ad ad

कारोबार


व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु : अर्थमन्त्री

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु : अर्थमन्त्री

नेपालखबर
जेठ ६, २०८० शनिबार १४:२३, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्। 

शनिबार सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। छलफलमा अर्थमन्त्री डा। महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए।

सांसदहरूको जवाफ दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’
 

नेपालमै उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो। 

‘नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ। हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ,’ अर्थमन्त्री डा. महतले भने, ‘नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं।

अर्थमन्त्री डा. महतले ज्ञान र अनुभवलाई उपयोग गर्दै अघि बढ्ने बताए। 

‘सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु। तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ,’ डा. महतले भने, ‘अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरू गरिनेछन्। धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ।’ 

अहिले कार्यान्वयनको चुनौति रहेको पनि उनले बताए। 

‘९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन्। त्यसलाई मैले रोकिदिएको छु। ९ महिनासम्म के गरेर बस्यो?’, उनले प्रश्न गर्दै भने, ‘बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गछौं। यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं। यसबारे गृहकार्य भइरहेको छ।’

एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि आफूबाट केही हुन नसक्ने उनको भनाई थियो। 

‘पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ। मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु,’ उनले भने, ‘सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन। यहाँ देश र जनताको कुरा छ। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु।’

राजस्व घटेको स्थानमा आफूले नजर लगाएको भन्दै ती कुराहरु सुधार हुने उनले बताए। 

‘यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन’ अर्थमन्त्री डा. महतले भने, ‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन? यसको समीक्षा हुन जरुरी छ।’

आफ्नो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने उनले प्रतिवद्धता जनाए।

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा। महतलाई प्रश्न गरेका थिए। 

अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .