कारोबार


काठमाडौं र इटहरीमा साढे ५ अर्ब खर्चेर ५ सयवटा हाउजिङ बनाउँदै पद्मा ग्रुप

काठमाडौं र इटहरीमा साढे ५ अर्ब खर्चेर ५ सयवटा हाउजिङ बनाउँदै पद्मा ग्रुप

वसन्त अर्याल
चैत १८, २०७९ शनिबार ११:३०, काठमाडौँ

पद्मा ग्रुपले साढे ५ अर्ब लागतमा काठमाडौं र इटहरीमा हाउजिङ परियोजना अघि बढाउने भएको छ। 

ग्रुपअन्तर्गतको पद्मा कोलोनीले ५ सयवटा हाउजिङ निर्माण गर्ने भएको हो। 

हाल २ वटा प्रोजेक्टको प्रक्रिया अगाडि बढाएको कोलोनीले काठमाडौंको रामकोटमा पाँचौँ चरणको हाउजिङ निर्माण गरिरहेको छ। रामकोटमा ३०० वटा युनिटसहितको हाउजिङ बन्न लागेको हो। 

रामकोटको हाउजिङ निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

पाँचौँ चरणको हाउजिङका लागि ९० प्रतिशत जग्गा खरिद गरिसकेको र निर्माणको काम भइरहेको छ। १२६ रोपनीमा नयाँ हाउजिङ निर्माण हुनेछ। 

त्यसैगरी छैटौँ चरणमा इटहरीको सुनसरीमा २०० वटा युनिट बनाउने योजना कोलोनीले बनाएको छ। इटहरीमा २ अर्ब १८ करोड लागतमा पद्मा कोलोनी बन्नेछ। 

इटहरीमा आफ्नो योजनाअनुसार आधा जग्गा मात्रै अधिग्रहण गरिसकेको छ। इटहरी पूर्वी क्षेत्रको प्रसिद्ध सहरमा पर्छ। विराटनगरबाट २५ किलोमिटर उत्तर र धरानबाट १६ किलोमिटर दक्षिणमा कोलोनी बन्नेछ।  

आफ्नै घर किन्ने ‘ट्रेन्ड’ बढ्दै जाँदा रियल स्टेट क्षेत्र पनि क्रमशः विस्तार हुँदै छ। यद्यपि अहिले कम्पनीहरुले हाउजिङ विकासमा कम लगानी गर्न थालेका छन्। डेभलपर्सको ट्रयाक रेकर्ड, निर्माणको गुणस्तर र घर बनाएर दिने समयले घर खरिद गर्ने नगर्नेमा फरक पर्छ। 

चालू आर्थिक वर्षको आर्थिक ऐनले पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत हुँदा कारोबार महंगो हुँदै गएको छ। रियलस्टेटको व्यापार आर्थिक चक्र र बैंकको ब्याजदरले फरक पर्छ।  

चालू आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गाको धितोलाई काठमाडौंमा ४० प्रतिशत रहेकोमा ३० प्रतिशत र काठमाडौंबाहिर ५० प्रतिशत रहेकोमा ४० प्रतिशत धितो मात्रै मूल्यांकन हुने व्यवस्था गरेको छ। 

२०२४ बाट निर्माण सुरु, २ वर्षमा सक्ने
पद्मा कोलोनी प्रा.लिको अध्यक्ष राजु प्रसाद कँडेल हुन्। उनी पद्मा ग्रुप अफ कम्पनिजका समेत अध्यक्ष छन्। 

उनको पद्मा हस्पिटालिटी, पद्मा मर्चेन्ट कम्पनीसहित मिडियामा समेत लगानी रहेको छ। कँडेलले सन् २००३ बाट रियलस्टेट क्षेत्रबाट व्यवसाय सुरु गरेका थिए। अहिले विभिन्न ६ क्षेत्रका १५ कम्पनीका मालिक छन्। 

कम्पनीले पहिलो र दोस्रो चरणमा निर्मित पद्मा कोलोनीका सबै घर बिक्री गरिसकेको छ। 

काठमाडौं र सुनसरीमा भौतिक निर्माणको काम सन् २०२४ को सुरुबाट निर्माण सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले निर्माण गर्ने भने पनि हालसम्म लगानी जोहो गर्न सकेको छैन। कम्पनीले लगानीमध्येको ८० प्रतिशत ऋणबाट उठाउने र २० प्रतिशत आफैँ खर्च गर्ने जनाएको छ। 

कम्पनीले पाउने ऋण चालू पुँजीको आधारमा र बाँकी प्रवद्र्धकबाट उठाइनेछ। कम्पनीले निर्माणको ८० प्रतिशत सम्पन्न भएपछि हाउजिङको काम सुरु हुने जनाएको छ। निर्माण सुरु भएको २ वर्षमा हाउजिङ सम्पन्न गर्ने जनाएको छ।  

पहिलो चरणमा सीतापाइलामा २७० रोपनी क्षेत्रफलमा १७० वटा युनिट रहेका थिए। दोस्रो चरणमा ललितपुरको कुसुन्तीमा ४१ वटा युनिट बनाएको थियो। ललितपुरमा करिब १९ रोपनीमा हाउजिङ बनेको थियो। 

तेस्रो चरणमा नागार्जनु नगरपालिकाको रामकोटमै बनाएको थियो। कम्पनीले ४५ रोपनी क्षेत्रफलमा ९१ वटा युनिट बनाउँदै छ। 

चौथो चरणको हाउजिङ नागार्जुन नगरपालिकाकै टौखेलमा बनाइरहेको छ। कम्पनीले २० रोपनी क्षेत्रफलमा ७० वटा युनिट बनाइरहेको जनाएको छ। 

पाँचौँ चरणको पद्मा कोलोनी चक्रपथभन्दा ६ किलोमिटर टाढा रहेको छ। सहरको कोलाहलबाट केही टाढा बस्न रुचाउनेका लागि राम्रो हुने कम्पनीको दाबी छ।  

आगामी दिनमा ठूलोभ¥याङको २७० रोपनी क्षेत्रफलमा हाउजिङ बनाउने योजनामा कम्पनी अघि बढेको छ। 

आधुनिक डिजाइनका पद्मा कोलोनीमा २४ सै घण्टा सुरक्षा, घरको पूर्ण स्वामित्व, स्विमिङ पुल एन्ड स्पा, योगा र जिम, ग्रोसरी, वस्तु हेरिएका घर रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .