ad ad

कारोबार


सरकारी लक्ष्यभन्दा धेरै पर्यटक भित्रिए, ‘रिभाइभ’ छिटो हुँदा व्यवसायी उत्साहित

वैदेशिक मुद्रा सञ्चितिमाथिको चाप विस्तारै कम हुँदै
सरकारी लक्ष्यभन्दा धेरै पर्यटक भित्रिए, ‘रिभाइभ’ छिटो हुँदा व्यवसायी उत्साहित

नेपाल घुम्दै पर्यटक । तस्बिर : नेपाल पर्यटन बोर्ड/फेसबुक


वसन्त अर्याल
मंसिर १९, २०७९ सोमबार ६:५४, काठमाडौँ

यो वर्ष (सन् २०२२ मा) सरकारको लक्ष्यभन्दा १ लाख बढी पर्यटक भित्रिने भएका छन्। 

पर्यटन बोर्डले सुरुमा ५ लाख भित्रिने लक्ष्य राखेकोमा पर्यटक ६ लाख बढी पुग्ने देखिएको हो।  

कोभिड महामारीको कारण ठप्प रहेका पर्यटक २०२२ को सुरुदेखि नै भित्रिन थालेका थिए। पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार ११ महिनामा ५० प्रतिशत बढीले रिकभरी भएको छ। २०२२ को हालसम्म ५ लाख ४६ हजार पर्यटक नेपाल भित्रिएका छन्।

‘२०२२ मा कम्तीमा ५ लाख पर्यटक ल्याउने टार्गेट गरेका थियौँ’, पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालखबरसँग भने, ‘डिसेम्बरसम्म सवा ६ लाख पुग्ने देखिएको छ।’

विश्व पर्यटन संगठनले २०२२ मा विश्यव्यापी रुपमा ६० देखि ६५ प्रतिशत रिकभरी हुने आकलन गरेको थियो। बोर्डका निर्देशक लामिछानेले नेपाल पनि त्यसै हाराहारीमा पुग्ने बताए।

‘अहिले आएका पर्यटकमा भारतको बजार हिस्सा नै धेरै छ’, लामिछानेले थपे, ‘२०२२ मा भारत, बंगलादेश र अमेरिकाबाट पर्यटक बढेका छन्।’

युरोपमा सुधार हुँदै गए पनि अझै बढ्नसकेको छैन। नेपालमा चिनियाँ पर्यटकको हिस्सा १३ देखि १४ प्रतिशतको बीचमा रहेकोमा पछिल्लो ३ वर्ष एकदमै न्यून छ। 

नोभेम्बरमा ५५ प्रतिशतले रिकभरी भए पनि लक्ष्यअनुसार कम आएको लामिछाने बताउँछन्। सामान्यतया अक्टोबरभन्दा नोभेम्बरमा १० देखि १५ प्रतिशतसम्म पर्यटक बढ्छन्। तर अहिले घटेको उनको भनाइ छ। 

‘कतारमा विश्वकप हुने भएसँगै कतार एयरवेजले नेपालतर्फको उडान कटौती गर्दै युरोपमा थप गर्यो’, उनले भने, ‘बेलायतमा आर्थिक मन्दी र उडान कम हुँदा ५० प्रतिशतले हवाइ भाडा बढ्दा पर्यटक आउन खोजेनन्।’

कतार एयरवेजले ४ वटा उडान गर्दै आएकोमा अहिले २ वटामा झारेको छ। २०१९ नोभेम्बरको तुलनामा ५५.७६ प्रतिशत मात्रै रिकभरी भएको छ। कोभिडअगाडिको २०१९ नोभेम्बरमा १ लाख ३० हजार पर्यटक भित्रिएकोमा अहिले ७२ हजार भित्रिएका हुन्। सन् २०२० मा १ हजार ९५६ मात्रै भित्रिएका थिए भने २०२१ मा २६ हजार १३५ पर्यटक भित्रिएका थिए।

कोभिड अगाडिका २ वर्ष २०१८ मा ११ लाख ७३ हजार र २०१९ मा ११ लाख ९७ लाख पर्यटक भित्रिएका थिए। कोभिड सुरु भएको वर्ष अर्थात् २०२० मा २ लाख ३० हजार पर्यटक भित्रिएका थिए। चैतबाट लकडाउन सुरु भएसँगै घट्न थालेका पर्यटक २०२१ मा १ लाख ५० हजारमा सीमित भए। सन् २०२२ बाट पर्यटन क्षेत्रले पुनः आगमन गर्दै ६ लाख पुग्दै छन्। 

पर्यटकलाई पोखरामा स्वागत गरिँदै (फाइल तस्बिर)

यो वर्ष कुन महिना कति आए? 
जनवरीमा १६ हजार ९७५ पर्यटक भित्रिएका थिए। फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८ पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको छ। 

त्यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएको विभागले उल्लेख गरेको छ। नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका छन्। 

नोभेम्बरमा सार्कबाट २४ हजार ५९९ पर्यटक आउँदा युरोपबाट १७ हजार २२९ पर्यटक भित्रिएका हुन्। 

पर्यटन बोर्डका अनुसार हवाइमार्गबाट ओसियना देशबाट ३ हजार ६७७, अमेरिकाबाट ९ हजार १५ जना नेपाल भित्रिएका छन्। नोभेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक नै छन्। भारतीय २० हजार ५३२ आउँदा अर्को छिमेकीबाट भने १ हजार ३८ मात्रै भित्रिएका छन्। 

बंगलादेशबाट २ हजार २१८ पर्यटक, बेलायतबाट ५ हजार १६५ र अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन्। 

पोखरामा पर्यटक (फाइल तस्बिर)

‘अर्को वर्षसम्म रिकभरी हुन्छ’
होटल एसोसिएसन अफ नेपाल (हान)ले पनि पुरानो अवस्थामा फर्किन अझै ४–५ वर्ष लाग्ने आकलन गरेकोमा २०२३ सम्म रिकभरी हुने उल्लेख गरेको छ। 

हानका महासचिव साजन शाक्यले अघिल्ला २ वर्षको तुलनामा राम्रो ‘कमब्याक’ भएको बताए। 

‘२०२० र २०२१ मा एकदमै कम रहेको थियो। अहिले त राम्रै बढेका छन्’, उनले भने। 

यता ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पनि सोचेभन्दा राम्रो पर्यटक आगमन भएको जनाएको छ। टानका अध्यक्ष निलहरी बास्तोलाले व्यवसायीको आकलनभन्दा छिटो रिकभरी भएको बताए। 

‘२०२४ सम्म पर्यटन क्षेत्र २०१९ को अवस्थामा फर्किने अनुमान गरेका थियौँ’, बास्तोलाले भने, ‘अहिलेकै रेसियोमा हेर्दा २०२४ सम्म कुर्नुपर्ने अवस्था देखिँदैन। २०२३ मै २०१९मा जति पर्यटक भित्र्याउन सक्छौँ।’

ले हिमालय होटलको शयन कक्ष

‘होटल अकुपेन्सी बढेन’
यता पर्यटक आगमन वृद्धि भए पनि तदनुसार होटल अकुपेन्सी नबढेको व्यवसायीले बताएका छन्। 

हान महासचिव शाक्य पर्यटकको आवागमन बढे पनि होटल अकुपेन्सी बढ्न नसकेको बताउँछन्। 

उनका अनुसार २०१९ मा विदेशी पर्यटक लक्षित कम होटल थिए। सन् २०२० मा भ्रमण वर्ष मनाउने घोषणासँगै निर्माण थालिएका होटल बनिसकेका छन् तर पर्यटन २०१९ को अवस्थामा फर्कनसकेको छैन। 

‘पाँच तारे होटल मात्रै १७ पुगिसके। ४, ३ तारेसँगै टुरिष्ट स्ट्यान्डर्ड होटलको वार्षिक क्षमता ५० लाख पुग्न थालिसक्यो’, महासचिव शाक्यले भने, ‘६–७ लाख पर्यटकले होटल क्षेत्रमा २५–३० प्रतिशतसम्म अकुपेन्सी भएको छ। होटल बढ्दा अकुपेन्सी दर बढ्न सकेन।’

पर्यटक बढेसँगै नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ। पर्यटक आवागमन बढ्दै जाँदा वैदेशिक मुद्रा सञ्चितिमाथिको चाप विस्तारै कम हुँदै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .