ad ad

कारोबार


भ्रमण वर्षलाई ‘गेम चेन्जर’ परियोजनाको साथ

भ्रमण वर्षलाई ‘गेम चेन्जर’ परियोजनाको साथ

दीपक भट्ट
पुस १५, २०७६ मंगलबार १२:५९,

नेपाल भ्रमण वर्ष २०२० लाई ‘गेम चेन्जर’ परियोजनाको पनि सहयोग रहने देखिएको छ। अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन आज बुधबारदेखि नेपाल भ्रमण वर्षको सुरुवात हुँदै छ।

केही ठूलो परियोजना पनि यही वर्ष सम्पन्न हुन लागेकोले भ्रमण वर्षको सफलतामा यी परियोजना महत्वपूर्ण सहयोगी हुनसक्ने देखिएको छ। नेपाल भ्रमण वर्षसँगै यो वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना सम्पन्न हुँदैछन्।

नेपालको पूर्वाधार विकासको इतिहासमा संभवतः यो ‘गेम चेन्जर’ वर्ष हुनेछ। राष्ट्रिय गौरवका केही ठूला आयोजना सम्पन्न भएसँगै नेपालको अर्थतन्त्रले फड्को मार्नेछ भने त्यसले एक हदसम्म हाम्रो जीवन शैलीमा परिवर्तन ल्याउने छ। यससँगै यही वर्ष ५५ अर्ब रुपैयाँको अमेरिकी परियोजना एमसीसी, नागढुंगा सुरुङमार्ग सुरु हुँदैछन् भने केही ठूला आयोजनामा थप प्रगती हुँदै छ।

यी हुन् २०२० मा सकिने आयोजनाहरुः

गौतमबुद्ध विमानस्थल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ५ महिनामा सम्पन्न गरी सञ्चालनमा ल्याइँदै छ। उक्त विमानस्थलमा यही वर्ष सेवा सुरु हुँदा त्यसको प्रत्यक्ष लाभ पर्यटकले लिन पाउनेछन्। पर्यटकलाई गौतम बुद्ध जन्मस्थल लुम्बिनी जान सहज हुने भएकाले यो आयोजना भ्रमण वर्षका लागि निकै महत्वपूर्ण र सहयोगी हुनेछ।

भौतिक पूर्वाधार विज्ञ सूर्यराज आचार्य गौतम बुद्ध विमानस्थलले नेपालको छिमेकी देशबाट आउने पर्यटकलाई काठमाडौं नआईकनै सिधै लुम्बिनीमा अवतरण गराउने भएकाले पर्यटन विकासमा यसले ठूलै योगदान गर्ने बताउँछन्। विशेष गरी चार्टर्ड विमानमा आउने पर्यटकले यो विमानस्थल प्रयोग गर्न सक्ने उनको भनाइ छ। भारत, चीन, श्रीलङ्का, थाइल्यान्डका पर्यटकले यो विमानस्थलको प्रयोग गर्न सक्नेछन्।

तर यो विमानस्थल तत्काल सञ्चालनमा ल्याउन सक्ने नसक्ने भन्ने कुरा सरकारको कार्यक्षमतामा भर पर्ने उनी बताउँछन्। आचार्य भन्छन्, ‘सरकारले आगामी ६ महिनामा सञ्चालनमा ल्याउनको लागि अहिलेको तयारीले अपुग हुन्छ। यो विमानस्थल सञ्चालनमा आएको खण्डमा केही लाभ त हुन्छ तर यसको कन्सेप्टचाहिँ सुहाउँदो छैन।’

खासगरी बुद्धभूमिलाई लक्षित हुने खालको यो विमानस्थल नभएको उनको तर्क छ। बुद्धभूमि जाने भनेपछि केही शान्त बाटो हिँडाएर लानुपर्ने भए पनि त्यो स्थानसँग विमानस्थल राखेर यसको दीर्घकालीन लाभ भने लिन नसकिने उनी बताउँछन्।

माथिल्लो तामाकोशी
नेपालको जलविद्युत क्षेत्रको ‘गेम चेन्जर’ परियोजना माथिल्लो तामाकोशी पनि यही वर्ष सम्पन्न हुँदै छ। यसले नेपालको विद्युतीय लाइनमा राम्रो प्रभाव पार्नेछ। ४ सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको यो परियोजनाले विद्युतीय विकासको क्षेत्रमा धेरै योगदान गर्ने अपेक्षा गरिएको छ। भारतबाट विद्युत् किनिरहेको नेपाल तामाकोशी सञ्चालनमा आउनेबित्तिकै पूर्ण आत्मनिर्भर हुनेछ।

विद्युतको पर्याप्त उपलब्धताले नेपाली दैनिक जीवनशैलीमा राम्रै प्रभाव पार्नेछ भने भ्रमण वर्षमै यो आयोजना सम्पन्न हुँदा त्यसको लाभ पर्यटन क्षेत्रले पनि पाउनेछ। उक्त परियोजना यही आर्थिक वर्ष अर्थात् आगामी असारसम्ममा सम्पन्न गरी राष्ट्रिय प्रसारणलाइनमा मिसाइने विद्युत प्राधिकरणले जनाएको छ।

नेपालकै लगानीमा निर्माण भइरहेको यो आयोजनाको कार्यप्रगति लक्ष्यअनुसार नै अघि बढिरहेको र असारभन्दा अघि नै सम्पन्न गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा मिसाउने प्राधिकरणको तयारी छ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना
वर्षौँदेखि चर्चा पाएको मेलम्ची खानेपानी परियोजना पनि आगामी असारमै सम्पन्न हुनेछ। मेलम्ची आयोजनाका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीका अनुसार आयोजनाले असारमा जसरी पनि काम सम्पन्न गरी उपत्यकामा खानेपानी वितरण गर्ने गरी काम गरिरहेको छ। दुई दिनअघि मात्रै उनले संसदको विकास तथा प्रविधि समिति बैठकमा उपस्थित हुँदै उक्त जानकारी दिएका हुन्।

लोडसेडिङ अन्त्य हुँदा नेपालीको जीवन शैलीमा जुन खालको परिवर्तन आयो, मेलम्चीको पानीले काठमाडौंका नागरिकको जीवनमा अर्को त्यस्तै परिवर्तन ल्याउने ठानिएको छ। पिउने पानीको पर्याप्त उपलब्धताले सर्वसाधारणको जीवन शैलीमा परिवर्तनसँगै पर्यटन विकासमा पनि राम्रो प्रभाव पर्ने छ।

भौतिक पूर्वाधारहरु राम्रो भएको खण्डमा पर्यटकको अकर्षण तथा पर्यटकमार्फत जाने सन्देश राम्रो हुने आचार्य बताउँछन्। विशेष गरी राजधानीमा नै भौतिक पूर्वाधार सुविधा राम्रो हुनुपर्ने आचार्य बताउँछन्।

नेपाल भन्नेबित्तिकै विदेशी पर्यटकहरुले पहिला सोच्ने राजधानी हो र त्यसपछि अन्य स्थान पर्छन्। राजधानीमा आएपछि मात्रै अन्य स्थानहरु घुम्ने मनसाय हुने भएकोले पर्यटकको सेवा सुविधा राजधानीबाट हुनुपर्ने उनको तर्क छ।

भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य भने भ्रमण वर्ष भनेको अधिक पर्यटक भित्र्याउने आधार वर्ष भएको बताउँछन्। नेपालको पर्यटकीय स्थान तथा समग्र नेपालको बारेमा विदेशीलाई जानकारी गराउने वर्षको रुपमा यसलाई लिनुपर्ने उनको धारणाा छ। आगामी वर्षहरुमा यसको प्रभाव राम्रो देखिने उनी बताउँछन्।

‘सरकारले केही परियोजना सम्पन्न गर्दै छ, केही मध्य अवस्थामा छन् र केही सुरुवात गर्दै छ’, उनी भन्छन्, ‘यसले पक्कै पनि आगामी दिनमा प्रतिफल दिने छ।’

भ्रमण वर्षमा नै सम्पन्न नहुने भएपनि यसलगत्तै सम्पन्न हुने ‘गेम चेन्जर’ अर्थात् ठूलै प्रभाव पार्ने अन्य परियोजनामा पनि काम भइरहेको छ। सन् २०२१ सम्ममा काठमाडौं निजगढ द्रुतमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत सम्पन्न हुनेछन्। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण हुँदा त्यसले पनि पर्यटन क्षेत्रलाई परिर्वतन गर्न सहयोग गर्नेछ। यो परियोजना आगामी ३७ महिनामा सम्पन्न हुनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की भने सरकार अहिले जुनसकै परियोजनामा पनि लक्ष्यअनुसार नै काम गर्ने योजनासहित लागिपरेको बताउँछन्। पर्यटन क्षेत्रलाई मात्रै राम्रो गर्नको लागि नभएर समग्र देशको हितको लागि लक्ष्य र सम्पन्न गर्ने मितिलाई ध्यानमा राखेर हरेक परियोजनालाई सरकारले ध्यान केन्द्रित गरेको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .