कारोबार


अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सीईओमा मोहन गौतम

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सीईओमा मोहन गौतम

नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:१८, काठमाडौँ

अपर तामाकोशी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२औँ बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औँ तह (निर्देशक)का गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

अपर तामाकोशी हाइड्रोपावर लि. स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो। 

कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ। 

नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक गर्नेलगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए।  

रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ। इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। 

आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुने छ। साथैै, रोल्वालिङ खोला  माथिल्लो तामाकोशीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ। योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ। 

रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ। उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरिवेक्षण गरेको अनुभव छ। 

२०६०मा प्राधिकरणको सेवा प्रवेश गरेका उनले २०६४–२०७२ सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। सीईओ गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरेका थिए। 

उनले २०७३–२०७९सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन्। 

उनी प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालकसमेत छन्। 

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइड्रोपावर लि.मा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ। 

कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad