ad ad

कारोबार


सरकारले तोक्यो तारे होटलको मापदण्ड, २० देखि १ सय ५० वटासम्म सुत्ने काेठा अनिवार्य

सरकारले तोक्यो तारे होटलको मापदण्ड, २० देखि १ सय ५० वटासम्म सुत्ने काेठा अनिवार्य

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:३४,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा सञ्चालित तारे होटलहरुको नयाँ मापदण्ड निर्धारण गरेको छ। मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै होटलले दिने सेवा, सुविधा र भौतिक मापदण्ड निर्धारण गरेको हो।

नयाँ मापदण्डमा ल्यान्ड स्केपिङ, क्षेत्रफल, वातावरण, संरचना, पार्किङ क्षमता, लकर सुविधा, पानीको व्यवस्था, ढलनिकास, सरसफाइ, शौचालय, बार÷लाउन्ज, रिसेप्सन स्टाफ, टेलिफोन, वाइफाइ, सुरक्षा, आकस्मिक उद्धार योजना, डिटेक्ट र गाडी स्क्यानिङ, एसीलगायतका सुविधाबारे ताराअनुसारको व्यवस्था अनिवार्य गरिएको छ।

ल्यान्ड स्केपिङ पाँचवटै तारे होटल र पाँच तारे डिलक्समा अनिवार्य गरिएको छ। यसअन्तर्गत बलियो भूधरातलमा बनेको हुनुपर्ने, होटलमा खुल्ला र आकर्षक प्रवेशद्वार, मौसमी फूल फुल्ने बगैंचा, होटल परिसरभित्र डुल्न, घुम्न र आराम गर्न मिल्नेसहितको कम्पाउन्ड वाल हुनुपर्ने उल्लेख छ। त्यस्तै होटल परिसर धूलोरहित स्वच्छ र सुरक्षित हुनुपर्नेछ। क्षेत्रफलको हकमा भने एक, दुई र तीन तारे होटलको भवन तथा अन्य संरचनाले जग्गाको कुल क्षेत्रफलको बढीमा ४० प्रतिशत भूभाग ओगटेको हुनुपर्नेमा अपेक्षित मात्र र चार, पाँच र पाँचतारे डिलक्समा भने अनिवार्य गरिएको छ।

यस्तै होटलको नाम र स्तरमा प्रवेशद्वारमा स्पष्ट देखिने गरी नेपाली र अंग्रेजीमा नाम लेखिएको हुनुपर्ने र सँगै स्पष्ट देखिने गरी ताराको स्तर खुलाइएको हुनुपर्ने नयाँ मापदण्डमा उल्लेख छ। त्यस्तै पार्किङतर्फ एकतारेमा पाँचवटा, दुईतारेमा १० वटा, तीनतारेमा १५ वटा, चारतारेमा २० वटा, पाँचतारेमा २५ वटा र पाँचतारे डिलक्समा कम्तीमा ४० वटा चारपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्ने हुनुपर्नेछ। यस्तै, होटल सञ्चालन दैनिक चौबीसै घण्टा नियमित व्यवस्था भएको हुनुपर्नेमा सबै तारे होटललाई अनिवार्य गरिएको छ।

यसबाहेक तीन तारा वा सोभन्दा माथिको स्तरका होटलमा चौबीसै घण्टा रुम सर्भिस उपलब्ध हुनुपर्नेछ। त्यस्तै मौसमी रुपमा मात्र होटल सञ्चालन गर्नेको हकमा सोही बमोजिम अनुमति लिएको हुनुपर्नेछ। त्यस्तै छ प्रकारकै होटलमा गेष्टलाई होटलसम्म वा होटलदेखि बसपार्क र एयरपोर्टसम्म आउने जाने गरी सवारीसाधनको व्यवस्था मिलाइएको हुनुपर्नेछ। यद्यपि तीन, चार, पाँच र पाँचतारे डिलक्सको आफ्नै कम्तीमा दुईवटा सवारीसाधन हुनुपर्नेछ। गेष्टका बहुमूल्य वस्तु राख्न रिसेप्सननजिकै सेफ डिपोजिट लकरको व्यवस्था सबै होटललाई अनिवार्य गरिएको छ। यस्तो सुविधा पाँचतारे र पाँचतारे डिलक्सको हरेक कोठामा हुनुपर्नेछ। त्यस्तै होटलका सबै क्षेत्रमा बत्ती र पानीको व्यवस्था अनिवार्य रुपमा हुनुपर्नेछ।

यसबाहेक लबीको क्षमता तारा स्तरअनुसार निर्धारण गरिएको छ। यसअनुसार १ तारेमा १० जना, २ तारेमा १५ जना, ३ तारेमा २० जना, ४ तारेमा ४० जना, ५ तारेमा ६० र डिलक्समा ८० जना अट्ने हुनुपर्नेछ। होटलहरुले कम्पनी दर्ता, उद्योग दर्ता र सञ्चालन इजाजत तथा तारा अंकित प्रमाणपत्र अनिवार्य रुपमा रिसेप्सनमा राख्नुपर्नेछ। त्यस्तै, रिसेप्सन स्टाफ, गेष्ट लगेज, ट्राभल डेक्स, टेलिफोन, गेष्ट अभिवादन पनि सबै होटलमा अनिवार्य हुनुपर्नेछ।

नयाँ मापदण्डमा भुक्तानीको लागि नगद, क्रेडिट कार्ड वा अनलाइन भुक्तानीको व्यवस्था अनिवार्य गरिएको छ भने गेष्टहरुको लागि पत्रपत्रिका तथा पर्यटनसम्बन्धी जानकारी राखेको हुनुपर्ने उल्लेख छ। होटलहरुले राष्ट्र बैंकबाट खरिद र बिक्री दर स्वीकृत भएका विदेशी मुद्राहरुको विनिमय दरहरु फ्रन्ट डेस्कमै राखेको हुनुपर्नेछ।

मोबाइल, ल्यापटप, क्यामरा, यूएसबीलगायतका विद्युतीय उपकरण चार्ज हुने व्यवस्था सबै होटलको हकमा लागू गरिएको छ। यस्तै, तीनतारेदेखिका होटलले भुइँतलासहित ३ तला वा सोभन्दा बढी तला भएको होटलमा चौबीसै घण्टा सञ्चालन हुने गरी लिफ्ट जोडेको हुनुपर्ने, कम्तीमा १.५ मिटर चौडाइको र होटलको शय्या क्षमताअनुसार सोभन्दा बढी क्षमतामा लिफ्ट र सर्भिस लिफ्टको व्यवस्था गर्नुपर्नेछ। लिफ्टमा आपत्कालीन अवस्थाको लागि टेलिफोन राखेको हुनुपर्नेछ। त्यस्तै होटलमा आगलागी भएको अवस्थामा फायर सेफ्टीको व्यवस्था गरेको हुनुपर्ने, चौबीसै घण्टा सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने र आपत्कालीन अवस्थामा सहज रुपमा निस्किने मार्ग वा तरिका खुलाइएको हुनुपर्ने उल्लेख छ।

सबै होटललाई सीसीटीभी अनिवार्य गरिएको छ भने चारदेखि माथिका तारास्तरका होटलले लगेज जाँच अनिवार्य रुपमा गर्नुपर्नेछ। यसबाहेक डिटेक्ट र गाडी स्क्यानिङ चारदेखि माथिल्लो स्तरका होटलले अनिवार्य प्रयोग गर्नुपर्नेछ। काठमाडौं उपत्यकाभित्र एकतारेले २० वटा, २ तारेले ४० वटा, ३ तारेले ६० वटा, ४ तारेले ८० वटा, ५ तारेले १०० वटा र डिलक्सले १ सय ५० वटा सुत्ने कोठा अनिवार्य भएको हुनुपर्नेछ। उपत्यकाबाहिरको हकमा क्रमशः ताराअनुसार १५, ३०, ४५, ६०, ८० र १०० वटा हुनुपर्नेछ।

कोठाको ढोकामा अनिवार्य रुपमा सुरक्षित लकिङ सिस्टम भएको, विद्युतीय साँचोको व्यवस्था भएको वा म्यानुअल कीको हकमा भित्रैबाट साँचो खोल्ने र बन्द गर्न सकिने व्यवस्था भएको हुनुपर्नेछ। त्यस्तै एसी अनिवार्य रुपमा हुनुपर्नेछ। त्यस्तै, कुल कोठा संख्याको कम्तीमा १० प्रतिशत हुनुपर्नेछ। त्यस्तै कुल कोठाको ५ प्रतिशत स्विट रुम, १० प्रतिशत क्लब रुम, १० प्रतिशत इन्टरकनेक्टिंग रुम हुनुपर्नेछ। यो चारतारेदेखिका होटलमा अनिवार्य गरिएको छ।

यसबाहेक अन्य विभिन्न मापदण्डहरु तोकिएका छन्। मापदण्डमा वर्गीकरण भएका होटल, पर्यटक आवास, साधारण पर्यटकस्तरका होटल र अन्य होटलमा उपलब्ध सुविधा अद्यावधिक भए नभएकोबारे पर्यटन विभागबाट जाँच गराई पाँच वर्षमा नवीकरण गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै पर्यटकको स्तरको होटल, पर्यटक इन, पर्यटक लज, मोटेल, बेड एण्ड ब्रेकफास्टको पर्यटकस्तरका पूर्वाधार भएको जनाउको लागि नेपालभर एकरुपता हुने गरी पर्यटन विभागले तोकेको संकेत चिह्न प्रस्ट देखिने गरी राखिएको हुनुपर्नेछ।

यो मापदण्ड गत ९ गतेदेखि लागू भएको हो। मापदण्ड लागू हुनुअघि नै बनेका होटलले ६ महिनाभित्र यो मापदण्ड पूरा गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .