नेपालले दक्षिण कोरियाबाट ४२ वटा गाई अनुदानमा ल्याएको छ।
एसियाना एयरलाइन्सको जहाजबाट ती गाई बिहीबार काठमाडौ ल्याइएको हो। नेपालको दुग्ध उद्योगलाई सघाउने उद्देश्यले उन्नत खालका गाई भित्र्याइएको हो।
थप ५९ वटा गाई अर्को चरणमा ल्याइने दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ। नेपाल सरकार, दक्षिण कोरियाली सरकार र हेइफर इन्टरनेशनल नामक गैह्रसरकारी संस्थाको संयुक्त प्रयासमा ती गाई ल्याइएको हो। तीमध्ये ५० गाई सिन्धुलीको कमलामाई नगरपालिकालाई प्रदान गरिने भएको छ।
हेइफर इन्टरनेशनलले वर्षौंदेखि दक्षिण कोरियाली नागरिकहरुलाई अनुदानमा गाई दिँदै आएको छ। कोरियाली युद्द (सन् १९५०—१९५३) का बेला दक्षिण कोरियामा दुध डेरी ध्वस्त हुँदा किसान मर्कामा परेका थिए। त्यही बेलादेखि कोरियाली कृषकलाई उक्त संस्थाले अनुदानमा गाई दिन थाल्यो। जसमध्येका एक थिए लि जाई बुक। उनको हाल कोरियाको दक्षिण पश्चिम शहर आन्दोङ्मा गाई फार्म छ। अहिले उनको फार्ममा ८० गाई छन्।
नेपाललाई गाई दिनेमध्येका एक कोरियाली नागरिकमा बुक पनि हुन्।
‘कोरियाली युद्धले हाम्रा सबै डेरी उद्योग ध्वस्त बनाए। त्यसबेला हामीसँग बाँकी केही भएन। हामीलाई दुध पिउने भन्ने कुरा टाढाको कुरा हुन्थ्यो’ ८४ वर्षीय कोरियाली बुकले योनहापसँग भनेका छन्। उनले युद्धताका दुई वटा गाई अनुदानमा पाएका थिए।
उक्त अमेरिकी संस्थाको सहयोगमा सन् १९७६ मा कोरियाले एक हजार गाई पायो। अमेरिकी राष्ट्रपति ड्वीट आइजनआवरले एउटा गाई कोरियालाई हस्तान्तरण गरेका थिए।
दक्षिण कोरियाले नेपालमा गाई पालनबारे प्राविधिक सहयोग र ज्ञान पनि दिने योजना बनाएको छ। बिहीबार दक्षिण कोरियाका पशु् चिकित्सक र डेरी प्राविधिक पनि नेपाल आएका छन्।
Shares

प्रतिक्रिया