रेन्ज अवलोकन गर्न सकिन्छ। 

केबलकारको नाफाले तान्दै छ लगानी 
चन्द्रागिरि हिल्सले चालू आर्थिक वर्षको ९ महिनामा ६० करोड आम्दानी गर्‍यो। कम्पनीको खुद नाफा मात्रै ७ करोड ७७ लाख रह्यो। 

२५ सय ५१ मिटर उचाइमा रहेको चन्द्रागिरि हिल्समा २.५ किलोमिटर लामो केबलकार छ। २०७३ बाट सञ्चालनमा आएको केबलकार भालेश्वर मन्दिर र रिसोर्टमा जाने यात्रुले प्रयोग गर्दै आएका छन्। 

चन्द्रागिरि हिल्स लिमिटेडको चैत मसान्तसम्मको तथ्यांकको आधारमा बाह्य तथा आन्तरिक पर्यटकहरुको भ्रमणमा उल्लेख्य सुधार आएको देखिएको छ।  

अघिल्लो वर्षको यही अवधिमा १ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी रहेको थियो। कोभिड माहामारीको कारण खुम्चिएको कुल आम्दानी अहिले सुधार हुँदै ६० करोड ९० लाख रुपैयाँ पुगेको छ। आईएमई ग्रुपकै नेतृत्वमा अयोजना तयार भएको हो।   

दोलखामा सञ्चालनमा रहेको कालिञ्चोक दर्शनले केबलकार सञ्चालन गरिरहेको छ। ३ हजार ७९४ मिटरको उचाइमा कालिञ्चोक भगवती मन्दिर जान केबलकार प्रयोग हुँदै आएको छ। 

यसको चैत महिनासम्मको नाफा २ करोड २७ लाख रुपैयाँ छ। ९ महिनामा कम्पनीको कुल आम्दानी ४ करोड ८२ लाख रुपैयाँ छ। वार्षिक ५ लाख पर्यटक आकर्षण गर्ने कम्पनीले दाबी गरेको छ। कम्पनीको अध्यक्ष बालकृष्ण शिवाकोटी हुन्। 

२०७० सालमा उद्योग विभागका दर्ता भएको अन्नपूर्ण केबलकार पोखराको साराङकोटमा सञ्चालनमा आइसकेको छ। ६० करोड कुल पुँजी रहेको कम्पनीको केबलकारले वार्षिक ४ लाख ५० हजार यात्रु बोक्न सक्छ। पोखराको सेती बगरमा तल्लो स्टेसन रहेको केबलकारको साराङकोट डाँडासम्म करिब २.४ किलोमिटर दुरीमा सञ्चालन भइरहेको छ। 

कम्पनीले करिब २ अर्ब रुपैयाँ लगानी गरेको छ। २४ सय मिटरको उचाइमा पुग्ने केबलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ«े लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। रियल स्टेटका चर्चित व्यवसायी कालु गुरुङ कम्पनीको अध्यक्ष छन्। 

मनकामना दर्शन प्रा.लि.ले सञ्चालन गरेको केबलकार पुरानो हो। कुरिन्टार स्टेसनबाट मनकामना मन्दिर जान लागि करिब १० मिनेट लाग्छ। ३ किलोमिटर लामो केबलकारले एक घण्टामा ६६० जना यात्रु बोक्न सक्छ। कम्पनी नाफामै सञ्चालन भइरहेको छ। 

मनकामना दर्शनले मन्दिरनजिकै रेस्टुरेन्ट, बारसहितको डिलक्स रिसोर्ट निर्माण गर्दै छ। 

मौलकाली केबलकार

केबलकारका लागि विदेशी लगानी भित्र्याइँदै
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमुना पर्यटकीय पूर्वधार निर्माण गर्ने योजना छ। बागमती, गण्डकी र लुम्बिनीपछि कोसी प्रदेशमा केबलकार निर्माण गर्ने तयारी गरेको छ। 

२०७२ सालमै दर्ता भएको पाथीभरा दर्शन केबलकारको सेयर आईएमई ग्रुपले खरिद गरेको छ। पाथीभरा दर्शनमा यती ग्रुपको ५१ प्रतिशत सेयर रहेकोमा सबै आईएमई ग्रुपले खरिद गर्‍यो।

२.७५ किलोमिटर लामो केबलकार बनाउने योजना छ। परियोजना लागत साढे २ अर्ब अनुमान गरिएको छ। ३ हजार ७ सय मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा वर्षेनि लाखौँ पर्यटक जाने गरेका छन्। जग्गा लिइसकेको कम्पनीले चालू आर्थिक वर्षभित्रै रुख कटान लगायतका काम सुरु गर्ने बताइएको छ। 

आईएमई ग्रुपले वान क्यापिटल होल्डिङ्स प्रा.लि (इन्भेस्टमेन्ट कम्पनी) मार्फत ३ अर्ब रुपैयाँ केवलबारको लागि भित्र्याएको छ। ५ अर्ब रकम भित्र्याउन लागेकोमा ३ अर्ब केबलकार र सडक निर्माणको लागि खर्च गर्ने भएको छ। यो कम्पनीमा ५० प्रतिशत बेलायती वान क्यापिटलको लगानी छ। 

त्यस्तै एनआरएन नेपाल डेभलपमेन्ट फन्डले ३ अर्ब ४ करोड लगानीको प्रतिबद्धता जनाएको छ। फन्डले केबलकार सहित हाइड्रो पावरमा लगानी गर्ने बताइएको छ।

प्युठानको स्वर्गद्वारी, काठमाडौंको चम्पादेवी, सगरमाथा आधारशिविर र मुक्तिनाथमा केबलकार सञ्चालनको लागि उद्योग विभागका दर्ता भइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .