गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयात ४.२४ प्रतिशत घटेको छ। भन्सार विभागले जारी गरेको तथ्यांकमा निर्यात बढेको र आयात घटेको देखिएको हो।
चालू आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार पहिलो ५ महिनामा ५ खर्ब ८ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात भएको छ। गत वर्षको यही अवधिमा ६ खर्ब ६ अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
५ महिनाको तथ्याङ्कमा गत वर्ष ३७ अर्ब ५० करोडको निर्यात भएकोमा चालू आर्थिक वर्षमा ४७ अर्ब ६१ करोड निर्यात भएको छ। यसरी हेर्दा गत वर्षको तुलनामा २६.९७ प्रतिशतले निर्यात बढेको देखिन्छ।
विदेशबाट आयात गरिने कच्चा पाम तेललाई यहाँ थोरैमात्र प्रशोधन गरेर निर्यात गर्न थालिएपछि त्यसले निर्यात उचालेको हो। यस वर्ष पाम आयल, सोयाबिन आयललगायतका उत्पादनको निर्यात व्यापक रूपमा बढेका कारण समग्र निर्यात पनि बढेको देखिएको हो।
पाम नेपालमा उत्पादन हुँदैन। मंसिर मसान्तसम्म करिब १० अर्ब रुपैयाँको कच्चा पाम तेल इन्डोनेसिया, मलेसिया, सिंगापुर, पपुवा न्यूगिनी र थाइल्यान्डबाट आयात गरेर यहाँ प्रशोधन गरी भारततर्फ निर्यात गरेको हो।
आयात घट्दै गएको र निर्यात बढ्दै गएपछि देशको व्यापार घाटामा ६ दशमलव ३० प्रतिशतले कमी आइ ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ ।

प्रतिक्रिया