कारोबार


यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

नेपालखबर
असोज ३०, २०७९ आइतबार २२:१८, काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ। यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ। 

जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए। यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन। तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। 

दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए। उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए। 

‘जजिराले आफ्ना नयाँ जहाज लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ’, दाहालले भने, ‘तीन दिनसम्म उडान नहुँदा यात्रु रोकिएका थिए। शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ।’

विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए। 

‘पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ’ नागरथले भने, ‘अहिले यात्रु सङ्ख्या साह्रै घटेकाले उडान घटाएका हौँ। अब पहिले झैँ सातामा तीन उडान गर्नेछौँ।’

नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे। 

‘मागअनुसार नै आपूर्ति गर्ने हो। खाली विमान कहिलेसम्म उडाउने?’ उनले भने, ‘हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ।’

जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ। तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन।

गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालका अनुसार यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौँ मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad