ad ad

कारोबार


ऊर्जामन्त्री र बंगलादेशका मन्त्रीबीच भेटवार्ता

ऊर्जामन्त्री र बंगलादेशका मन्त्रीबीच भेटवार्ता

नेपालखबर
असोज १६, २०८१ बुधबार २१:३०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ।

काठमाडौँमा बिहीबारदेखि हुन लागेको नेपाल–बङ्गलादेश ऊर्जा व्यापार  सम्झौताका लागि नेपाल आउनुभएकी हसनले आज सिंहदरबास्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्कासँग भेट गरेका हुन्। भेटमा मन्त्री खड्काले बङ्गलादेशको अन्तरिम सरकारको मन्त्री भएकामा हसनलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। 

उनले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशको सम्बन्ध झन् प्रगाढ हुँदै आएको बताए।

मन्त्री खड्काले नेपालको प्रचुर जलविद्युत् सम्भाव्यता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशको ऊर्जा सहकार्यलाई आजको भेटले अझ प्रगाढ बनाउने उल्लेख गर्नुभएको मन्त्रालयका उपसचिव मनोज पन्थले जानकारी दिए।

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बङ्गलादेशका सचिवस्तरीय बैठक बसिरहेको उल्लेख गर्दै उनले उक्त बैठक दुई देशको ऊर्जा विकासमा फलदायी हुने बताए।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौताका लागि पहलकदमी लिएको भन्दै बङ्गलादेश सरकारलाई धन्यवाद दिए। 

त्रिपक्षीय सम्झौतासँगै भारतीय प्रसारण लाइन हुँदै नेपालले जुनदेखि नोभेम्बरसम्म ४० मेगावाट विद्युत् भारत निर्यात गर्नेछ। उक्त सम्झौतासँगै दुई देशबीच ठूलो सम्भावनाको रुपमा रहेको विद्युत् व्यापारको ढोका खोलिने मन्त्री खड्काको भनाइ छ।

ऊर्जामन्त्री खड्काले नेपाल–भारत–बङ्गलादेशबीच विद्युत् क्षेत्रमा सहकार्य तथा विद्युत् व्यापार प्रवर्द्धनका लागि त्रिपक्षीय संयुक्त सञ्चालन समिति र त्रिपक्षीय संयुक्त कार्यदल  गठन गर्न आवश्यक रहेको र यसका लागि भारतीय पक्षलाई अनुरोध गर्नुपर्ने उल्लेख गर्नुभएको उपसचिव पन्थले बताए। 

६ सय ८० मेगावाट क्षमताको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना चाँडो अगाडि बढाउनुपर्ने, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरिदका लागि बङ्गलादेश पावर डेभलपमेन्ट वोर्ड र भारतको जीएमआरबीचको विद्युत् बिक्री सम्झौता अन्तिम चरणमा पुगेको भन्दै त्यसलाई चाँडो अगाडि बढाउनुपर्ने उनले बताए।

भेटमा मन्त्री हसनले नेपालबाट बङ्गलादेशमा ऊर्जा आयत गर्ने अघिल्लो सरकारको निर्णयलाई वर्तमान सरकारले निरन्तरता दिएको पनि बताए। उनले बङ्गलादेशमा भइरहेको गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ अहिलेको सरकारले काम गरिरहेको उल्लेख गरे।

कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युत् आयोजनाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

अहिले ४० मेगावाटका लागि ऊर्जा सम्झौता गरे पनि भविष्यमा नेपालबाट ठूलो मात्रामा विद्युत् आयत गरिने मन्त्री हसनले बताए। 

नेपालको जलविद्युत् क्षेत्रमा बङ्गलादेशले आगामी दिनमा लगानी बढाउँदै लैजाने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .