खानी विभागका तत्कालीन महानिर्देशकसहित सिमेन्ट उद्योगीले सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी उत्खननमा राजस्व चुहावट गरेको आरोपमा २७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
शुक्रबार विशेष अदालतका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारुको संयुक्त इजलासले विभागका कर्मचारीसहित सबै उद्योगीलाई मागदाबी नपुगेको भन्दै सफाइ दिएको हो।
मुद्दा दायर भएकामा भू–गर्भ विभागका तत्कालीन महानिर्देशक राम प्रसाद घिमिरे, सुपरिनटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत भद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारी रहेका थिए।
खानी तथा चुनढुंगा दोहनमा सञ्चालकसँग मिलेमतो गरी सरकारी राजस्व हिनामिना गरेको उनीहरूमाथि आरोप छ। यसैगरी, ९ वटा सिमेन्ट तथा खानी उद्योगका ९ जना सञ्चालकविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो।
उक्त फैसलासँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले अदालतले न्याय दिएको बताए।
उनले भने, ‘व्यवसायीले गल्ती गर्दा क्षतिपूर्ति माग गर्न पाइन्छ तर कानुनबाहिर गएर भ्रष्टाचारको मुद्दा लगाउन पाइँदैन। कानुनअनुसार व्यवसायीले अदालतबाट न्याय पाएका छन्।’
प्रतिक्रिया