कारोबार


पूर्ण स्वचालित बन्दै उद्योग विभागका सेवा, १० करोडसम्मको लगानी स्वीकृति अनलाइनबाटै

पूर्ण स्वचालित बन्दै उद्योग विभागका सेवा, १० करोडसम्मको लगानी स्वीकृति अनलाइनबाटै

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १५:५२, काठमाडौँ

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन यस ऐन तथा प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

चालू आ. व. २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा रु. १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख भएको थियो। साविकमा भौतिक फाइलमार्फत मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएकोमा गत साउन १ देखि अनलाइन प्रणाली (आईएमआईएस)मार्फत विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको छ।

यस प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आबद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी उद्योग विभागले तयारी गरिरहेको छ।

प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नताविना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको छ। सोको कार्यान्वयनका लागि विभागले वेबमा आधारित स्वचालित रुट (अटोमेटिक रुट) प्रणाली निर्माण गरेको छ।

विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणालीमार्फत नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन्।

हाललाई रु. २ करोड देखि रु. १० करोड सम्मको परियोजना प्रस्ताव भएका तोकिएका उद्योगहरूमा यस प्रणाली मार्फत् विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको छ।

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि अटोमेटिक रुट आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक हो। भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भइसकेको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो।

यस प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आइरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad