नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट डिजेल र हवाइ इन्धनमा अत्यधिक मूल्य बढेर आएको बताएको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी नगमले डिजलमा प्रतिलिटर रु १५.६० र हवाइ इन्धनमा १०.२५ रुपैयाँ बढेर आएको जनाएको छ। यस्तै, पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ बढेको छ।
आज १६ अक्टोवर, २०२२ (असोज ३०, २०७९) मा इण्डियन आयल कर्पोरेशनले सो मूल्य सूची पठाएको हो।
निगमका अनुसार डिजेलमा रु ६.३४ प्रति लिटर घाटा (१८.५१ करोड घाटा) र एलपीग्यासमा रु ३२५.४४ प्रति सिलिण्डर घाटा (३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु. ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा सञ्चालन भएको हुँदा हालसम्ममा निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेड, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु. ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ।
निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु. ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकसँग रु ३ अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आइरहेको छ।
प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यसूची बमोजिम पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तराल पछि निगम नाफामा आएको निगमको भनाई छ।
हाल अन्तर्राष्ट्रिय वजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको जनाएको छ।
साथै, हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ।
Shares

प्रतिक्रिया