ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दिनमा नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गरिने बताएका छन्। राजधानीको ललितपुरको हिमालय होटलमा बुधबार आयोजित विद्युतीय सवारीसाधन प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन्।
सम्मेलनका प्रमुख अतिथिका रुपमा कार्यक्रममा बोल्दै मन्त्री पुनले काठमाडौं उपत्यकामा यसअघि नै ट्रली बस र सफा टेम्पोको यातायात प्रयोग सफल भएकोले यसलाई आगामी दिनमा अझै प्रवर्द्धन गरिने बताए। उनले भने, ‘नेपालमा पेट्रोलियम वस्तु आयातको अवस्था सन् २००७÷२००८ मा ३६ करोड ४० लाख अमेरिकी डलरकाे रहेकोमा सन् २०१७÷०१८ मा झण्डै १ अर्ब ५२ करोड डलरको आयात भएको छ। जुन १० वर्षयता पेट्रोलियम वस्तुको आयात चार गुणाले बढेको देखिएको छ।’ यसको अधिकांश हिस्सा यातायात क्षेत्रले ओगटेको मन्त्री पुनले बताए। विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दा यातायात क्षेत्रमा आयात हुने इन्धनलाई समेत प्रतिस्थापन गर्न सकिने मन्त्री पुनको भनाइ थियो।

विद्युतीय सवारीसाधन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको पनि उनले बताए। सम्मेलनमा मन्त्री पुनले भने, ‘नेपालसँग १ गिगावाटभन्दा धेरै जलविद्युत् क्षमता रहेको छ। एक वर्षमै हामी थप १ गिगावाट विद्युत् थप गर्छौँ। २.५ जीडब्ल्यु क्षमताको जलविद्युत निर्माणको चरणमा रहेको र आगामी चार वर्षमै यो पनि पूरा हुनेछ।’ छोटो समयमै जलविद्युत क्षमता बढिरहेकोले परम्परागत इन्धन प्रयोगलाई विशेष गरी यातायात क्षेत्रमा विद्युतीय इन्धनले प्रतिस्थापन गर्ने उनले बताए।
यसप्रकारको सम्मेलनले विद्युतीय सवारीसाधन प्रयोगको प्रवर्द्धन हुने मन्त्री पुनले बताए। सम्मेलनमा भारतीय नीति आयोगका प्रिन्सिपल एडभाइजर अनिल श्रीवास्तवलगायत उपस्थित थिए।
सम्मेलनलाई लक्ष्मी हुन्डाई, भायनेट, एनएमबी बैंकले प्रायोजन गरेका हुन्।

प्रतिक्रिया