ad ad

कारोबार


ढुवानी भाडामै नौ महिनामा बाहिरियो ६१ अर्ब

ढुवानी भाडामै नौ महिनामा बाहिरियो ६१ अर्ब

वसन्त अर्याल
जेठ ८, २०८० सोमबार १४:४०, काठमाडौँ

नेपालमा आयात हुने वस्तुको ढुवानीका लागि ९ महिनामा मात्रै ६१ अर्ब ७ करोड रुपैयाँ विदेशिएको छ। भारतसहित तेस्रो मुलुकबाट भित्र्याउने वस्तुको सवारी भाडा रकम बैंकमार्फत बाहिरिएको हो।

९ महिनामा आयात १८ प्रतिशतले घट्दा ढुवानी वापत बाहिरिने रकम १३.९ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्ष १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएकोमा अहिले १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै वस्तु भित्रिएको छ।

गत आर्थिक वर्ष ९ महिनामा ७० अर्ब ९४ करोड रुपैयाँ रेल, ट्रक, पानी जहाजबाट नेपालमा समान भित्र्याउन बाहिरिएको थियो। उक्त रकम चालु आर्थिक वर्षको भन्दा ९ अर्ब ८७ करोड रुपैयाँले बढी हो।

गत आर्थिक वर्ष सबैभन्दा बढी आयात हुँदा गत वर्ष १९ खर्ब २० अर्ब रुपैयाँ भएको थियो। यही अवधिमा नेपालबाट ढुवानीका लागि मात्रै ९२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको थियो।

चालु आर्थिक वर्षमा केही घटेपनि पछिल्ला वर्षमा आयात बढेसँगै विदेशिने रकम पनि बढ्दै गइरहेको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८० अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको थियो।
आव २०७६/०७७ मा ६६ अर्ब १५ करोड रुपैयाँ र आव २०७५/०७६ मा ६५ अर्ब ८२ करोड रुपैयाँ विदेशिएको छ।  

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अहिले आयात घट्दा विदेशिने रकम कम भएको बताउँछन्।

‘समग्रमा अहिले देशबाट बाहिर जाने पैसा कम नै हो। तर आयात बढ्ने बित्तिकै यो बढ्छ,’ खतिवडाले नेपालखबरसँग भने,‘यसलाई कम गराउनेतर्फ भने सोच्नुपर्छ।’

उनले आयात बढ्ने बित्तिकै रेमिट्यान्स समेत घट्न सक्ने बताए। वस्तु आयात निर्यातमा अवैधानिक तवरबाट भुक्तानी हुँदा त्यसको प्रभाव रेमिट्यान्समा पर्ने उनको भनाई छ।

नेपाल भित्रने र बाहिरिने वस्तुको ढुवानी २ किसिमले हुँदै आएको छ। केही व्यवसायीले उत्पादक कम्पनीले नै ढुवानी खर्च ब्यहोर्नेगरी वस्तु भित्र्याउँछन् भने केहीले उद्योगबाटै ढुवानीको खर्च आफैँ तिर्ने गरेका छन्। अधिकांश ढुवानी उत्पादक उद्योगबाट समान बाहिरिएपछि नेपाल भित्रनेसम्म नेपाली व्यवसायीले नै त्यसको खर्च ब्यहोर्नु पर्छ।  

नेपाल–चीन नेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले समान भित्र्याउँदा चिनियाँलाई डलरमा रकम तिर्नुपर्ने बताए। चालु आर्थिक वर्षमा नेपाल–चीन ढुवानीको रकम घटेको उनले जानकारी दिए।

चीनबाट सडक वा रेलमार्गबाट सामुन्द्रिक बन्दरगाहमा पुग्छ। बन्दरगाहबाट भारतको कलकत्तासम्म पानी जहाज मार्फत ढुवानी हुन्छ। कलकत्ताबाट कन्टेनरमा नेपालको भन्सार नाकामा आइपुग्छ।

नेपालमै उत्पादन भए ढुवानीबाट बाहिरिने रकम रोकिने व्यवसायी बताउँछन्। आयात नै गर्नुपर्दा निश्चित रकम बाहिरिने गर्दछ। ढुवानी खर्च जति बढी हुन्छ, त्यसको सिधा मार भने उपभोक्तामा पर्ने उनी बताउँछन्।  

चिनियाँहरुले समुन्द्र मार्ग र सडक मार्गबाट नेपाल भित्रने वस्तुको ढुवानीको मूल्य अहिले उस्तै लिन थालेका छन्। पहिला समुन्द्र मार्गबाट सस्तो पर्ने गरेको थियो।

नेपाल समुन्द्रपार निकासी पैठारी संघका निवर्तमान अध्यक्ष शुशिल कुमार धनुकाले कोभिड माहामारीमा बढेको ढुवानीको रकम अहिले घट्दै गएको बताए। उनका अनुसार २० फिटको कन्टेनरको ४ हजारदेखि ५ हजार डलरसम्म पुगेको थियो।

अहिले उक्त कन्टेनरको २ हजारदेखि २२ सय डलरमा झरेको धनुकाले जानकारी दिए। अहिले आयात घट्दापनि बाहिरिने रकममा केही कम भएको उनले बताए।

तेस्रो मुलुकबाट भारतको भिज्याक सीपोर्ट (विसखापटनाम) हुँदै आयात हुने संख्या नेपालका वीरगञ्ज, विराटनगर लगायत ड्राइपोर्टसम्म रेलमार्फत आउने गरेको छ। नेपालका ड्राइपोर्टसम्म ल्याएको रकम विदेशी मुद्राबाट बाहिरिने गरेको छ। केही भारतीय कम्पनी भने नेपाली रुपैयाँमै लिन्छन्।

‘तेस्रो मुलुकबाट भारतका बन्दरगाहसम्म पानी जहाजबाट ल्याउँदा डलरमै तिर्नुपर्छ,’ धनुकाले भने, ‘भारतका बन्दरगाहबाट नेपालका ड्राइपोर्टसम्म रेलबाट आउँछ। त्यसमा भारतीय र नेपाली रुपैयाँमै भुक्तानी गर्छौं।’

नेपालले तेस्रो मुलुकसँग वस्तु ढुवानीका लागि भारतको हल्दिया र विसाखपटनाम बन्दरगाहको अनुमति पाएको छ। नेपालले भारतलाई भुक्तानी गर्दा भारतीय रुपैयाँमै गर्छ। तर भारु खरिदको लागि डलर नै खर्च गर्नुपर्ने अवस्था रहेको छ।

ढुवानी गर्ने कम्पनीका एजेन्ट नेपालमै भएकाले नेपाली रुपैयाँमै भुक्तानी गर्ने उनले जानकारी दिएका छन्। ९ महिनामा ६१ अर्ब रुपैयाँ बाहिरिनु ठूलै रकम भएपनि भूपेरिवष्ठित राष्ट्रको बाध्यता भएको धनुकाले बताए।

नेपाल भित्र्याएपछि पनि ढुवानीको खर्च बढी लाग्ने गरेको छ। व्यवसायीहरुले खर्च थप घटाउनका लागि रेल मार्ग उपयुक्त हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .