ad ad

सुदूरपश्चिम


प्रथम खप्तड अन्तर्राष्ट्रिय महोत्सव जेठ २३ देखि, रामदेवले प्रवचन दिने

प्रथम खप्तड अन्तर्राष्ट्रिय महोत्सव जेठ २३ देखि, रामदेवले प्रवचन दिने

नेपालखबर
जेठ ८, २०८० सोमबार १५:११, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले खप्तडमा प्रथम अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन गर्ने भएको छ। प्राकृतिक विविधताले भरिपूर्ण खप्तडलाई अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्न प्रदेश सरकारले अध्यात्मिक सम्मेलन गर्न लागेको हो।

जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलनका लागि सरकारले मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको छ।

४०१ सदस्यीय मूल आयोजक समारोह समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरु, प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, पूर्वसांसदहरु, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुखहरु, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत नीजि क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिहरु छन्।

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संघीय संसदका सांसदहरु, बाबा रामदेव, आचार्य बालकृष्णलगायतका अध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए।

सम्मेलनको मूल आयोजक समारोह समिति सदस्य नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह (गरिमा) ले सम्मेलनलाई सुदूरपश्चिमको उत्सवका रुपमा मनाइने बताइन्।

‘यसलाई हामीले सुदूरपश्चिमको उत्सव भनेका छौँ। सुदूरपश्चिमका हामी जो जहाँ छौँ त्यहीँ यसलाई उत्सवका रुपमा मनाऔँ,’ उनले भनिन्। शाहले सम्मेलनमार्फत् खप्तडलाई अन्तर्राष्ट्रियकरण गर्न बाबा रामदेव र आचार्य बालकृष्णलाई आमन्त्रण गरिएको पनि बताइन्।

‘हामीले अध्यात्मिक सम्मेलन गरेर खप्तडको प्रचारप्रसारका लागि अन्तर्राष्ट्रियकरण गर्न खोजेका छौँ,’ उनले भनिन्, ‘आस्था च्यानलबाट १८८ देशहरुमा समाचार प्रशारण हुँदो रहेछ। त्यसैले पनि हामीले बाबा रामदेवलाई आमन्त्रण गरेका हौँ।’

सम्मेलन आयोजनाका लागि प्रदेश सरकार मातहत रहेको व्यवस्थापन समितिका अध्यक्ष सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ। सिंहका अनुसार सम्मेलनका लागि ३ करोड ८० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

सम्मेलनबारे जानकारी दिन सुदूरपश्चिम सरकारले मंगलबार दिउँसो १ बजे काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहसँगै अन्य मन्त्रीहरु पनि उपस्थित हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .