ad ad

कारोबार


उद्योगीको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा, कुन टिम कस्तो?

उद्योगीको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा, कुन टिम कस्तो?

दीपक भट्ट
चैत ३, २०७९ शुक्रबार १५:१०, काठमाडौँ

उद्योग व्यवसाय क्षेत्र चैत सुरु भएसँगै देखिने गरी चुनावमा होमिएको छ। 

यही महिना हुनलागेको नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा उद्योगी व्यवसायीहरु प्रतिस्पर्धाको तयारीमा लागेका हुन्। 

महासंघमा लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्वचयन हुँदै आएको छ। छाता संगठनको नेतृत्वचयनमा हुने चुनावले व्यावसायिक क्षेत्रलाई सधैँ तरंगित बनाउँछ। 

महासंघमा यसपटक पनि तीनवर्षे नेतृत्वको लागि यही चैत अन्तिममा निर्वाचन हुँदै छ। यसकै लागि अहिले कर्पोरेट हाउसदेखि वस्तुगत संगठनहरुसम्म चुनावकेन्द्रित हुनथालेका छन्।

सर्वसम्मतको प्रयास समेत नभएकाले यसपटक पनि नेतृत्वमा उद्योगी व्यवसायीले चुनाव लड्ने देखिएको छ। महासंघका सम्भावित उम्मेदवारहरु जिल्ला नगरका कार्यक्रमहरु सकेर काठमाडौं आएका छन्। 

योसँगै उनीहरुले जिल्ला तहबाट सुरु गरेको चुनावी तयारी पनि काठमाडौं प्रवेश गरेको छ।  

त्रिपक्षीय भिडन्त, बाँडिनथाले व्यवसायी : वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने को कस्ता? 
जिल्ला नगरका कार्यक्रममा सहभागी भएर उद्योगी व्यवसायी संघीय राजधानी फर्किँदा मुख्यतः त्रिपक्षीय नेतृत्वदाबी देखिएको छ। 
सोहीअनुसार उनीहरु अहिले तीन भागमा बाँडिन थालेका छन्। 

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अधयक्ष हुने वैधानिक व्यवस्था छ। जसअनुसार यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल चैत अन्तिमदेखि अध्यक्ष हुँदै छन्। 

त्यसका अलावा निवर्तमान वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र हालका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले वरिष्ठ उपाध्यक्षको लागि तयारी थालेका छन्।

तयारीस्वरुप तीनै जना जिल्ला नगर भ्रमण गरी अहिले काठमाडौंमा टिम तयारी गरिरहेका छन्। टिम तयारीमा क्रममा अन्जन श्रेष्ठले आफ्नो टिममा को रहने आधिकारिक घोषणा नै गरिसकेका छन्।

अन्जन श्रेष्ठ : प्यानल बन्यो, कस–कसको साथ? 
आउँदो चुनावमा वरिष्ठ उपाध्यक्षका लागि चुनावमा लड्नलागेका अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्। 

उनले उमेशलाल श्रेष्ठलाई चुनावमा हराएर यसअघि चुनाव जितेका थिए। उनी लक्ष्मी ग्रुपका निर्देशक हुन्। 

लक्ष्मी ग्रुपको नेपालको ठूलोमध्येको एक बिजनेस घरानामा पर्छ। उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ। सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्। 

व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ छ। यसले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी,  विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ। 

त्यस्तै अटोमोटिभ लक्ष्मी ग्रुपको महत्वपूर्ण व्यवसाय हो। उसले कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ। 

यसले सवारी पार्टपुर्जा, लुब्रिकेन्ट समेत बिक्री गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमियम अटो ब्राण्ड बीएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारिक बिक्रेता हो। 

यस्तो व्यावसायिक वातावरणमा रहेका अन्जन श्रेष्ठले आफ्नो टिम नै घोषणा गरिसकेका छन्। 

उनको टिममा सुनचाँदी क्षेत्रका दुई जना प्रमुख पात्र छन्। एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र वस्तुगत उपाध्यक्षमा उम्मेदवार रहने मनिषलाल प्रधान दुवै जना नेपाल रत्न तथा आभूषण संघका हुन्। 

ज्योत्स्ना उक्त संघकी हालकी अध्यक्ष हुन् भने मनिषलाल श्रेष्ठ पूर्वअध्यक्ष हुन्। यद्यपि सुनचाँदी व्यवसायीको दुईवटा संगठन छन्। तीमध्ये नेपाल रत्न तथा आभूषण संघ एक हो भने अर्को नेपाल सुनचाँदी व्यवसायी महासंघ छ। 

अन्जन श्रेष्ठको टिममा रहेका अरुणराज सुमार्गी जिल्ला नगरतर्फको उपाध्यक्ष लड्ने पक्का भएको छ। उनी मूलतः हेटौंडामा बसेर निर्माण क्षेत्रको व्यवसाय हेर्ने गर्छन्। उनले मकवानपुर तथा मध्यनेपालको जिल्ला नगरको भोट होल्ड गर्नसक्छ।  

अन्जन श्रेष्ठ आफ्नो प्रमुख एजेडा भनेको व्यवसायीहरुको दुःख तथा लगानीलाई सुनिश्चित गर्नु रहेको बताउँछन्। सोहीअनुसारको टिम बनाउने भन्दै उनले कार्यकारिणी सदस्यहरुको समेत टिम निर्माण गरिरहेका छन्। 

अन्जन श्रेष्ठ आफू पनि करिब ३० वर्षदेखि व्यवसायमा आएको र सुरुमा साना मझौला व्यवसायलाई नै हेरेको बताउँछन्। उनीहरुको समस्यामा जानकार रहेकोले  आफूलाई साथ मिल्ने उनको विश्वास छ। 

रामचन्द्र संघाई : टिम सेट गरे, घोषणा गर्न बाँकी 
अर्को वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघाईले टिम घोषणा गरेका छैनन् तर उनले टिम सेट भने गरिसकेका छन्। 

उनको टिममा एसोसिएट उपाध्यक्षमा भरत आचार्य छन्। उनी टीएनएस ग्रुपका अध्यक्ष हुन्। उनलाई उद्योग समितिको सभापतिको जिम्मेवारी समेत दिइएको छ।

यसअघिको निर्वाचनमा उनी चन्द्र ढकालको प्यानलबाट कार्यकारिणी सदस्य उठेका थिए। जसमा सबैभन्दा लोकप्रिय मत समेत ल्याएका थिए। 

संघाईको सम्भावित अर्को वस्तुगत उपाध्यक्ष भनेका सन्दिप गाडिया (अग्रवाल) हुन्। शिवशक्ति ग्रुपका निर्देशक रहेका उनी चिनी, तेल, घिउ, चामल उद्यमी हुन्। 

पछिल्लो समय सिमेन्ट उद्योगमा समेत उनले हात हालेका छन्। खाद्य उद्योगको संघ संगठनको नेतृत्व समेत लिएका गाडियाले लगातार दुईपटक कार्यकारिणी सदस्य जितेका छन्। 

जिल्ला नगरका उपाध्यक्षमा भने सुरकृष्ण वैद्यको नाम अघि सारिएको छ। तर संघाईले महासंघका अबका अधयक्ष चन्द्र ढकाल तथा हालका अध्यक्ष शेखर गोल्छासँगको संवाद र निचोडपछि मात्रे आफ्नो टिम घोषणा गर्ने बताएका छन्।

संघाई त्रिवेणी ग्रुपका निर्देशक हुन्। त्रिवेणी ग्रुप नेपालको व्यावसायिक घरानामा अग्रणी मानिन्छ। यस ग्रुपको उत्पादनमूलकतर्फ सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गोरखा सिमेन्ट, मनकामना सिमेन्ट, त्रिवेणी स्पिनिङ, हिमालयन यार्न, सगरमाथा रेड मिक्स, सिद्धार्थ ग्यास, नवज्योति ग्यास, हिमाल ग्यास, त्रिवेणी फिड उद्योग, जडीबुटी प्रशोधन उद्योग, प्लास्टिक फनिचर ब्राण्ड डल्फिन, खाने तेल अमृत, सगरमाथा प्रिकास्ट, महालक्ष्मी सोल्मेन्ट, चिनी मिल, दालमिल, बबल्स साबुन, लहर साबुन, एकता साबुन, झिल्के साबुन, टोकला चियालगायतमा लगानी गरेको छ। 

ट्रेडिङतर्फ एरियल ब्राण्ड सेम्पो तथा हेयरकलरको बिक्रेता, प्रान, सनफेस्ट, न्यापकिनलगायतको बिक्रेता, पानासोनिक, सामसङ ब्राण्डका उपकरणको बिक्रेता, मसलाजन्य वस्तुको बिक्री गर्दै आएको छ। 

वित्तीय क्षेत्रतर्फ एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएमबी बैंकलगायतमा लगानी गरेको छ।

ऊर्जातर्फ सोलु हाइड्रो, रिटेल (खुद्रा व्यवसाय) तर्फ बिगमार्ट र बिग डिजिटलमा लगानी गरेको ग्रुपले शिक्षातर्फ दिल्ली पब्लिक स्कुल सञ्चालन गरिरहेको छ। 

त्यस्तै, मनोरञ्जनतर्फ बिग मुभी सञ्चालन गरेको छ भने खेलतर्फ भैरहवा ग्लाडियटर्स क्लबमा लगानी गरेको छ। 

यसबाहेक ग्रुपले कृषितर्फ तरकारी तथा फलफूलको व्यावसायिक खेती र त्यसको प्रशोधनमा समेत लगानी गरेको छ। अटोमोटिभतर्फ ट्रयाक्टरको स्पेयर्स पार्ट, इस्कुटर, रोयल इनफिल्ड मोटरसाइलकको बिक्रेता समेत छ।  

उमेशलाल श्रेष्ठ : विस्तारै चल्दै छ तयारी 
महासंघको आगामी नेतृत्व लिन चाहने अर्का व्यक्तिमा महासंघकै पूर्ववस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ हुन्। 

उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा हुन्। तर श्रेष्ठ व्यावसायिक क्षेत्रमा सक्रिय छन्। उनी वीरगन्जमा रहेको क्वेस्ट फर्मास्युटकल्स औषधि उद्योगका सञ्चालक रहेका छन्। जुन नेपालको ठूलो औषधि उद्योगमध्ये एक हो। 

श्रेष्ठ महासंघका वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्ने तयारीमा छन्। सोहीअनुसार टिम बनाइरहेका छन्। उनको टिममा वस्तुगत उपाध्यक्षतर्फ हेमराज ढकाल रहने पक्काजस्तै छ। ढकाल पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन्। 

बिहीबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले कार्यकारिणी सदस्यमा चुनाव उठ्ने घोषणा कार्यक्रम राखेका थिए। 

कार्यक्रममा उमेशलाल श्रेष्ठ र हेमराज ढकाल पनि उपस्थित थिए। श्रेष्ठलाई हालका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले समेत सहयोग गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .