कारोबार


माथिल्लो त्रिशूली–१ आयोजनाको नदी फर्काउन तयार भयो डाइभर्सन सुरुङ

माथिल्लो त्रिशूली–१ आयोजनाको नदी फर्काउन तयार भयो डाइभर्सन सुरुङ

नेपालखबर
फागुन १७, २०७९ बुधबार १२:२३, काठमाडौँ

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि  ४२० मि. लम्बाइ र ५ मि. व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ। 

सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताए। 

उनले भने, ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ, यस अवसरमा निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्ववाद दिन चाहन्छौं, तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ।’ 

आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको समग्र  भौतिक प्रगति  १४ प्रतिशत रहेको छ। आयोजनाको मुख्य निर्माण गत २०७८ पौष बाट सुरु गरिएको थियो। आयोजना निर्माणमा हाल करिब ७ सय कामदार परिचालित छन्। त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय बासिन्दा छन्। 

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण  मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ। 

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन  विश्व बैंक समूहअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ। 

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ। उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ।  

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ। आयोजनाको निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad