ad ad

कारोबार


‘यात्री’को भविष्य : नेपाली ब्रान्ड बनेर विश्वसँग प्रतिस्पर्धा !

‘यात्री’को भविष्य : नेपाली ब्रान्ड बनेर विश्वसँग प्रतिस्पर्धा !

बसन्त अर्याल
पुस ११, २०७६ शुक्रबार ७:११,

‘नेपालमा सियो पनि बन्दैन’

सडकबजारका चियापसलमा सुनिइरहने ‘चिया गफ’ हो यो। देश विकसित भएन भन्ने सन्दर्भमा बनेको आमधारणा अब विस्तारै परिवर्तन हुने देखिएको छ। त्यो पनि सवारीसाधनको क्षेत्रमा।

हो, केही दिनअघि मात्रै सार्वजनिक गरिएको नेपालमै बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’ले अब ‘नेपालमा सियो पनि बन्दैन’ भन्ने धारणालाई गलत ठहर्‍याउनेछ।

हुन त प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईले नेपालमै बनेको गोल्छा अर्गनाइजेसनको ‘मुस्ताङ म्याक्स’ रोजेका थिए। उनले नेपालमै बनेको गाडी रोज्नुको उद्देश्य स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नु थियो। भलै त्यसले निरन्तरता पाएन।

तर ‘यात्री’का जन्मदाताहरु भने दीर्घकालीन सोच, योजना र तयारीसाथ आएकाले यसलाई ‘नेपाली ब्रान्ड’ बनाउने बताउँछन्। उनीहरुको लक्ष्य नै विश्वका चर्चित मोटरसाइकल ब्रान्डसँग प्रतिस्पर्धा गर्ने भन्ने छ।

yatri bike 2

आफ्नो देशको ब्रान्ड विदेशमा चर्चित हुँदा कुन देशका नागरिक खुसी हुँदैनन् र ! नेपालीले पनि त्यस्तै चाहेका छन्। नेपालको आफ्नो उत्पादन जुन गर्व गर्न लायक बनोस् !

यात्री मोटरसाइकलका संस्थापक हुन् असिम पाण्डे। नेतृत्व उनको भए पनि यसको पछाडि जोडिएको सिंगो टोली नै छ।

व्यवसाय, आईटी र इन्जिनियरिङ क्षेत्रको अनुभवले यात्री जन्मिएको हो। ‘बजारमा ओहो ! नेपालमा पनि यस्तो मोटरसाइकल बन्न सक्दो रहेछ भन्ने होस् न!’, पाण्डे भन्छन्, ‘सोही कारण यात्री ल्याएका हौँ।’

आफ्नो पहिलो प्रोजेक्ट सफल भएको पाण्डेको भनाइ छ।

‘यात्री’लाई नेपाली बजारमा टिक्न नभई विदेशीका टप ब्राण्डसँग प्रतिस्पर्धा गर्ने गरी उत्पादनलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताउँदै उनी भन्छन्, ‘अहिले नै हाम्रो बजार यस्तो हुन्छ भन्ने गफ मात्रै दिएर हुँदैन बजारमा आउने उत्पादनले नै हाम्रो भविष्य निर्धारण गने हो।’

यात्री मोटरसाइकलले पहिलो बिजनेस मोडलको रुपमा ५० वटा बाइक मात्रै उत्पादन गर्ने उनको भनाइ छ। ५० वटा उत्पादनले नै बाइकको लेभल, डिजाइन र यसबारे थप कुरा बजारले बुझ्ने पाण्डेले बताए।

त्यसपछि व्यवसायिक रुपमै बाइक उत्पादन गर्ने कम्पनीको योजना छ।

‘५० वटा बाइक उत्पादन गर्ने अनि कम्पनी बन्द गर्ने होइन। अहिले प्रिमियम बाइक उत्पादन भइरहेका छन्। त्यसलाई स्केल गरेर सबैले खरिद गर्न सक्ने गरी बढी उत्पादन गर्छौँ’, पाण्डेले आफ्नो योजना सुनाए।

yatri bike 4

आफूहरुको एक्सक्लुसिभ प्रिमियम बाइकका रुपमा ‘यात्री’ सार्वजनिक गरेको उनको भनाइ छ। यात्रीले गुणस्तरको पहिचान दिने उनी बताउँछन्।

त्यसो त धेरैले उनलाई मिडियम वा सस्तो खालको उत्पादन गर भनेर नसुझाएका होइनन्। पाण्डेले भने, ‘त्यसको ठ्याक्कै उल्टो हामीले पहिला प्रिमियम उत्पादन निकाल्यौं।’

बजारले यात्री मोटरसाइकल गुणस्तरीय छ भन्ने विश्वास दिलाउने भएकोले यसाे गरेको उनको दाबी छ।

‘तत्काल हामीले धेरैभन्दा धेरै बनाएर बेच्नुभन्दा पनि राम्रो गुणस्तर होस् विदेशमा प्रतिस्पर्धा गर्न सकौं’, निर्यातको योजना सुनाउँदै उनी भन्छन्, ‘विदेशमा निर्यात गर्ने अरु वस्तु छन् तर यस्तो डोमेनमा यो पहिलो नेपाली उत्पादन हो। हाईटेक प्रविधियुक्त बाइक भएकाले हामी सजिलै प्रतिस्पर्धा गर्न सक्छौं।’

विश्वास कसरी जित्ने ?
२०२० को मध्यबाट बजारमा बाइक ल्याउने योजना कम्पनीको छ। अहिले पनि पाण्डेको टोलीले सानो रिसर्च एण्ड डेभलेपमेन्ट अफिसमा यसकै लागि काम गरिरहेको छ। आगामी मार्चमा ‘ओपन हाउस प्रोग्राम’ गर्ने र किन्न इच्छुक व्यक्तिलाई बाइकको डिजाइनदेखि उत्पादन प्रक्रियासम्मको जानकारी दिने यात्री निर्माताको योजना छ।

उक्त कार्यक्रममा यात्रीको उद्योग, निर्माण सामग्री, उत्पादन प्रणाली, इन्जिनियरिङ लेभल, सुरक्षा प्रणाली सबैबारे जानकारी दिने पाण्डेको भनाइ छ। ‘त्यो प्लान्ट देखाएपछि दीर्घकालीन योजनासहित आएका हौं भनेर स्पष्ट पार्न पनि सक्छौं’, उनी भन्छन्।

उनले भनेझैँ औसत ग्राहकले किन्न सक्ने भए यात्रीले विश्वास जित्ने सम्भावना रहन्छ।

भविष्य भनेकै बजारको विश्वास
बेला–बेलामा नेपाली युवाले गर्ने यस प्रकृतिका प्रविधिजन्य उत्पादनमा खुसी हुने नेपालीले दीर्घकालीन योजना नबन्दा त्यसको व्यावसायिक सफलता देख्न पाएका छैनन्। तर यात्रीको हकमा भने त्यस्तो नहुने पाण्डे बताउँछन्।

yatri bike 1

अटोमेटिभ उत्पादनमा हार्डवेयरको उच्चतम प्रयोग हुन्छ। जुन एकदमै खर्चिलो हुन्छ। यसलाई यात्री निर्माताले कसरी व्यवस्थापन गर्छ?

‘हाम्रो ब्याकिङमा कालिका ग्रुप छ। त्यसमा पनि विक्रम पाण्डेको ठूलो सहयोग छ’, कम्पनीको भविष्यबारे पाण्डे भन्छन्, ‘आज हामीले सुरु गरेको पनि उहाँको साथले हो। जबसम्म हामीले बजारमा उत्पादन ल्याएर बिक्री गर्दैनौं, तबसम्म ग्रुपले हामीलाई सहयोग गर्छ।’

त्यसले पनि पाण्डेको टोलीलाई बजारमा यात्री टिकाउन आधार दिएको छ। बजारमा बिक्नसके यात्रीले आफ्नो भविष्य आफैँ जोगाउने उनी बताउँछन्।

लगानीको कुनै समस्या नहुनेमा उनको टोली ढुक्क छ। सोही कारण उनीहरु कम्पनीलाई ठूलो बनाउनेमा मख्ख छन्। पाण्डे भन्छन्, ‘बजारमा राम्रै रेस्पोन्स आएर धेरै उत्पादन गर्नुपर्दा पनि लगानीको लागि कुनै चिन्ता छैन।’

शंका गर्नेहरु पनि छन्
तर नेपालमै डिजाइन गरेर उत्पादन गरिएका सवारीसाधन चल्नसक्नेमा अटो व्यवसायी नै शंका गर्छन्। केही कम्पनीले नेपालमै एसेम्बलिङ गर्न थाले पनि नेपालको आफ्नै ब्राण्ड चल्नेमा व्यवसायीहरु नै विश्वास गर्दैनन्। यसलाई उनी भने ‘नेगेटिभ सोच’को रुपमा हेर्छन्। ‘हाम्रो ब्राण्ड बिक्री हुँदैन। प्रतिस्पर्धा गर्न सक्दैन भन्ने सोचले त नेपाल बन्न नसकेको हो’, पाण्डे भन्छन्।

नेपालमा नयाँ सोच चल्दैन, टिक्दैन भन्नु नै गलत भएको उनको बुझाइ छ। ‘विदेशका टप ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्नुपर्यो। त्यो लेभलको उत्पादन ल्याउन सकेन भने त टिक्दैन’, काम चलाउ उत्पादन नटिक्ने बताउँदै उनी थप्छन्, ‘तर विदेशका ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने सोचले काम गर्यौ भने सफल भइन्छ।’

बजारमा भएका भन्दा १० गुणा पावरफुल ‘यात्री’
बजारमा अधिकांश विद्युतीय मोटरसाइकलभन्दा पनि ग्लोरिफाइड स्कुटर रहेको उनी बताउँछन्। बाहिर हेर्दा मोटरसाइकल भए पनि भित्री पार्टस् स्कुटरको हुन्छ। अहिले २÷३ किलोवाटका विद्युतीय बाइक तथा स्कुटर बजारमा छन्। त्यो भनेको ३ हजार वाट हो ।

यात्रीबारे पाण्डे भन्छन्, ‘तर यात्री मोटरसाइकलको ३० किलोवाटको मोटर छ त्यो भनेको ३० हजार वाट हो । यसरी हेर्दा अरु भन्दा १० गुणा पावरफुल हुन्छ।’

रेन्ज वा चार्जिङ टिक्ने हिसाबले अहिले बजारमा भएका विद्युतीय बाइक तथा स्कुटरभन्दा यात्री धेरै राम्रो छ। अहिले यात्री बाइक एकपटक चार्ज गरेपछि २३० किमि कुद्न सक्ने उनको दाबी छ।

विद्युतीय बाइकको लागि महत्वपूर्ण कुरा चार्जिङ हो। बजारमा आएका धेरै विद्युतीय बाइकहरु चार्ज गर्न ६ देखि ८ घण्टा चार्ज गर्नुपर्छ। तर यात्रीमा पावरफुल चार्जबोर्ड रहेकाले दुई घण्टामै फुल चार्ज हुने पाण्डेको दाबी छ। ‘चार्ज घरको सामान्य प्लकमा गर्न सकिन्छ। चार्जिङ स्टेसन निर्माण गरेर डिसीबाट गर्यौ भने त २० मिनेटमै फुल चार्ज हुन्छ’, उनी भन्छन्।

yatri bike 3

अनुसन्धान
उनीहरुले यात्रीकै सन्दर्भमा एउटा अनुसन्धान गरे। जसमा ‘सामान्यतया मानिस हप्तामा २०० देखि २५० किमि यात्रा गर्ने गरेको निष्कर्ष निस्कियो। यसरी हेर्दा एकपटक चार्ज गर्दा ५–६ दिनलाई पुग्ने अनुसन्धानबाट देखियो।

कोही लामो दूरीको यात्रा गर्दा पनि २३० किमिसम्म त एकपटकको चार्जले नै टिक्ने भएकाले सोहीअनुसार ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाउने योजनामा भएको उनले सुनाए।

सामान्य पिन प्लगबाटै चार्ज गर्न सकिने भएकाले यात्रीलाई चार्जिङ स्टेसनको समस्या नहुने उनको भनाइ छ। यात्रीमा नेभिगेसन, रियल टाइम लोकेसन, पेट्रोलको पैसा बचत हुने, स्वच्छ वातावरणलाई सघाउने विशेषता रहेकाले यसको राम्रै भविष्य भएको पाण्डेले बताए।

ब्याट्रीमा ८ वर्षको वारेन्टी
विद्युतीय मोटरसाइकलको मुटु भनेकै ब्याट्री हो। यात्री मोटरसाइकलले लिथियम आयनको ब्याट्री प्रयोग गरेको छ। लिथियम आयनमा पनि फरक–फरक रसायन प्रयोग गरिएको हुन्छ। पावर ट्रेनमा कुनै कम्प्रमाइज नहोस् भनेर उच्चस्तरको रसायन प्रयोग गरेको उनको भनाइ छ।

यात्री टोलीले दक्षिण कोरियाली कम्पनीको प्राविधिक सहयोगमा ब्याट्रीमा काम गरिरहेको छ। यसको चार्ज साइकल २ हजार रहेको छ। यसको मतलब औसत ८ वर्ष ब्याट्रीको फुल क्यापासिटीमा काम गर्छ। ८ वर्षसम्म ब्याट्री चार्ज गर्दा फुल चार्ज हुन्थ्यो भने त्यसपछि विस्तारै क्यापासिटी कम हुँदै जाने उनको भनाइ छ।

मुस्ताङमा परीक्षण
उनीसहितको टिमले यात्री मोटरसाइकल मुस्ताङमा टेस्टिङका लागि लगेको थियो ।

‘कागबेनीसम्म पिकअपमा लगेका थियौं भने उता गुडाएर लग्यौँ। अरु मोटरसाइकलमा कार्बोरेटर हुन्छ। हाई अल्टिटुयुडमा प्रेट्रोल बाइकको परफरमेन्स राम्रो हुँदैन’, उनले भने, ‘विद्युतीय बाइक भएकाले हाई अल्टिटिउडमा परफरमेन्सको लेभल कस्तो छ हेर्यौँ, काठमाडौंमा र त्यहाँ केही फरक परेन।’

मेड इन नेपाल कि एसेम्बल्ड इन नेपाल?
कतिपयले भने यात्री नेपालमा बनेको भन्दा यहाँ एसेम्बल गरिएको रुपमा पनि लिन्छन्। तर उनी त्यसलाई नकार्छन्। कुनै पनि कम्पनीले नट बोल्ट, टायरदेखि आफैँ नबनाई केही महत्वपूर्ण कुरा मात्रै आफैँ बनाउने पाण्डे बताउँछन्। ‘धेरैभन्दा धेरै अटो उद्योग सप्लाई चेनमै चलेको हुन्छ। टायर, सस्पेन्स, ह्विल सेट, ब्रेक बनाउने छुट्टाछ्ट्टै विशेषज्ञ कम्पनी हुन्छ’, उनी भन्छन्।

यात्री पाण्डेको टोलीको ‘इन हाउस’ डिजाइन हो। ‘सबै हाम्रो आफ्नो कलमबाट डिजाइन भएको हो। लाइट, सफ्टवेयर सबै आफ्नै डिजाइन हो’, उनको स्पष्टीकरण छ, ‘यो फुल नेपाली डिजाइनमा नेपालमै बनेको विद्युतीय बाइक हो।’

त्यसकारण यात्री पनि विश्वका ठूला अटो उद्योग जसरी चलेका छन्, त्यसरी नै चल्ने पाण्डेको भनाइ छ। यसका लागि उनले विश्वका टप पार्टस् बनाउने कम्पनीसँग सम्झौता गरी आफ्नो डिजाइनअनुसारका पार्ट ल्याउने योजना बनाएका छन्।

अहिलेसम्म रिसर्चको काम सानो स्टुडियोबाट गरिरहेको पाण्डेको टोलीले उद्योगको ले–आउट, मेसिन शपको स्थापनाको काम विगत दुई महिनादेखि गरिरहेको छ। मार्चमा पाण्डेको टोलीले ओपन हाउससहितको उद्योग नवलपरासीमा खोल्नेछ।

सन् २०२० को मध्यमा ५० बाइक बजारमा ल्याउने र २०२१ बाट व्यावसायिक उत्पादन गर्ने पाण्डेको योजना छ। ‘२०२१ बाट हामीले इकोनोमी स्केल गर्नेबित्तिकै मोटरसाइकलको मूल्य कम भएर आउँछ। उत्पादन बढ्दै जान्छ। त्यसपछि बाइकको मूल्य घट्दै जान्छ’, उनले भने।

मूल्य
बाइकको मूल्य अहिले नै उनीहरुले सार्वजनिक गरेका छैनन्। मार्चमा औपचारिक रुपमा यसको मूल्य सार्वजनिक गरिने उनी बताउँछन्।

‘मार्चमा टेस्ट राइड, फ्याक्ट्री टुर, उत्पादन प्रक्रिया देखाएपछि मात्रै मूल्य सार्वजनिक गछौं’, उनले भने, ‘अहिले देखाएको त प्रि–प्रडक्सन मोडल हो। मार्चमा यसलाई पुनः मोडिफाई गरी व्यावसायिक बनाउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .