कारोबार


मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर, देशकै ठूलो बैंक बन्दै ग्लोबल आईएमई बीओके

मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर, देशकै ठूलो बैंक बन्दै ग्लोबल आईएमई बीओके

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ६:३४, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच एकापसमा गाभ्न तथा गाभिनका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ। साेमबार समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे। 

यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने र गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल र अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर हुने व्यवस्था दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जरपश्चात् बैंकको कूल पूँजी रु ५७ अर्ब, चुक्ता पूँजी रु ३५ अर्ब ७७ करोड कूल निक्षेप रु चार सय अर्ब, कूल कर्जा रु तीन सय ७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुनेछ। सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच र बैंक अफ काठमाण्डूका तर्फबाट दुईजना रहनेछन्। 

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्। कूल २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बिओके लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेको हुनेछ। 

साथै, दुवै बैंकले असोज मसान्तसम्म रु एक अर्ब ४७ करोड रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन्। दुई बैंकहरूको मर्जरपश्चात् कूल तीन सय ८५ शाखा कार्यालय, तीन ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आईएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने दाबी गरिएको छ। 

दुवै बैंकहरू एकापसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनाका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकका रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ। 

हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्षद्वयले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्‍याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए। 

ग्लोबल आईएमई बैंक सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशन परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै उनले तदनुरूप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी दिए। उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।्

मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको उल्लेख गरे।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहने बताए। ‘मुलुकको आर्थिक रूपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आईएमई बिओकेले गर्नेछ’, उनले भने। उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे। 

साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरूले गाभ्ने र गाभिने प्रक्रियामा  प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालक, शेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्रलगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका थिए। संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad