कारोबार


ढल्यो अमेरिकाको सिलिकन भ्याली ब्यांक : यसबारे जान्नैपर्ने ७ कुरा

ढल्यो अमेरिकाको सिलिकन भ्याली ब्यांक : यसबारे जान्नैपर्ने ७ कुरा

नेपालखबर
फागुन २७, २०७९ शनिबार २०:२१,

अमेरिकाको सिलिकन भ्याली ब्यांक बन्द भएको छ। ४८ घण्टाभित्र भएको सो ब्यांकको तीव्र पतन अमेरिकी इतिहासमा वित्तीय संस्थाको दोस्रो ठूलो असफलताका रुपमा दरिएको छ।

सो ब्यांक अमेरिकाको २० ठूला वाणिज्य ब्यांकभित्र पर्छ। ग्राहकलाई पैसा तिर्न नसकेपछि अहिले सो ब्यांकको नियन्त्रण फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोसन (एफडीआईसी)ले लिएको छ।

विज्ञहरुले यसबाट ठूलो वित्तीय संकट नआउने बताए पनि स्टार्टअप र प्रविधि क्षेत्रमा यसको ठूलो प्रभाव पर्ने देखिन्छ।

यसबारे हालसम्म थाहा भएका कुरा यसप्रकार छन्।

सिलिकन भ्याली विशाल ब्यांक हो
१९८३ मा स्थापना भएको यो ब्यांकले अमेरिकाको झण्डै आधाजसो उद्यम समर्थित प्रविधि कम्पनी र स्वास्थ्य सेवा कम्पनीहरुमा लगानी उपलब्ध गराएको छ। बढ्दो ब्याजदर र घट्दो भेन्चर क्यापिटलका कारण ती कम्पनी समस्यामा छन्।

सिलिकन भ्यालीबाहिर कम परिचित यो ब्यांक अमेरिकाको शीर्ष २० वाणिज्य ब्यांकमा पर्छ। जसको गतवर्षको अन्त्यसम्मको समग्र सम्पत्ति २०९ अर्ब डलर थियो।

२००८ मा वासिङ्टन म्युचुअलपछि बन्द भएको यो सबैभन्दा ठूलो ब्यांक हो।

एफडीआईसीले असाधारण तीव्र गतिमा कदम चाल्यो
यो ब्यांकको संकट बुधबार सुरु भयो। जब सो ब्यांकले आफ्ना केही सेक्युरिटी घाटामा बेचेको घोषणा गर्यो। खाता सन्तुलनमा ल्याउन थप २.२५ अर्ब डलरको सेयर बेच्ने पनि सो ब्यांकले जनायो।

क्यालिफोर्नियाका नियामकहरुले शुक्रबार यो ब्यांक बन्द गराए। एफडीआईसीले ब्यांकका सारा सम्पत्तिलाई तरलीकृत गरेर ग्राहक, डिपोजिटकर्ता र ऋणदाताको पैसा तिर्नेछ।

एफडीआईसीले ब्यांक शुक्रबार बिहानै बन्द गरायो। जबकि प्रायः उसले बजार बन्द हुन्जेल पर्खिने गर्छ।

‘सिलिकन भ्याली ब्यांकको अवस्था यति छिटो बिग्रियो कि त्यो थप पाँच घण्टा टिक्ने थिएन,’ बेटर मार्केटका सीईओ डेनिस एम केलरले लेखेका छन्, ‘किनभने डिपोजिटकर्ताले तीव्र गतिमा ब्यांकबाट पैसा निकालिरहेका थिए।’

उच्च ब्याजदरका कारण आयो संकट
चर्को मुद्रास्फितिसँग जुध्न अमेरिकाको केन्द्रीय ब्यांकले गत वर्षदेखि नै आक्रामक तरिकाले ब्याजदर बढाइरहेको छ। व्यवसाय तथा व्यक्तिलाई ऋण लिन महंगो पर्दै गएको छ।

ब्याजदर ऐतिहासिक रुपमै कम हुँदा ब्यांकहरुले कम जोखिमयुक्त र दीर्घ अवधिका ट्रेजरीहरु किनेका थिए। र, जब ब्याजदर बढ्न थाल्यो तब ती सम्पत्तिको मूल्य घट्न थाल्यो। जसका कारण उनीहरुको घाटा बढ्दै गयो।

उच्च ब्याजदरले गर्दा प्रविधि कम्पनीहरु समस्यामा परे। जसले तिनको सेयर भाउ पनि घटायो र लगानी जुटाउन कठिनाइ हुन थाल्यो।

उच्च ब्याजदर, आईपीओमा घाटा र लगानी घटेपछि सो ब्यांकका ग्राहकहरुले ब्यांकबाट पैसा झिक्न थाले।

ब्यांकिङ संकट आइसकेको छैन
अर्बपति हेज फन्ड म्यानेजर बिल एकम्यानले यो ब्यांकको संकटलाई २००७–८ को वित्तीय संकटको सुरुमा ढलेको बियर स्टर्न्ससँग तुलना गरे। यसको असर बढ्दै जाने उनको भनाइ छ।

तर, धेरैजसो विश्लेषकहरुले सिलिकन भ्याली ब्यांकको पतनलाई सोही कम्पनीसँग मात्र सम्बन्धितजस्तो देखिएको बताएका छन्।

सिलिकन भ्यालीजस्तै ग्राहक भएका ब्यांक तथा ऋणदाताहरुले भने समस्या भोग्नेछन्। 

‘यो ब्यांकको संकटको खास कारण उनीहरुले खास उद्योगमा मात्र लगानी गरेका थिए,’ क्यापिटल इकोनोमिक्सका जोनास गोल्टरम्यान भन्छन्। अरु ब्यांकको लगानी विविधीकरण भएको उनको भनाइ छ।

२००८ को संकटपछि ब्यांकिङ क्षेत्रमा गरिएको नियमनकारी सुधारका कारण पनि मानिसहरु त्यति आत्तिएका छैनन्।

सामान्य उपभोक्ताहरुलाई यसको असर पर्ने सम्भावना कम छ। तर, यो ब्यांकको पतनले मानिसहरुलाई आफ्नो पैसा राखिएको ब्यांकप्रति सचेत रहन र सबै पैसा एकैठाउँ नराख्न चेतावनी दिएको छ। 

प्रविधि कम्पनीहरुको छटपटी
सिलिकन भ्याली ब्यांक स्टार्टअप कम्पनीहरुका लागि सबैभन्दा ठूलो ऋणदाता थियो। ती कम्पनीका संस्थापकहरु अहिले आफ्नो पैसा कसरी निकाल्ने, तलब कसरी खुवाउने र सञ्चालन खर्च कसरी जुटाउने भनेर चिन्तित छन्। 

‘ब्यांक त बन्द भयो। अब के हुन्छ भन्ने म थाहा पाउन चाहन्छु,’ फार्मबक्स नामक कम्पनीका संस्थापक एस्ली टाइनर भन्छन्, ‘एफडीआईसीले २ लाख ५० हजार डलर दिन्छ। तर, मेरो करोड डलर सबै उठ्छ त?’

अरु ऋणदातालाई परेको पीडा
सिलिकन भ्याली ब्यांकजस्ता ऋणदाताहरु भने दुर्भाग्यपूर्ण परिस्थितिमा परेका छन्। 

क्रिप्टो केन्द्रित ऋणदाता सिल्भरगेटले आफ्नो सञ्चालन बन्द गरेर ब्यांक तरलीकृत गर्ने जनाएको छ।

‘पछिल्लो घटनाक्रमपछि ब्यांक व्यवस्थित रुपमा बन्द गरी आफैँ तरलीकृत गर्नु राम्रो हुने विश्वास हामीलाई छ,’ सिल्भरगेटले भनेको छ।

शुक्रबार घट्यो सेयर बजार
शुक्रबार डाउ ३४५ अंक अर्थात् १.१ प्रतिशतले घट्यो। एसएन्डपी ५०० १.५ प्रतिशत र नासदाक कम्पोजिट १.८ प्रतिशतले घट्यो।

वालस्ट्रिटको डर सूचक भीआईएक्स शुक्रबार दिउँसोसम्मा १५ प्रतिशत बढेको थियो। सीएनएन


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .