कारोबार


करोड खर्चेर बनाइएको नमुना माझी बस्तीका घर प्रयोगविहीन

करोड खर्चेर बनाइएको नमुना माझी बस्तीका घर प्रयोगविहीन

थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुर निर्मित नमुना माझीगाउँ।


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १०:२७, चौतारा

विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमुना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन्। 

भूकम्पलगत्तै रोटरी इन्टरनेसनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो। फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए। बाक्लो नमुना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन्। माझीले बस्तीको पछाडि छकोठे आरसीसी घर ठड्याएका छन्। तेह्र सदस्यीय परिवार नमुना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए। 

तत्काललाई नमुना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताइन्। उनका अनुसार केही माझी परिवारले नमुना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन्। बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन्।

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमुना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ। निर्माणमा प्रयोग गरिएका सामग्रीका आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमुना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए। उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन्। वैकल्पिक घर बनाउँदा माझी परिवारलाई रु दुईदेखि १० लाखसम्म ऋण लागेको उनले बताए। 

दीर्घकालीन सोच नराखी बनाइएको नमुना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .